BIZMANDU
www.bizmandu.com

मल्ल होटलमा अब ‘थर्ड जेनरेसन,’ हजुरआमाले बनाएको बाटोमा आयशा र अनुष्का

२०७९ फागुन १४

मल्ल होटलमा अब ‘थर्ड जेनरेसन,’ हजुरआमाले बनाएको बाटोमा आयशा र अनुष्का
मल्ल होटलमा अब ‘थर्ड जेनरेसन,’ हजुरआमाले बनाएको बाटोमा आयशा र अनुष्का


काठमाडौं। पद्‍मशमशेरकी एक्ली छोरी रमाकुमारी मल्लले करिब ५ दशकअघि लैनचौरमा खोलेको हो ‘द मल्ल होटल।’ त्यो समयमा महिलाले हस्पिटालिटी बिजनेसको क्षेत्रमा पस्ने साहस गर्नु आफैंमा चुनौतीपूर्ण थियो। तर, पितृसत्तात्मक समाजलाई चुनौती दिँदै एकल रुपमा रमाले अघि बढाएको यो होटलले नेपालको हस्पिटालिटी क्षेत्रमा पृथक पहिचान बोकेको छ।

Tata
GBIME
Nepal Life

चार वर्षअघि रमाकुमारीले सक्रिय व्यवस्थापकीय जिम्मेवारीबाट आफूलाई मुक्त गरिन्। संस्थापक अध्यक्षका रूपमा रहेकी रमाले आफ्ना दुई नातिनीहरु आयशा र अनुष्कालाई होटल संचालनको जिम्मा दिइन्। यतिबेला यी दिदीबहिनी मल्ल होटललाई देशकै टप फाइभ स्टार बनाउन लागिपरेका छन्।    

आयशा र अनुष्कालाई बुवा सञ्जय मल्ल र आमा विजया मल्लले ग्रुम गरे। बुवाआमा र हजुरआमाको मार्गदर्शनमा उनीहरु काम गरिरहेका छन्। होटलको प्रोडक्ट डेभलपमेन्ट डाइरेक्टरका रुपमा आयशाले लिएकी छन् भने बहिनी अनुष्काले बिजनेस डेभलपमेन्टको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

भारतको मियो कलेजबाट प्लस टु उत्तीर्ण दुवैजनाले स्विट्जरल्याण्डको ले रोस क्रान्स मोन्टाबाट उच्च शिक्षा लिएका हुन्। आयशाले नोयडाको एमएटी विश्वविद्यालयबाट तीन वर्षे अध्ययन गरेकी हुन् भने स्पेसल कोर्सका लागि उनले स्विटजरल्याण्डको ले रोस क्रान्स मोन्टानाबाट मार्केटिङ विधामा उच्च शिक्षा लिएकी हुन्। अनुष्काले पनि ले रोसबाटै इन्टरप्रेन्योरसिपमा उच्च शिक्षा लिएकी हुन्।

पढाइकै क्रममा दिदी आयशाले हैदरावादको ताज होटल र बैंककमा काम गरिन्। अनुष्काले दिल्लीको ले मेरिडियन होटल र पोर्चुगलको होटलमा ६-६ महिनाको इन्टर्नशीप गरिन्। पढाइकै क्रममा उनीहरुले अन्तर्राष्ट्रिय होटल उद्योग अन्तर्गत विभिन्न विभागको अनुभव लिए। कलेजको पढाइ सकेसँगै दुवैजना नेपाल फर्किए। सन् २०१६ मा उच्च शिक्षा सकेर नेपाल फर्किएका दिदीबहिनीलाई कोभिड महामारीको समय सिकाइको बन्यो। यही समयमा उनीहरुले होटल संचालनको अवस्थालाई सूक्ष्म अवलोकन गरे।

सन् २०१९ मा हजुरआमा-हजुरबुवाले व्यवस्थापन जिम्मा छोरा सञ्जय मल्ललाई दिएसँगै छोरीहरु पनि प्रवेश गरे। ‘हामी जुन समय आयौं त्यो हाम्रो लागि अवसर थियो। व्यावसायिक योजना अनुसार होटलको मर्मत सम्भार र क्षमता विस्तारका काम सुरु गर्न सक्यौं। यसका लागि पाँच वर्षको समय छुट्टाइएको थियो,’ आयशाले भनिन्,’बुवाले नयाँ पुस्ताको साथमा होटलको आवरणमा समेत केही परिवर्तन ल्याउने र नयाँ पुस्तालाई तान्ने गरीको योजना बनाइसक्नुभएको रहेछ। त्यही योजना अनुसार कफी सप, बार, र थप रुमहरु तयार गरिएको हो।’

होटलमा प्रयोग हुने अत्याधुनिक प्रविधिको छनोट भने आयशा आफैंले गरेको बताउँछिन्।

हजुरआमाले होटल संचालनका लागि दिएको समय, समर्पण, ऊर्जाबाट नै यो क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनीहरु बताउँछन्।

‘उहाँले त्यो समयमा होटल मात्र नभइ नेपालको पहिचान र पर्यटन प्रवर्द्धनमा बिताएको समय अनि काम गर्ने शैलीकै प्रभाव हामीमा पनि परेको छ। त्यसैले हामी होटलसँग झन् आत्मीय भएर भिजेका छौं,’ अनुष्का भन्छिन्, ‘यसैकारण पनि हामीलाई हस्पिटालिटी बाहेक अरु क्षेत्रमा जाने सोच आएन। बाल्यकालदेखि नै होटल संचालन, जनशक्ति, पाहुनासँगको जनसम्पर्क लगायत कुरामै केन्द्रित रह्‍यौं। हुर्कँदै जाँदा हाम्रो ध्यान केवल यसमै रह्‍यो।’

यतिखेर धमाधम भित्रिइरहेका अन्तर्राष्ट्रिय चेन होटलहरु ‘द मल्ल’ का प्रतिस्पर्धीहरु हुन्। तर, आफ्नो पृथक पहिचान तथा मौलिक नेपाली शैलीले नयाँ पुस्तालाई सहजै आकर्षण गर्न सकिने उनीहरु दाबी गर्छन्।

‘हामीले सन् २०२२ को अप्रिलबाट आफ्नो व्यवसाय पुनः सुरु गरेसँगै आन्तरिक पर्यटकमा नै केन्द्रित छौं। नेपालभित्रै अब विभिन्न होटलमा जाने जमात वृद्धि भइसकेको छ। ‘फोकस’ विदेशी पर्यटकमा छ तर ‘टार्गेट’ नेपाली पर्यटकको हो,’ आयशाले भनिन्।

यसका लागि होटलले विभिन्न आकर्षक प्याकेज लागू गरिसकेको उनले जानकारी दिइन्। आन्तरिक पर्यटक वृद्धि हुँदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो ब्राण्डिङ अन्तर्राष्ट्रिय बजारमै हुने उनको भनाइ छ। उनी भन्छिन्- ‘चेन होटलको आफ्नै मार्केट छ। तर, हामीसँग परिचित पाहुनाले यहाँबाट लिएर जाने अनुभव अनुसारकै प्रचार त भइरहेको हुन्छ। विदेशबाट आउने पर्यटकले यहीँकासँग सोधीखोजी गर्दा हाम्रो नाम आउँछ भन्नेमा हामी विश्वस्त छौं।’

होटल पुनः संचालनमा आएयता आन्तरिक तथा बाह्य युवा पर्यटक लक्षित प्रचारप्रसार गर्दै आएको अनुष्का बताउँछिन्। यतिखेर मौखिक प्रचारसँगै अगोडा, ट्रिप एड्भाइजर लगायतबाट अनलाइन प्याकेज सुरु गरिसकेको उनले जानकारी दिइन्।

‘पहिला टुर अपरेटरमार्फत पाहुना आइरहनुभएको थियो। यो सँगै अनलाइन सर्च इन्जिनलाई प्राथमिकता दिएका छौं,’ उनले भनिन्, ‘अहिले अधिकांश पर्यटकले अनलाइनमार्फत नै बुकिङ गर्दै आएका छन्। तुलनात्मक हिसाबले सर्च इन्जिन अझै प्रभावकारी छ।’

पर्यटकको अनुभवलाई थप अविस्मरणीय बनाउन उनीहरुले पाहुनालाई काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक महत्वका ठाउँको भ्रमण,  नेपाली हस्तकला तथा परिकार तयारीको अवलोकन जस्ता पनि प्याकेज दिँदै आएको छ।          

‘हाम्रो मुख्य उद्देश्य भनेकै मुलुकको संस्कृति, आतिथ्यता पस्कनु हो। पाहुनालाई नेपाल चिनाएर अन्तर्राष्ट्रिय बजारमा मुलुककै पर्यटन प्रवर्द्धन गर्ने किसिमका प्याकेज तयार गर्दै आएका छौं,’ उनले भनिन्, ‘मल्ल होटललाई नेपालको पर्याय बनाउन चाहन्छौं।’

सेवा विस्तारका लागि दुई दशक अगाडिदेखि कार्यरत कर्मचारीसँग हातेमालो गर्दै काम गर्दै आएको आयशा बताउँछिन्। उनका अनुसार सबै कर्मचारीसँगको सौहार्द व्यवहारले होटल सेवा विस्तार गर्न थप सहज हुँदै आएको छ। पारिवारिक सम्बन्ध कायम हुँदै आएका कारण अधिकांश पुराना कर्मचारी अहिले पनि छन्। कोभिड महामारीको समययता होटलको सेवा बन्द रह्‍यो। तैपनि विभागीय प्रमुख बाहेक सबै कर्मचारी यथावत रहेको उनले जानकारी दिइन्।  

नेपाली पाहुनालाई विश्वस्त बनाएर पाँचतारे होटलको विशेष सेवा दिनु नै मुख्य योजना रहेको अनुष्काले बताउँछिन्। बाल्यकालमा हजुरआमाको कार्यशैलीलाई हेर्दा सजिलै देखिएपनि यतिखेर मेहनत र संघर्षलाई नजिकबाट अनुभव गरिरहेको उनीहरुको भनाइ छ।

‘हामीलाई एक दिन होटलमा जान नपाएको दिन कौतुहल हुन्छ। ज्वाइन गरेलगत्तै हजुरआमाले भन्नुभएको थियो ‘केही गर्न सकिँदैन भनेर दिक्क नमान्नु’। कोसिस गर्ने र धैर्य रहनका लागि त्यही सल्लाहले हामीलाई ऊर्जा दिँदै आएको छ,’ अनुष्का भन्छिन्। व्यवसायलाई रफ्तार दिने क्रममा हाल होटलको कोठा क्षमता बिस्तार हुँदैछ। उनीहरु होटललाई विस्तार गरेर १ सय ७० वटा कोठा बनाउने योजनामा काम गरिरहेका छन्। थप्न लागिएका अतिरिक्त ५० वटा कोठा लक्जरी स्तरको रहने उनले बताइन्।

उनीहरुले भावी योजना यसरी सुनाए -‘हजुरआमाले आफ्नो उद्देश्य अनुसारको व्यावसायिक लक्ष्य पुरा गर्नुभयो। अब हाम्रो पालो आएको छ। हामी दुई सुरुवाती चरणमा छौं। तर, यही होटललाई देशकै उत्कृष्ट होटलका रुपमा चिनाउने उद्देश्य बोकेका छौं। जति काम हुन्छ यही होटलको व्यावसायिक बिस्तारमा हुन्छ। त्यसपछि मात्र अरु योजना बनाउने छौं।’