BIZMANDU
www.bizmandu.com

मूल्यवृद्धि मारः लगनगाँठो कस्न बढ्यो खर्च, एउटा बिहेमा सरदर ३० लाख खर्च

२०७९ फागुन १६

मूल्यवृद्धि मारः लगनगाँठो कस्न बढ्यो खर्च, एउटा बिहेमा सरदर ३० लाख खर्च
मूल्यवृद्धि मारः लगनगाँठो कस्न बढ्यो खर्च, एउटा बिहेमा सरदर ३० लाख खर्च


काठमाडौं। नेपाली परम्परागत विवाहको औसत खर्च निकै बढेको छ। लुगा-गहना, सजावट, होटल-पार्टी प्यालेस र बाजा सबैको खर्च बढेको हो।

Tata
GBIME
Nepal Life

बेहुला-बेहुलीका जोडाका लुगा-कपडा, गरगहनादेखि सजावट, बाजागाजा र भोजको खानेकुरामा लाग्दै आएको औसत खर्च ह्‍वात्तै बढ्दा सहरी क्षेत्रमा नेपाली विवाह झन् झन् खर्चिलो भएको छ। सकेजति खर्च गर्ने सहरी हावा गाउँलाई पनि लागिसकेको छ। वैवाहिक समारोह होटल तथा पार्टी प्यालेसमा गर्ने चलन विकसित भएसँगै खर्चको आकार बढेको हो।

वैवाहिक समारोहका लागि इभेन्ट अर्गनाइजरको काम गरिरहेका फर्महरुका अनुसार सहरी क्षेत्रमा नेपाली परम्पराअनुसारको विवाहमा हिजोआज औसतमा २० लाखदेखि ३० लाख रूपैयाँ खर्च लाग्छ। विवाहमा हुँदै आएका खर्चको आकार बर्सेनि बढेको छ। यो वर्ष एउटा सामान्य प्रकारको भोजसहितको वैवाहिक समारोह पनि २० लाखभन्दा कम खर्चमा सम्पन्न हुँदैन।

विदेशमा विवाह गर्ने जोडीहरूले यो वर्ष सन् २०२३ औसतमा ३८ लाख (२९ हजार डलर) खर्च गर्ने प्रक्षेपण छ। गत वर्ष सन् २०२२ मा जोडीहरूले २८ हजार डलर खर्चेका थिए भने कोरोना महामारी अगाडि यो लागत २४ हजार ७०० डलर नजिक थियो।

कोरोना महामारीका कारण असन्तुलित भएको आपूर्ति शृंखलाले विश्व अर्थव्यवस्था नै संकटमा पारेको थियो। यस संकटलाई पार नलगाउँदै रूस-युक्रेनबीच सुरु भएको युद्धले विश्व अर्थतन्त्र अझ जोखिमपूर्ण बनाएको छ। जसको बाछिटा नेपालको अर्थतन्त्रमा पनि गम्भीर रूपमा परेको छ।

फलस्वरूप, नेपालमा वार्षिक मुद्रास्फीति दर ७.२६ प्रतिशत छ। गत वर्षको मुद्रास्फीति ५.६५ प्रतिशत थियो। निरन्तरको महँगीले नेपालीका लागि उपभोग्य वस्तुदेखि सबै क्षेत्रमा खर्चको आकार बढाएको छ।

मुद्रास्फीतिका कारण नेपालीले गत वर्षको तुलनामा यो वर्ष खाद्यान्नसँगै विविध प्रकारका उपभोग्य वस्तु तथा सेवामा उच्च मूल्य भुक्तान गरिरहेका छन्। यसैको असर विवाहको खर्चमा पनि देखिएको वेडिङ प्लानिङ कम्पनी क्लोभर इभेन्टको निर्देशक श्वेता प्रधान जोशीले बताइन्।

दुई वर्षयता हरेक वस्तु तथा सेवाको शुल्कमा ठूलो उछाल आएको छ। त्यसमा पनि कोरोना महामारी अघिको समयको तुलनामा अहिले सुनको भाउमा जमिन-आकाशको फरक छ। कोरोना सुरू हुनुभन्दा अगाडि लगभग ६५ हजारदेखि ७३ हजार रूपैयाँसम्म तोलामा कारोबार भएको सुनको मूल्य अहिले लाख नाघेको छ। 

बेहुला-बेहुलीले लगाउने विवाहको जोडामा पनि २० देखि २५ प्रतिशतसम्मको महँगिएको छ। हाल मध्यमस्तरको बेहुला बेहुलीको जोडाको खर्च नै  ५० हजार रूपैयाँसम्म पर्ने गरेको छ। अझै रिसेप्सनको लागि लगाउने लेहेंगा, सुट इत्यादिको मूल्य त २० हजार रूपैयाँ तल कल्पना पनि गर्न सकिन्न। बिक्रेताहरूले सामना गरिरहेको बढ्दो, मुद्रास्फीतिको लागतका कारण ठूलो अंशमा उछाल आएको व्यापारीहरूले बताएका छन्।

डिजाइनर वेयर बनाउँदै आएको मुकु बुटिककी संस्थापक डिजाइन मुक्ता श्रेष्ठ भन्छिन, ‘अहिले फ्याब्रिकदेखि लेबर कस्ट सबै नै बढेको छ। जसको असर ब्राइडलवेयरमा पनि परेको पक्कै छ। मुकुमा भने हामीले रेटमा धेरै फेरबदल गरेको छैनौँ।’

मुकुमा ब्राइडल लेहेंगाको सुरूवाती मूल्य ३५,००० छ भने बेहुलाको लुगा २५,००० रूपैयाँबाट सुरू हुन्छ।

कोरोना अघि विवाहहरू होस्ट गर्ने ब्याङ्केटमा ‌‍‍‍‍‍औसत प्रति प्लेटको दर एक हजार सय रूपैयाँ थियो। अहिले बढेर १ हजार ४ सय रुपैयाँ पुगेको छ। ब्याङ्केट, पार्टी प्यालेस तथा होटलहरूले खाद्यान्नको मूल्य बढेसँगै खानेकुराको मूल्य बढाएका हुन्।

नयाँ बजार स्थित सासा ब्याङ्केटमा हाल प्रति प्लेट ‌औसतमा १ हजार ५ सय रूपैयाँ पर्छ। कोरोना महामारी अघि यो रकम १२०० हारहारी भएको सासा ब्याङ्केटको व्यवस्थापन हेर्दै आएका राजेस केसीले बताए।

उनले भने, ‘मिट आइटमदेखि तरकारी, स्टाफ चार्ज सबैको मूल्य बढेको छ। हामीले प्रयोग गर्ने हरेक सामान तथा सेवाको मूल्य बढेको छ। मार्केटमा बढेको मूल्य वृद्धिका कारण हामिले प्रति प्लेटमा ३००देखि ४००सम्म बढाउन परेको हो।’

थापागाँउ ब्याङ्केटमा पनि हाल यहि चलिरहेको छ। थापागाँउ ब्याङ्केटका सञ्चालक भक्तराज श्रेष्ठले पनि प्रति प्लेटको भाउँ बढ्नमा बजार बढेको महँगीलाई नै औलाएका छ।

नेपाली विवाहमा आवश्यक हुने बाजागाजादेखि पछिल्लो समय चलनचल्तीमा आएको ब्राइडल मेकअप, फोटो-भिडियोको प्याकेज तथा डेकोरेसन सबैको नै शुल्कमा कोरोना महामारीयता १० प्रतिशतदेखि ३० प्रतिशतसम्म वृद्धि भएको छ।

लगनको दिन ब्याण्ड बाजाले पछिल्लो समय ६५ हजारसम्म लिने र हेयर र मेकअपमा ‍‌औसतमा १५ हजार रूपैयाँ वेडतयारी डटकमका प्रबन्ध निर्देशक मिलन महर्जनले बताए। वेडतयारीमार्फत मानिसहरूले विवाहको लागि चाहिने भेन्यूदेखि मेकअप आर्टिस्ट, बाजा, फोटो-भिडियो लगायतको विभिन्न अप्सनहरू मध्य आफ्नो बजेटको हिसाबले बुक गर्न सक्छन्।

केही वर्षयता पाँच हजारसम्म गरिने बेहुलीको मेकअपमा पनि भारी वृद्धि भएको छ। मेकअप आर्टिस्ट हेरी हेरी मेकअपको शुल्क फरक-फरक पर्ने गर्छ। त्यस्तै, फोटो र भिडियोको प्याकेज पनि महँगिएको छ।

ड्रोनसहित महँगा क्यामेराहरू प्रयोग गरिने साथै ‘क्रिएटिभ’ भिडियोहरू बनाउने चलन सुरू भएदेखि नै यसको लागत झन् बढेको उनले बताए। 

खर्चसन् २०२० अघि (रूपैयाँ)हालको खर्च (रूपैयाँ)फरक (%मा)
सुन (प्रतितोला)७३,०००१,०१,८००३९.४५
भोजको खाना (प्रति प्लेट)१,०००१,४००४०
बेहुलाबेहुलीको जोडा४०,०००५०,०००२५
ब्याण्ड बाजा३५,०००६०,०००७१.४२
मेकअप८,०००१५,०००८७.५
फोटो-भिडियो२५,०००५०,०००५०

श्वेता प्रधानका अनुसार विवाहको सम्पूर्ण खर्चमा सबै भन्दा ठूलो उथलपुथल ल्याएको सुनको भाउले नै हो। ‘विवाहको लुगा, डेकोरेसन, बाजा, खानेकुरा सबैमा नै बजारमा बढेको मुद्रास्फीतिले असर छ। सुनको मूल्यले गर्दा धेरै खर्चिलो बनाएको छ,’ उनले भनिन्, ‘तर आफ्नो विवाह कसरी, कति लागतमा, कहाँ गर्ने भन्ने त व्यक्तिगत कुरा हो।’