BIZMANDU
www.bizmandu.com

भारतीय सेरामिक ब्राण्ड सोमानी र मुरारका समूहले भैरहवामा २ अर्ब लगानीमा उद्योग ल्याउँदै

२०७९ फागुन १५

भारतीय सेरामिक ब्राण्ड सोमानी र मुरारका समूहले भैरहवामा २ अर्ब लगानीमा उद्योग ल्याउँदै
भारतीय सेरामिक ब्राण्ड सोमानी र मुरारका समूहले भैरहवामा २ अर्ब लगानीमा उद्योग ल्याउँदै


काठमाडौं। आर्थिक संकटबीच मुरारका समूहले भारतीय सेरामिक कम्पनी सोमानीसँग मिलेर २ अर्ब लगानीमा टायल उद्योग संचालनमा ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

सन् २०२३ बाटै उत्पादन बजारमा ल्याउने गरी मुरारका समूहले सोमानीसँग सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। भैरहवामा १३ बिघा जग्गामा मुरारका समूहले प्लान्ट स्थापनाको काम सुरु गरिसकेको छ। पहिलो चरणमा ३० लाख वर्गमिटर टायल उत्पादन गर्ने मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाले जानकारी दिए।

‘पहिलो चरणमा २ अर्ब रुपैयाँ लगानीमा हामीले ३० लाख वर्गमिटर क्षमताको टायल उत्पादन गर्छौं। त्यसको केही समयपछि दोस्रो चरणमा फेरि ३० लाख वर्गमिटर उत्पादन क्षमता थप्छौं। त्यसको लगानी अहिले नै भन्न सकिँदैन,’ मुरारकाले भने, ‘नेपालमा सेरामिकको माग एक करोड ८० लाख वर्गमिटर छ। हामी नेपाललाई आवश्यक सेरामिकको ३३ प्रतिशत पूरा गर्छौं। कुल ९५ प्रतिशतसम्म टायल आयात हुँदै आएको छ। हाम्रो उत्पादन सुरु भएपछि आयात क्रमश: घटाउँदै लग्ने लक्ष्य छ।’ उनले आर्थिक संकटको समयमा ठूलो लगानीको उद्योग स्थापना गरेर आशा जगाउने प्रयास गरेको बताए।

‘अहिले धेरै निराशा छ। व्यवसायिक क्षेत्र निराश भएका बेला हामीले दुई अर्ब लगानीमा उद्योग स्थापना गर्ने घोषणा गरेका छौं। यसले व्यवसायिक क्षेत्रमा सकारात्मक सन्देश दिनेछ,’ उनले भने।

मुरारकाले उत्पादनमूलक क्षेत्रमा आफ्नो समूह केन्द्रित रहेको र त्यसैलाई निरन्तरता दिँदै टायल्समा हात हालेको बताए। मूरारका समूह निर्माण सामाग्री उद्योगमा केन्द्रित छ। समूहको लगानीमा अर्घाखाँची सिमेन्ट, पशुपति पेन्ट्स, पशुपति पेन्ट्स लगायतका ठूला उद्योग छन्।

मुरारका समूहले टायल उत्पादनलाई आवश्यक कच्चा पदार्थ स्वदेशी बजारबाटै जुटाउन कोसिस गरिरहेको छ। सकभर शतप्रतिशत कच्चा पदार्थ नेपालमै जुटाउने र नभए केही आयात गर्ने मुरारकाले जानकारी दिए।

भारतीय कम्पनी सोमानीले भारतभर विभिन्न स्थानमा प्लान्ट स्थापना गरेको छ। सोमानीसँग उत्पादन क्षमता करिब ७ करोड ४० लाख वर्गमिटर रहेको छ। सोमानीले भारतको गुजरातमा मात्रै कुल सातवटा प्लान्ट, एउटा एउटा प्लान्ट हरियाणा र आन्द्र प्रदेशमा संचालन गरिरहेको छ।

सोमानीसँग अहिलेसम्म ग्लोबल प्लान्ट भने नरहेको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक सोमानीले जानकारी दिए। ‘नेपाल हाम्रो पहिलो अन्तर्राष्ट्रिय फुट प्रिन्ट हो। यो नै हाम्रो पहिलो संयुक्त लगानीमा स्थापित उद्योग हो,’ सोमानीले भने।

सोमानीले युरोप, अफ्रिका, मध्यपूर्व, अमेरिका, दक्षिण अमेरिकालगायतका क्षेत्रमा आफ्नो उत्पादन बिक्री गर्दै आएको उनले जानकारी दिए।

‘मुरारका समूहसँगको साझेदारी लामो समय जान्छ भन्नेमा हामी विश्वस्त छौं। हामी टायलमा नेपालको नम्बर वान ब्राण्ड हौं। भारतमा पनि हामी सेरामिक प्रडक्टको लिडर नै हौं। हामी विभिन्न प्रकारका टायलसँगै पछिल्लो समय स्यानिटरी वेयर, बाथ फिटिङ्स्, गिजरलगायत उत्पादन गरिरहेका छौं। गत वर्ष हामीले भारतमा करिब दुई हजार एक सय करोड भारुको कारोबार गरेका थियौं।’

मुरारका समूहले टायलको उत्पादनपछि सोमानीका अन्य प्रडक्ट उत्पादन थाल्ने योजनामा छ। मुरारका समूह र सोमानीबीच के कति लगानी तथा साझेदारीमा संयुक्त भेन्चर स्थापना हुने विषय भने टुंगिन बाँकी छ।

सोमानी नेपालमै उत्पादन भएपछि नेपाली बजारमा यसको मूल्य ‘सिग्निफिकेन्ट्ली’ घट्ने मुरारकाको भनाइ छ।