BIZMANDU
www.bizmandu.com

आन्तरिक वायुसेवाको वित्तीय अडिट गर्दै क्यान, बक्यौता नतिर्नेको उडानमा रोक लगाउने

२०७९ फागुन १४

आन्तरिक वायुसेवाको वित्तीय अडिट गर्दै क्यान, बक्यौता नतिर्नेको उडानमा रोक लगाउने
आन्तरिक वायुसेवाको वित्तीय अडिट गर्दै क्यान, बक्यौता नतिर्नेको उडानमा रोक लगाउने


काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानलाई सुरक्षित बनाउन सबै वायुसेवा कम्पनीको वित्तीय अडिट सुरु गरेको छ।

Tata
GBIME

आर्थिक संकटमा परेर पाइलट, इन्जिनियर, कर्मचारीलाई तलब नदिँदा उडान सुरक्षामा समेत समस्यामा पर्ने भन्दै प्राधिकरणले वित्तीय अडिट सुरु गरेको हो। तलब सुविधा नदिएको भन्दै प्राधिकरणले केही दिनअघि गुण एयरलाइन्सलाई उडान गर्न प्रतिवन्ध लगाएको थियो।

त्यसपछि प्राधिकरणले सबै आन्तरिक कम्पनीको वित्तीय अडिट गर्न लागेको हो। प्राधिकरणले सेवासुविधावापतको बक्यौता नतिर्ने कम्पनीलाई उडानमा समेत प्रतिवन्ध लगाउने भएको छ।

‘सुरक्षासँगै वित्तीय अडिट गरेरमात्र उडान अनुमति दिइनेछ। हरेक दुई वर्षमा वायुसेवा कम्पनीले उडान संचालन प्रमाणपत्र नवीकरण गर्नुपर्ने हुन्छ। कम्पनीको व्यवसायिक योजना र वित्तीय अवस्था हेरेर यो नवीकरण हुनेछ,’ प्राधिकरणका एक कर्मचारीले भने,’संचालनमा आइरहेका अधिकांश वायुसेवा कम्पनीको बक्यौता नै उठेको छैन। उनीहरुको अब उडान रोक्का हुनेछ।’ प्राधिकरणका अनुसार बुद्धबाहेक सबै कम्पनीको बक्यौता छ। प्राधिकरणका अनुसार विकटमा उडान गर्ने कम्पनीको पनि बक्यौता छ।

प्राधिकरणका अनुसार आन्तरिक उडान गर्ने कम्पनीको ४८ करोड रुपैयाँ बक्यौता छ। ‘उड्डयन उद्योगको सुरक्षित सेवाको मेरुदण्ड भनेकै मजबुत वित्तीय अवस्था हो। प्राधिकरणको सेवा सुविधा लिए वापतको वक्यौता बुझाइएको छैन। मर्मतसम्भार, कर्मचारी भरपोषणमा त यसले प्रभाव पार्छ,’ उनले भने।