BIZMANDU
www.bizmandu.com

सरकार छाड्ने राप्रपाको निर्णय, समर्थन फिर्ता, प्रदेश सरकारबाट पनि बाहिरिने

२०७९ फागुन १३

सरकार छाड्ने राप्रपाको निर्णय, समर्थन फिर्ता, प्रदेश सरकारबाट पनि बाहिरिने
सरकार छाड्ने राप्रपाको निर्णय, समर्थन फिर्ता, प्रदेश सरकारबाट पनि बाहिरिने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। माओवादीले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने गरी नयाँ गठबन्धन बनाएपछि राप्रपा सरकारबाट बाहिरिने भएको हो।

Tata
GBIME
Nepal Life

यसबारे निर्णय लिन शनिवार बिहान राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको थियो। उक्त बैठकले केन्द्र र प्रदेश सरकारबाट आजै बाहिरिने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ। परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको छ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा माघ ३ गते सरकारमा सहभागी भएको थियो।