BIZMANDU
www.bizmandu.com

नौ महिना अघिको तारा एयर दुर्घटना अन्तिम प्रतिवेदन सार्वजनिक, इन्जिनियरिङ लापरवाहीसँगै मानवीय त्रुटि 

२०७९ फागुन ११

नौ महिना अघिको तारा एयर दुर्घटना अन्तिम प्रतिवेदन सार्वजनिक, इन्जिनियरिङ लापरवाहीसँगै मानवीय त्रुटि 
नौ महिना अघिको तारा एयर दुर्घटना अन्तिम प्रतिवेदन सार्वजनिक, इन्जिनियरिङ लापरवाहीसँगै मानवीय त्रुटि 

काठमाडौं। नौ महिनाअघि पोखरा-मुस्ताङ उडानका क्रममा दुर्घटना भएको तारा एयरको प्रतिवेदनको अन्तिम मस्यौदाले दुर्घटनाको सम्भावित कारण प्रष्ट पारेको छ। प्रतिवेदनको अन्तिम मस्यौदाले जहाजको इन्जिनियरिङसँगै मानवीय त्रुटि नै सम्भावित कारण जनाएको छ।

Tata
GBIME
Nepal Life

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको जाँचबुझ आयोगले प्रतिवेदनको अन्तिम मस्यौदा बुधबार विभागीय मन्त्रीलाई बुझाएको हो।

यो दुर्घटनाको सम्भावित कारण जहाजको इन्जिनियरिङ र मानवीय त्रुटि रहेको आयोगका संयोजक रतिशचन्द्रलाल सुमनले बताए। जहाजमा टेरेनको वार्निङ आउने उपकरण नै अफ रहेको कारण यो समय सावधानी संकेत नआइदिँदा दुर्घटना भएको हुन सक्ने उनको भनाइ छ।

‘जहाजको टेरेन वार्निङ पहिल्यै अफ गरिएको थियो। यो अन भएको भए अलर्ट वार्निङ पहिलै पाउन सक्थ्यो। उडानका क्रममा यसबाट आउने अनावश्यक अवरोध हटाउनका लागि गलत कन्फिगरेसन गरिएको थियो,’ संयोजक सुमनले भने,’मानवीय त्रुटिसँगै आइकाओले भने बमोजिम पाइलटलाई सपोर्ट हुने उपकरणको प्रयोगमा पनि त्रुटि देखिएको छ।’

अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डको सहकार्यमा तयार गरिएको अनुसन्धान प्रतिवेदनले चालकदलले ‘इन्स्ट्रुमेन्ट मेट्रोलोजिकल कन्डिसन’ सँगै भौगोलिक संरचनामा ध्यान नदिइएको सम्भावित कारण देखाइएको छ।

‘पोखरा र जोमसोम हवाईमार्गमा मौसम प्रतिकूल रहेको चालकदललाई जानकारी थियो। पाइलटले भीएफआर फ्लाइट प्लान अनुसार गएको थियो। यो अवस्थामा आइएफआर प्लान अनुसार जानुपर्ने थियो,,’ आयोगका संयोजक रतिशचन्द्रलाल सुमनले भने,’बादलबाट बाहिर निस्कन खोज्दा देखिएको उज्यालो हिउँ थियो। निस्कने बित्तिकै जहाज ठोकिएको पाइएको छ।’  

आयोगले बुधबार अन्तिम प्रतिवेदनको मस्यौदा पर्यटन मन्त्री सुदन किरातीलाई बुझाएको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स-१३ प्रावधान बमोजिम  दुई महिनाभित्रै आइकाओ लगायत विभिन्न निकायको प्रतिक्रिया लिएर अन्तिम प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ।      

मन्त्रालयले प्राधिकरणका वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यसहितको जाँच आयोग गठन गरिएको थियो। यसअन्तर्गत इन्जिनियर सुमनसहित क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिराज शाक्य, सहसचिव बुद्धिसागर लामिछाने छन्।

गत जेठमा १९ जना यात्रु लिएर पोखरा-जोमसोम उडेको नाइन एन-एइटी कलसाइनको ट्‍वीनअटर दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार दुई विदेशी, चार भारतीय र १३ जना नेपाली यात्रुका साथै तीन चालकदलका सदस्यको घटनामा मृत्यु भएको थियो।

दुर्घटनास्थल जोमसोमबाट आठ नटिकल माइल दक्षिण र १४ हजार ५ सय फिटमा उचाइमा रहेको थियो।