BIZMANDU
www.bizmandu.com

३ वर्षपछि नयाँ अवधारणामा फर्कियो ‘भोजन गृह’, विदेशीसँगै नेपाली पाहुना तान्ने    

२०७९ फागुन १२

३ वर्षपछि नयाँ अवधारणामा फर्कियो ‘भोजन गृह’,  विदेशीसँगै नेपाली पाहुना तान्ने    
३ वर्षपछि नयाँ अवधारणामा फर्कियो ‘भोजन गृह’, विदेशीसँगै नेपाली पाहुना तान्ने    


काठमाडौं। काठमाडौंमा पुरानो शैलीको भवनमा रहेको भोजन गृह एक समय विदेशी पाहुनाहरुको लागि मौलिक खानाको पर्यायजस्तै थियो। नेपाल आउने विशेष पाहुना, विदेशी नियोगका प्रतिनिधि तथा विदेशी पर्यटकहरु रात्रिभोजका लागि ठाउँका रुपले परिचित यो थलो तीन वर्ष अघि बन्द भयो।

Tata
GBIME
Nepal Life

एक शताब्दी अगाडिको पुरानो शैलीको भवन संरचना। नेपाली रैथाने परिकारसहित प्रत्यक्ष सांस्कृतिक कार्यक्रमको माहोल जम्ने भोजन गृहमा मौलिक नेपाली वातावरण र खानाको अनुभव लिन आउनेहरुका लागि ठाउँ बुक गर्न पाउनु हम्मे-हम्मे थियो।

आफ्नो व्यावसायिक योजना अनुसार संरचना र सेवा विस्तारका लागि भोजन गृह तीन वर्षदेखि बन्द भयो। यो अवधिभर रेष्टुरेण्टले आफ्नो आन्तरिक स्वरुप नै परिवर्तन गरेर गत साताबाट फेरि आफ्नो सेवा गरेको छ।  

यसअघि उच्च घरानिया वर्ग र विदेशीहरुको समूहमा नाम चलेको भोजन गृहले अब भने नेपाली पाहुनालक्षित सेवा सुरु गरेको संचालक भरत बस्नेतले बताए। पछिल्लो समय विस्तार भएको रेष्टुरेण्ट बिजनेस र नयाँ पुस्तालाई मौलिक संस्कृति र रैथाने परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले भोजन गृहले नयाँ अवधारणा अपनाएको उनले जानकारी दिए।

‘नेपाली युवा जमात फास्ट फुडमा लाग्न थालिसकेको छ। तर, नेपाली खाना भनेको वैज्ञानिक हिसाबले स्वास्थ्यवर्द्धक छ। पछिल्लो समय अधिकांश रेष्टुरेण्टको भान्सामा विदेशी खाना पाक्न थालिसकेका छन्। नेपाली रैथाने खानासँगै मौलिक संस्कृतिलाई हरेक नेपालीमा पुर्‍याउनु अबको मुख्य उद्देश्य हो,’ संचालक बस्नेतले भने,’नेपाली मौलिक परिकार आफैंमा धनी छ भन्ने कुरालाई नेपाली पाहुनाबीच नै प्रवर्द्धन गर्न चाहन्छु।’   

भोजन गृहमा खानका लागि काँसको थाल, प्लेट, बटुका लगायतका परम्परागत भाँडाबर्तनको प्रयोग हुन्छ। यसैगरी विभिन्न जातजातिका नाचगान र साँस्कृतिक महत्त्वका झाँकीहरु यहाँ देखाइन्छ। उनका अनुसार रेष्टुरेण्टले नेवारी, तामाङ सेलो, भोटे सेलो, मैथिली, गन्धर्व, क्षेत्री, बाहुन लगायत विभिन्न जातजातिको नृत्य तथा गायन प्रस्तुति दिँदै आएको छ। 

‘पृथ्वीनारायण शाहले तीनै सहरका नाचगान झिकाइ सोख सयल गर्नु भन्नुभएको थियो। यही कुरालाई मध्यनजर गर्दै हामीले यहाँ दैनिक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौं। इतिहास बोकेको यही अवधारणालाई नयाँ प्रविधिमार्फत सेवालाई निरन्तरता दिनेछौं,’ उनले भने।  

भोजन गृहको प्रमुख परिकार मानिएको थाली सेट विदेशी पाहुनाका लागि ३० डलर र नेपालीका लागि २९०० रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए।

थाली सेटमा पाहुनाले सगुन ‘ऐला’, भुटेको मकै भटमास, तारेको आलु, मःमः, क्वाँटी झोल, थाली खाना, सिकर्नीको कोर्सपछि अन्तिममा नेपाली चिया दिइन्छ। यस बाहेक पाहुनाले आफ्नो इच्छा अनुसार विभीन्न रैथाने परिकारहरु पनि अर्डर गर्न सक्छन्।

६ करोड खर्चेर मर्मत सम्भार 

रेष्टुरेण्टले आफ्नो सेवा विस्तारका लागि ६ करोड रुपैयाँ खर्चिएको उनले बताएका छन्। रेष्टुरेण्ट रहेको एक सय वर्ष पुरानो भवन संरचनाको जापानी कम्पनी मियामोतोमार्फत आधुनिक तवरले मर्मत गराइएको हो। रेष्टुरेण्टको डिजाइन वरिष्ठ आर्किटेक्ट सिद्धार्थ गोपालनले गरेका हुन्।  

‘एक शताब्दी अगाडिको भवन पुरानो भएकै कारण मर्मत सम्भार गरिएको हो। यसका लागि कोभिडको महामारी हाम्रो लागि अवसर बन्न पुग्यो। हामीले यस अघि संरचनाको केही अंश मात्र प्रयोग गरेर सेवा दिएका थियौं। अहिले हामीले तीनवटा तल्लामा पाँचवटा हल तयार पारेका छौं,’ संचालक बस्नेतले भने, ‘एउटा तल्लामा ८० जनासम्म सहजै अँट्छन्।’ तीन तलाको भवन संरचनामा एक पटकमा दुई सय जना पाहुनाले रात्रि भोजन गर्न सक्ने उनले जानकारी दिए। उनका अनुसार हाल रेष्टुरेण्टमा करिब ४० जना कार्यरत छन्।

दुई दशक अघि ६ करोडको लगानी  

भोजन गृह सञ्चालनमा रहेको भवन बिसं २०५४ मा यो भवन बडागुरुज्यूको नाममा थियो। यो भवन सुरुमा उनले २० वर्षका लागि लिजमा लिएर रेष्टुरेण्ट चलाएका थिए। पछि कुल ४० रोपनी क्षेत्रफल परिसरमध्ये भवनसहितको चार रोपनी क्षेत्रफल करिब ६ करोड रुपैयाँमा किनेको संचालक बस्नेतले जानकारी दिए।

भ्रमण वर्ष १९९८ को अभियान अन्तर्गत यो रेष्टुरेण्ट स्थापना गरेको उनले बताए। ‘काठमाडौं उपत्यकामा भएका मौलिकता झल्कने भवन संरक्षणलाई जोड दिने र नयाँ संरचनामा पुरातात्विक झल्को दिएर नेपालीपन चिनाउने अभियान आफैँ सुरु गरेको हुँ,’ उनले भने।

डेढ शताब्दी अगाडि राणाकालीन समयमा यो भवनमा विशेष अतिथिका लागि भारतबाट कलाकार ल्याएर नाचगान देखाइने गरेको उनले जानकारी दिए।              

‘बडागुरुज्यूको बसोबास अनि राणाकालीन समयदेखि नै विशेष पाहुनाका लागि नाचगानसहित खानपानको सेवा दिइँदै आएको भवन हो यो। भोजन अर्थात व्यञ्जन र गृह अर्थात घर। भोजन गृहले विभीन्न नेपाली रैथाने परिकार खाने थलोकै रूपमा डेढ सय वर्ष अघिदेखि पहिचान बनाइसकेको छ,’ उनले भने।  

यस्तो छ मेनु: