BIZMANDU
www.bizmandu.com

उत्पादन राम्रो हुँदा भारतमा सस्तियो तोरी, नेपालमा तेलको मूल्य कति घट्ला ?

२०७९ फागुन ११

उत्पादन राम्रो हुँदा भारतमा सस्तियो तोरी, नेपालमा तेलको मूल्य कति घट्ला ?
उत्पादन राम्रो हुँदा भारतमा सस्तियो तोरी, नेपालमा तेलको मूल्य कति घट्ला ?

विराटनगर। यस वर्ष विहारको गुलाफवाग मन्डीमा नयाँ तोरीको भाउ गत वर्षको भन्दा प्रति किलो भारु १० रुपैयाँले सस्तो भएर खुलेको छ।

Tata
GBIME
Nepal Life

विहारको गुलाफवाग मन्डीलाई मकै र गहुँपछि तोरीको पनि मुख्य केन्द्रका रूपमा लिइन्छ। फागुनको दोस्रो सातापछि गुलाफवागमा नयाँ तोरी निस्कन थाले।

विराटनगरको चन्द्रशिव आयल मिलका सञ्चालक नरेश राठीका अनुसार गत वर्ष फागुनको दोस्रो सातामा गुलाफवागको तोरी प्रति किलो भारु ६५ मा खुलेको थियो। तर यस वर्ष किलोमा भारु १० रुपैयाँले सस्तो हुँदै ५५ मा खुलेको छ।

उद्योगी राठीले अहिलेकै मूल्यको हिसाब गरेर आगामी १२ महिनाको तोरीको तेलको मूल्यको आँकलन गर्न नसकिने बताए।
राठीका अनुसार तोरीको तेलको मूल्यलाई कच्चा तोरीको मूल्यले पार्ने असर थोरै छ, बरु प्रशोधित खाने तेलको मूल्यले बढी प्रभावित बनाउँदै आएको छ।

उनले भने, ‘यसअघि प्रशोधित खाने तेलको मूल्य आकासिँदा तोरीको तेलको मूल्य पनि माथि पुगेको थियो। गत असार–साउनमा प्रशोधित तेलको मूल्यमा वृद्धि भएको थियो। त्यस वेला चन्द्रशिव आयल मिलको घैला छाप तोरीको तेलको एक लिटरको एमआरपी ३२५ रुपैयाँसम्म पुगेको थियो। अहिले घट्तैघट्तै २७० मा आइपुगेको छ। हरेक हप्ता लिटरको ५ रुपैयाँले घटिरहेको छ।’

उनले यस वर्ष नेपालमा पनि तोरी खेती धेरै भएको बताए। गत जेठअसारमा तोरीको तेल लिटरमै ३२५ भन्दा माथि पुगेपछि थोरै जमिन र करेसाबारी हुनेले पनि तोरीको खेती गरेको देखिएको उनको भनाइ छ। भारतमा तोरी खेती फस्टाएको बताइएको छ। त्यसैले आगामी १२ महिना तोरीको मूल्यमा विगतको जस्तो वृद्धि नहुने अपेक्षा उद्योगीले गरेका छन्।

घरेलु ब्रान्डको तोरीको तेलको उत्पादक श्याम एग्रोका सञ्चालक राजु राठीले ७–८ महिनाअघि भारतीय तोरी प्रति किलो भारु ७३ रुपैयाँसम्म पुगेको जानकारी दिए। राठीका अनुसार तोरीको तेलको विक्रीमा ठुलो मन्दी आएको छ। प्रशोधित खाने तेलका तुलनामा तोरीको तेलको विक्री १० प्रतिशत पनि छैन। विक्री घटेका कारणले पनि मूल्यमा ह्रास आएको हो।

तोरीको तेलका उद्योगीहरू धेरैजसो कच्चा तोरी भारतबाट नभई समुद्रपारका युक्रेन र अस्ट्रेलियाबाट आयात गर्ने गर्छन्। अस्ट्रेलियाको तोरीबाट ४४ र युक्रेनको तोरीबाट ४२ प्रतिशत तेल निस्कने दाबी गरिन्छ। तर भारतीय तोरीमा तेलको प्रतिशत ३८ देखि ४० प्रतिशत मात्र हुन्छ। समुद्रपारको तोरी सस्तो पनि पर्ने उद्योगीको भनाइ छ। त्यसैले समुद्रपारको तोरीको तेललाई स्वादिलो र सुगन्धित बनाउन भारतीय तोरीको तेल मिसाउने गरिन्छ।

चन्द्रशिव आयलका सञ्चालक नरेशले अस्ट्रेलियामा अहिले तोरीको मूल्य टनको ८२५ बाट घटेर ७४० डलर भएको जानकारी दिए। त्यस्तै युक्रेनको तोरी पनि टनको ७८० बाट घटेर ७२० डलरमा झरेको छ। भारतमा नयाँ तोरी आउने सिजन सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य खस्किएको हो।

खुकुरी छाप तेल उत्पादन गर्ने सुनसरीको जेके आयल इन्डस्ट्रीका जितु तापडियाले राजस्थानको तोरीको मूल्य खुलेपछि मात्र आगामी १२ महिनाको आँकलन गर्न सकिने बताए।

तापडियाका अनुसार राजस्थानको तोरी वैशाखपछि मात्र आउँछ। हरियाणाको चैतको दोस्रो हप्तामा आउँछ। यसपछि मात्रै आगामी दिनमा तोरीको तेलको मूल्य कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ।

तापडियाले उनको उत्पादन खुकुरी छाप तेलको प्रति लिटरको एमआरपी ३५० बाट घटेर २७० मा आइपुगेको जानकारी दिए।
उनको भनाइ छ, ‘तोरीको उत्पादन र मूल्यका कारणले आगामी दिनमा तोरीको तेलको मूल्य कस्तो होला भन्ने हिसाब गर्न अझै २ महिना पर्खनुपर्छ। तर पनि यसमा मुख्य असर गर्ने चाहिँ प्रशोधित खाने तेलकै मूल्यले हो।’