BIZMANDU
www.bizmandu.com

चिसापानी अस्पताल विस्तार र स्तरोन्नति गरिँदै, चौधरी फाउण्डेसन र अस्पतालबीच सम्झौता

२०७९ फागुन ९

चिसापानी अस्पताल विस्तार र स्तरोन्नति गरिँदै, चौधरी फाउण्डेसन र अस्पतालबीच सम्झौता
चिसापानी अस्पताल विस्तार र स्तरोन्नति गरिँदै, चौधरी फाउण्डेसन र अस्पतालबीच सम्झौता


काठमाडौं। चिसापानी अस्पतालको विस्तारसँगै स्तरोन्नति गरिने भएको छ। यसका लागि मंगलबार चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

Tata
GBIME

नवलपरासीको बर्दघाट-२ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको बनाउन सेवा सुविधा विस्तार गरिने सहमति उक्त सम्झौतामा छ।

फाउण्डेसन र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपतकालीन र अन्य सेवाहरू सुनिश्चित गरिनेछ। सातवटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्, जसबाट बिरामीहरुले स्थानीय तहमै भरपर्दा स्वास्थ्य सेवा पाउनेछन्।

अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुनेछ। साथै शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर पनि स्थापना गरिने फाउण्डेसनले जनाएको छ। २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ।

यसैगरी ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र  अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ।

अस्पताललाई रेफरल अस्पतालका रुपमा विकास गर्नको लागि वित्तीय योजना तयार गर्ने पनि समझदारी भएको छ। अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ।

बर्दघाटमा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। सामान्य बिरामी हुँदा समेत यहाँका वासिन्दालाई उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था छ। यो अवस्थाको अन्त्यका लागि चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रुपमा विकास गर्न पहल लिएको फाउण्डेसनले जनाएको छ।   

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए।

चुनावी प्रतिबद्धता अनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न लागिएको फाउण्डेसनको भनाइ छ। चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिका, जनप्रतिनिधि, फाउण्डेसनका प्रतिनिधि, अस्पताल प्रशासन सबैको प्रतिनिधित्व रहने गरी समिति गठन हुनेछ। सम्झौता पत्रमा हस्ताक्षरपछि प्रतिक्रिया दिदै सांसद चौधरीले चिसापानी अस्पतालको विशेषज्ञसहितको सेवा प्रवाहले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

‘निर्वाचनका बेला हामीले यो अस्पताललाई विशेषज्ञसहितको सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थियौ । अब त्यसले साकार रुप लिन लागेको छ,’ उनले भने, ‘आगामी दिनमा यस अस्पतालको सेवालाई थप विशिष्टिकृत बनाउँदै लैजान म निरन्तर लागि नै रहनेछु।’