BIZMANDU
www.bizmandu.com

रासायनिक मलको माग बढ्दो, खरिद प्रक्रिया छिट्टै नथाले आगामी वर्ष पनि अभाव हुने

२०७९ फागुन १६

रासायनिक मलको माग बढ्दो, खरिद प्रक्रिया छिट्टै नथाले आगामी वर्ष पनि अभाव हुने
रासायनिक मलको माग बढ्दो, खरिद प्रक्रिया छिट्टै नथाले आगामी वर्ष पनि अभाव हुने

वीरगंज। आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ। मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्छ। त्यसैले तत्काल बोलपत्र प्रक्रिया सुरु नगरे आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीलाई मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगंज पर्सामा चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा १ लाख ३० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ। चालु आवको साउनदेखि माघसम्ममा ९० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी मल प्राप्त भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चम्लागाईंले जानकारी दिए।

३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल आउने क्रममा रहेको र केही दिनभित्रै आइपुग्ने उनको भनाइ छ। यसबाहेक थप २०/२० हजार युरिया र डीएपी खरिदका लागि बोलपत्र स्वीकृत गर्ने प्रक्रियामा छ। त्यसको बोलपत्र स्वीकृत भएर मल आए पनि माग अत्यधिक रहेकाले त्यसले आगामी जेठसम्म मात्र धान्न सकिने प्रमुख चम्लागाईंले बताए।

‘अहिलेसम्म युरिया र डीएपी गरी १ लाख ३० हजार मेट्रिक टन मल आइसक्यो। ५० हजार मेट्रिक टन मल आउने क्रममा छ र ४० हजार मेट्रिक टन मल बोलपत्र स्वीकृत प्रक्रियामा छ,’ उनले भने, ‘हामीकहाँ आइसकेको, आउने क्रममा रहेको र बोलपत्र खरिद प्रक्रियामा रहेको मल सबै आयो भने पनि त्यो जेठसम्म मात्रै पुग्ने देखिन्छ।’

थप मलका लागि अहिले नै प्रक्रिया सुरु नगरिए धानखेतीको समयमा मलको अभाव हुनसक्ने प्रमुख चम्लागाईंको भनाइ छ।

‘धानखेतीको मुख्य सिजन असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुन्छ। त्यो बेलासम्म अहिले प्राप्त भएको वा आउन लागेको मलले पुग्ने देखिँदैन, त्यसैले धानखेतीको समयमा चाहिने आवश्यक मल खरिदका लागि अहिले नै प्रक्रिया सुरु गर्नुपर्छ,’ उनले भने।

मल खरिदको बोलपत्र प्रक्रिया लामो हुने भएकाले समयमै सुरु नगरिए समयमा मल नआउने र धानखेतीको समयमा मलको हाहाकार हुनसक्ने प्रमुख चम्लागाईँको भनाइ छ। जीटुजीमार्फत खरिद भएको रासायनिक मल प्राप्त भएलगत्तै जिल्ला-जिल्लामा मल पठाउन थालिएको सो कार्यालयले जनाएको छ।

रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त भएलगत्तै जिल्ला-जिल्लामा मल पठाउँदै आएको प्रमुख चम्लागाईँले बताए। चालु आव २०७९/८० मा आएको मलमध्ये मधेस प्रदेशको आठवटा जिल्लामा युरिया, डीएपी र पोटास गरी ४२ हजार १ सय २२ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ।

सो कार्यालयका अनुसार पर्सा जिल्लामा युरिया ३ हजार ४ सय ५० मेट्रिक टन, डीएपी २ हजार ६० मेट्रिक टन र पोटास चार सय मेट्रिक टन र बारामा युरिया ३ हजार ४ सय ८६ मेट्रिक टन, डीएपी १ हजार ७ सय ३२ मेट्रिक टन र पोटास १ सय ८५ मेट्रिक टन मल वितरण गरिएको छ।

यस्तै, धनुषामा युरिया ४ हजार ९ सय ५५ मेट्रिक टन, डीएपी २ हजार ३ सय पाँच मेट्रिक टन र पोटास २ सय २२ मेट्रिक टन, महोत्तरीमा युरिया २ हजार ३ सय २३ मेट्रिक टन, डीएपी १ हजार ३ सय २१ मेट्रिक टन र पोटास १ सय ७४ मेट्रिक टन वितरण भएको छ।

सर्लाहीमा युरिया ४ हजार १ सय ३६ मेट्रिक टन, डीएपी १ हजार ९ सय २९ मेट्रिक टन र पोटास २ सय ३५ मेट्रिक टन तथा रौतहटमा युरिया ३ हजार ४५ मेट्रिक टन, डीएपी १ हजार ४ सय ४१ मेट्रिक टन र पोटास १ सय ६५ मेट्रिक टन मल वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंजका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए।

सो अवधिमा सिरहामा युरिया १ हजार ७ सय ५० मेट्रिक टन, डीएपी १ हजार ७ सय ४४ मेट्रिक टन र पोटास २ सय ८५ मेट्रिक टन र सप्तरीमा युरिया १ हजार ७ सय ५ मेट्रिक टन, डीएपी १ हजार ४० मेट्रिक टन र पोटास ३४ मेट्रिक टन वितरण गरिएको प्रमुख चम्लागाईंको भनाइ छ।

मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको छ। मागबमोजिम आपूर्ति नभए पनि अघिल्लो वर्षको तुलनामा चालु आव २०७९/८० मा बढी मल आएको कार्यालयले जनाएको छ।

अघिल्लो आव २०७८/७९ मा युरिया ६० मेट्रिक टन र डीएपी ४० मेट्रिक टन मलमात्र आएको थियो। उनका अनुसार मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा वर्षभरिका लागि ४ लाख ६३ हजार टन मल चाहिने भन्दै पत्र पठाएको छ।

‘यसरी हेर्दा अहिले आइरहेको मल मधेस प्रदेशकै लागि पनि अपुग हुने देखिन्छ,’ उनले भने, ‘यस्तो स्थितिमा कसरी मल पुर्‍याउन सकिन्छ, सम्भव नै देखिँदैन। त्यसैले बर्सेनि मलको अभाव हुने स्वाभाविक नै हो।’

सो कार्यालयमार्फत मधेश प्रदेशको आठवटै जिल्ला, वाग्मती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लमजुङ, गोरखा, कास्की, पर्वतलगायतका जिल्लामा रासायनिक मल पठाउँदै आएको छ। बर्सेनि डीएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखादको समस्या हुने गरेको नेपाल कृषक महासङ्घ मधेश प्रदेशका अध्यक्ष मुक्ति यादवले बताए।

मागअनुसार मलको आपूर्ति नहुँदा वर्षेनी किसान मलका लागि डिलरहरू चहार्ने गरे पनि सहजरूपमा मल पाउने अवस्था नरहेको उनको भनाइ छ।