BIZMANDU
www.bizmandu.com

चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गर्न २३ अर्ब लागत लाग्ने

२०७९ फागुन ९

चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गर्न २३ अर्ब लागत लाग्ने
चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गर्न २३ अर्ब लागत लाग्ने

काठमाडौं। उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरणका लागि उठेका माग सम्बोधन गर्न ठूलो खर्च लाग्ने देखिएको छ। अनुमानित २४ अर्ब लागत आउने हिसाब आयोजना कार्यान्वयन निर्देशनालयले निकालेको छ।

Tata
GBIME
Nepal Life

मेलम्चीको पानी हाल उपत्यकाको चक्रपथ भित्रका क्षेत्रमा वितरण भइरहेको छ। बाहिरका क्षेत्रबाट भइरहेको मागलाई सम्बोधन गर्न खानेपानी मन्त्रालय दबाबमा छ। त्यसैले निर्देशनालयले योजनाको खाका बनाएर लागतको हिसाब निकालेको हो।

योजनाअनुसार चक्रपथ बाहिर पाइपलाइन र त्यही खालको व्यवस्थापन मिलाइनु पर्छ। यस्तै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न १ हजार किलोमिटर नयाँ पाइपलाइन विस्तारको काम सम्पन्न भएको निर्देशनालयले जनाएको छ। पीआईडीका अनुसार पहिलो चरणमा एशियाली विकास बैंकको ऋण सहयोग तथा सरकारको लगानीमा काठमाडौं उपत्यकाको चक्रपथभित्रका अधिकांश क्षेत्रहरुमा १ हजार १० किलोमिटरभन्दा धेरै नयाँ पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको हो।

पीआईडीले उक्त वितरण संजाललाई विभिन्न ३२ मूख्य क्षेत्र र १६२ उप-क्षेत्रहरूमा विभाजन गरी पानी वितरण गर्ने पद्दति अपनाइएको बताएको छ। यी मध्ये करिव ५५० किलोमिटर पाइपलाइनको परीक्षण कार्य समेत सम्पन्न भइसकेको पीआईडीले जनाएको छ। सो मध्ये २७० किलोमिटर नयाँ पाइपलाइन मार्फत करिब १७ हजार धाराबाट पानी वितरण भई रहेको पीआईडीको भनाइ छ।

परीक्षण सम्पन्न भएको बाँकी २८० किलोमिटर पाइपलाइनबाट केहि दिनको अन्तरालमा पानी वितरण भइरहेको छ। मेलम्चीबाट १७ करोड लिटर पानी गत पुसदेखि पुन: सुचारु भएको थियो। त्यसपछि बाँकी पाइपलाइन परीक्षणको कार्य तीब्रताका साथ हुँदै आएको र यहि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको पीआईडीले बताएको छ।

यसैगरी पीआईडीका अनुसार दोस्रो चरणमा सरकारको आफ्नै श्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भु, बालुवाटार, महाराजगन्ज, धुम्बाराही आदि स्थानहरू र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिब ८०० किलोमिटर पाइपलाइन बिच्छ्याउने कार्य भइरहेको छ।

यस मध्ये हालसम्म करिब ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ। बाँकी पाइपलाइन आगामी आर्थिक वर्ष भित्र बिछ्याई परिक्षण कार्य सुरु गर्ने लक्ष्य रहेको पीआईडीले जनाएको छ। यस्तै सम्भव भएका स्थानहरुमा यी वितरण पाइपलाइनहरू सडक खन्नु नपर्ने प्रविधि (होराइजेन्टल ड्राइभ ड्रिलिङ) बाट बिछ्याउने कार्य भइरहेको छ।

नयाँ वितरण प्रणाली परिक्षण तथा वितरणमा देखिएका समस्या तथा चुनौतीहरू

नयाँ वितरण प्रणाली परिक्षण गर्ने क्रममा विभिन्न स्थानहरुमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण/मर्मत र विद्युत लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा समस्या भएका छन्।

यसले निर्देशनालयबाट बिछ्याइएका थोक तथा वितरण सञ्जालका पाइपलाइनमा क्षति भएको पाइएको छ। यसैगरी पानी परिक्षण तथा वितरण हुँदा यस्ता पाइपहरुबाट पानी चुहावट हुने गरेको पीआईडीले जनाएको छ।

यसरी क्षति भएका खानेपानी पाइलाइनको मर्मत कार्य सम्पन्न गर्न अतिरिक्त समय र श्रोत परिचालन गर्नु पर्ने अवस्था आएको पीआईडीको भनाइ छ।

काठमाडौं उपत्यकामा हाल नेपाल विद्युत प्राधिकरणबाट बिद्युत लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो रहेको कारणले बिछ्याइ सकिएको खानेपानीको पाइप तथा विद्युत लाइनलाई भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दुरी कायम हुन सकेको छैन।

त्यसैले भविष्यमा त्यस्ता स्थानमा आवश्यक मर्मत सम्भार गर्दा समन्वय तथा सावधानी अपनाउनु पर्ने देखिएको पीआईडीले जनाएको छ।