BIZMANDU
www.bizmandu.com

लघुवित्तको सेयर किन्ने ठूला खेलाडी को हुन् ? जसले लघुवित्तलाई बदनाम गराए

२०७९ फागुन १०

लघुवित्तको सेयर किन्ने ठूला खेलाडी को हुन् ? जसले लघुवित्तलाई बदनाम गराए
लघुवित्तको सेयर किन्ने ठूला खेलाडी को हुन् ? जसले लघुवित्तलाई बदनाम गराए

काठमाडौं। केही वर्ष अघिसम्म लघुवित्तले गरिबको जीवनस्तरमा चमत्कारिक परिवर्तन भएका थिए। पशुपालन, माछापालन लगायतका स-साना उद्यमबाट गाउँकै आर्थिक अवस्थामा सुधार भएका थिए।

Tata
GBIME
Nepal Life

तर, यो परिवर्तनका कथा अहिले सुन्न छाडिएको छ। बरु लघुवित्त मिटरब्याजीजस्ता भए भन्दै चर्को आलोचना सुरु भएको छ। पैसाको बचत गर्ने, सही ठाउँमा लगानी गर्ने, कारोबारका लागि बैंकिङ च्यानलको प्रयोग गर्ने जस्ता वित्तीय जनचेतना जगाउने लघुवित्तमाथि निसाना साँध्न थालिएको छ।

यही बेलामा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले लघुवित्तमा सेयर खेलाडीको प्रवेशले संकटमा पारेको अभिव्यक्ति दिएपछि यो मुद्दा अझै पेचिलो बनेको छ।

राष्ट्र बैंकबाट गम्भीर प्रकृतिको अभिव्यक्ति आएपछि सेयर लगानीकर्ता वाकयुद्धमा लागेका छन्। लघुवित्तका संचालकहरुले राष्ट्र बैंकप्रति सामाजिक संजालमा गालीको वर्षा गरिरहेका छन्। ठूला लगानीकर्ता आफ्नो बचाउ गर्दै राष्ट्र बैंकको नीतिले लघुवित्त संकटमा परेको दाबी गरेका छन्। अझैसम्म पनि दुवै पक्ष आरोपप्रत्यारोपमै छन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपाल सेयर बजारका खेलाडी संचालक समिति सम्म पुग्दा लघुवित्तको सिस्टम नै बिग्रिएको जिकिर गरिरहेका छन्।

‘सामान्यता सेयर बजारमा लघुवित्तको सेयर किनेपछि ह्‍वारह्‍वार्ती बढ्छ भन्ने छ। यहाँसम्म कि सर्वाधिक लाभांश वितरण गर्नेमा पनि अहिले लघुवित्त कम्पनीहरु नै अग्र स्थानमा छन्। त्यसैले यस्ता कम्पनीहरुको सेयर मूल्य पनि १ हजारदेखि ५ हजार माथि छ,’ उनले बिजमाण्डूसँग भने, ‘यस्तै कम्पनीको सेयर जम्मा पारेर कम्पनीको संचालक सम्म पुगेका संस्थापकले मुनाफा खोज्दा समस्या आएको हो।’  

उनका अनुसार लघुवित्त कम्पनीहरु आर्थिक मात्रै नभएर सामाजिक पाटोमा जानुपर्नेमा उच्च लाभांश वितरण गर्ने र सेयर बजारमा आफ्नो सेयरको मूल्य उच्च बनाउने प्रतिस्पर्धामा दौडिएका छन्।

‘गरिबको नाममा काम गर्ने, विपन्न वर्गको पैसा उपयोग गर्ने अनि ह्‍वारह्‍वारी बर्सेनि ४०/७० प्रतिशत लाभांश बाँड्ने हो ? यो त कमाउने दाउ हो। कमाउने दाउले लघुवित्तमा छिर्ने होइन,’ राष्ट्र बैंकका निर्देशक नेपालले भने,’लघुवित्तमा गरिबको नाममा छिरेर ठूलो लाभांश लिने र सेयरको भ्यालु अप्रिसेट गरेर क्यापिटल गेन खान्छु भन्ने जुन प्रवृत्ति छ।’

उनका अनुसार हाल १५ देखि २० प्रतिशत लघुवित्तमा ठूलो रकमको सेयर किनेर संचालकमा गएका खेलाडीहरु छन्। नेपालका अनुसार सेयर कम भएपछि कर्नरिङ गरेर कमाउने प्रवृत्ति छ।

तर, नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल राष्ट्र बैंकको भनाईप्रति विमति राख्छन्। उनी लघुवित्तमा आएको समस्या सेयर लगानीकर्ता नभई राष्ट्र बैंकको नीतिका कारण आएको बताउँछन्।

‘यो राष्ट्र बैंकको गलत नीतिका कारण समस्या आएको हो। यसमा सेयर लगानीकर्ताको कुनै दोष छैन। लघुवित्तहरुलाई राष्ट्र बैंकले मनलाग्दी न्यून पुँजीमा लाइसेन्स दिने अनि सेयर लगानीकर्तालाई दोष लगाउने ?’ लगानीकर्ता पौडेलले प्रश्न गर्दै भने,’लघुवित्तहरु च्याउ उम्रिएजस्तो राष्ट्र बैंकका कारण भएको हो। अस्वस्थ प्रतिस्पर्धा हुँदा त्यसको परिणाम अहिले सारा नेपालीले भोगिरहनु परेको छ।’

उनका अनुसार लघुवित्तले उदेश्य अनुसार सफल नभएपछि मर्जरमा लगिरहेका बेला कम पुँजीमा लाइसेन्स वितरण गरेर डिजास्टरमा पारेको हो।