BIZMANDU
www.bizmandu.com

एकै ठाउँमा एकै पटक कतार, नेपाल वायुसेवा निगम र बुद्धको जहाज, धन्न दुर्घटना टर्‍यो

२०७९ फागुन १६

एकै ठाउँमा एकै पटक कतार, नेपाल वायुसेवा निगम र बुद्धको जहाज, धन्न दुर्घटना टर्‍यो
एकै ठाउँमा एकै पटक कतार, नेपाल वायुसेवा निगम र बुद्धको जहाज, धन्न दुर्घटना टर्‍यो


काठमाडौं। सोमबार विहान करिब ८:३० बजे काठमाडौं अवतरणका लागि नेपाल वायुसेवा निगमको जहाज भट्टेडाँडामा रहेको गुराँस ‘होल्डिङ प्वाइन्ट’ मा  थियो।

Tata
GBIME
Nepal Life

निगमको ठ्याक्कै माथि कतार एयरवेज र तल बुद्ध एयरको जहाज थियो। गुराँसमा होल्ड गर्ने क्रममा ११,५०० फिटमा बुद्ध एयर, १२,५०० फिटमा नेपाल वायुसेवा निगम र १३,५०० फिटमा कतार एयरवेजको जहाज थियो।

होल्डमा रहेका तीनैवटा जहाजको फरक १००० फीट मात्रै थियो। त्यही दूरीमा रहेका बेला एक्कासी कतार एयरवेजको जहाज १२८०० फिटमा आयो। एयर ट्राफिक कन्ट्रोलर(एटीसी)को अनुमति नै नलिइ अचानक कतारको जहाज तल आएपछि निगमलाई अलर्ट आयो।

त्यसपछि निगमका पाइलटले जहाजलाई ५०० फिट तल झारे। निगमले जहाज ५ सय फिट तल नझारेको भए ठूलो दुर्घटना हुन्थ्यो। कतार एयरवेजका पाइलटको लापरवाहीले तीन वटा जहाज दुर्घटनामा पर्ने अवस्था आएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एक कर्मचारीका अनुसार कतारका पाइलटले एटीसीसँग कुनै अनुमति नलिई जहाज तल झारेर ठूलो लापरवाही गरेकोले अनुसन्धान सुरु भएको छ।

‘कतार एयरवेजले एटीसीको अनुमति नै नलिइ ह्वात्तै तल आएको पाइएको छ। यसरी उचाई दुरी नै लागू नगर्दा झण्डै तीनैवटा यात्रुवाहक जहाज ठूलो दुर्घटनामा परेको थियो,’ विमानस्थल स्रोतले भन्यो,’पछि आरए ‘रेडियो अल्टिमिटर अलर्ट’ आएपछि जहाजलाई पुनः क्लाइम्ब गरेर १३५०० फिट माथि गएको थियो।’

पूर्व क्याप्टेन कृष्णविक्रम क्षेत्रीले जहाज अवतरण गर्ने क्रममा होल्डमा बस्दा न्यूनतम ११ हजार ५ सय फिटमा राखिने बताउँदै प्रत्येक जहाज हजार फीटको दूरीमा हुनुपर्ने प्रावधान रहेको जानकारी दिए। ‘जहाज अवतरण गर्न एटीसीले बोलाउँदा सबैभन्दा कम उचाईमा रहेकोलाई प्राथमिकतामा राख्ने गर्छन्,’ उनले बिजमाण्डूसँग भने, ‘तर कतारको जहाज एक्कासी तल आएको बारेमा अनुसन्धान गर्नुपर्छ। त्यसरी आफुखुशी जहाज तल ल्याउनै पाइँदैन।’

अवतरणका क्रममा यस्तै अलर्ट आउँदा अरु मुलुकमा जहाजै ग्राउण्डेड गराउनुपर्छ।  तर कतारमाथि कारवाही अघि बढेको छैन। अहिले छानविन मात्रै अघि बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले कतारको लापरवाहीका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए। 

‘सोमबार भएको यो घटना अनुसन्धानका लागि विमानस्थलकै प्राविधिक कर्मचारीको छानविन टोली गठन गरिएको छ,’ उनले भने।