BIZMANDU
www.bizmandu.com

सरकारी सर्भरमा ह्याकरको आक्रमण कसरी सम्भव भयो ? प्रारम्भिक रिपोर्ट यस्तो छ

२०७९ फागुन ९

सरकारी सर्भरमा ह्याकरको आक्रमण कसरी सम्भव भयो ? प्रारम्भिक रिपोर्ट यस्तो छ
सरकारी सर्भरमा ह्याकरको आक्रमण कसरी सम्भव भयो ? प्रारम्भिक रिपोर्ट यस्तो छ

काठमाडौ। दुई साताअघि (माघ १४)  मा ह्‍याकरले एकैचोटि सरकारी सर्भरमा आक्रमण गरे। ह्‍याकरले अनधिकृत रूपमा सर्भरमा पस्न खोजेपछि सबै सरकारी वेबसाइट डाउन भए।

Tata
GBIME
Nepal Life

केवल नेपाल प्रहरीको साइटमा भने ह्‍याकरले आक्रमण गरेन। प्रहरीको आकलनमा ह्‍याकरले नसकेर होइन केवल पक्राउ पर्ने वा प्रहरीको चलाएको खण्डमा एक्सनमा जाला भन्ने डर मात्र भएको बुझाइ छ।

यसरी केही घण्टासम्म सर्भर नचल्दा विभिन्न समस्याहरू देखा परे। अध्यागमन विभागको वेबसाइटबाट ह्याकरहरूले अनधिकृत रुपमा सर्भरमा पहुँच गर्न खोजेका थिए। त्यही भएका कारण अधिकांश जीओभी डट कम डट एनपी अर्थात नेपाल सरकारका साइटहरू घण्टौंसम्म अवरुद्ध भए।

यही समस्याका कारण अध्यागमनको पनि सिस्टम डाउन भएर अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत अध्यागमन प्रणालीमा प्राविधिक समस्या आउँदा डेढ घण्टा अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका थियो। प्राविधिक समस्या आएका कारण अन्तर्राष्ट्रियतर्फ हुँदै आएको नियमित उडानमा एक घण्टाभन्दा बढी समय ढिला भएको थियो।

ह्‍याकर सर्भरमा पसे पनि डेटा तथा अन्य जानकारी नलगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। तर, सर्भरभित्र छिर्न सक्नेले कुनै समयमा केही क्षति नपुर्‍याउँला भन्ने देखिँदैन।

‘सर्भरभित्र पसेको देखिन्छ। तर, केही जानकारी लगेको भन्ने खुलेन, छिर्नेले नलग्ला भन्न चाहिँ सकिँदैन,’ एक उच्च प्रहरी अधिकृतले सुनाए।

राष्ट्रिय सूचना प्राविधिक केन्द्रले पनि घटनाको प्रारम्भिक अनुसन्धान गरेको थियो। अनुसन्धानमा सर्भर सुरक्षामा धेरै कमजोरी रहेको भेटिएको छ। घटनाको केही विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ। डेटा सेन्टर थप गर्नुपर्ने, प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति र सुरक्षित एप्लिकेसन राख्नुपर्ने सुझाव दिएको छ।

‘जनचेतनादेखि कर्मचारीमा दक्षता र सुरक्षित एप्लिकेसन बनाउनुपर्ने देखिएको छ,’ सञ्चार सूचना प्राविधक केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेल भने।

सोमबार पनि अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ। जसको प्रत्यक्ष असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा परेको छ। सवा दुई घण्टा सर्भरमा समस्या देखिएको थियो। सोमबारको समस्या अघिल्लो पटक ह्याकर छिरेको जस्तो नभएको अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेको दाबी छ।

‘सोमबार सर्भरमा समस्या नेटको कारणले आएको हो। ह्‍याक भएको भन्ने होइन,’ पाण्डेले भने।

सरकारी वेबसाइटमा देखिएको समस्याको अध्यान गर्न सूचना तथा सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोलाई पनि अनुसन्धानमा राखिएको छ। सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले यस घटनाको टोली बनाएर अनुसन्धान भएको बताए। मन्त्रालयको साइबर सेक्युरिटी युनिटलाई पनि अलर्ट गरिएको उनको दाबी छ।

‘त्यो समय अट्याक गरेको देखिएको छ। हामीले त्यसमा सम्बन्धित निकायहरूलाई परिचालन गरेका छौं,’ सहसचिव सुवेदीले भने।