BIZMANDU
www.bizmandu.com

घूसको टेप प्रकरणसँगै थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ खोसियो, यस्तो छ कारण

२०७९ फागुन ८

घूसको टेप प्रकरणसँगै थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ खोसियो, यस्तो छ कारण
घूसको टेप प्रकरणसँगै थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ खोसियो, यस्तो छ कारण


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई घूस दिएको प्रकरणपछि विवादमा परेको थाइ स्माइलको सेल्फ ग्राउण्ड ह्यान्डलिङ रद्द गरेको छ।

Tata
GBIME
NLIC

घूस लेनदेनको टेप प्रकरण बाहिरिएपछि पर्यटनमन्त्री सुदन किरातीले महाप्रबन्धक ठाकुरलाई मन्त्रिस्तरीय बैठकबाट निलम्बन गरेका थिए। यही निलम्बनपछि प्राधिकरणले थाइ एयरवेजलाई दिँदै आएको सेवा रद्द गर्ने निर्णय गरेको हो। थाइ स्माइल थाइ एयरवेजकै सब्सिडरी कम्पनी हो।

प्राधिकरणले अनधिकृत रुपमा थाइ स्माइलका इन्जिनियरमार्फत हुँदै आएको मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि रोकेको छ।

‘थाइले सेल्फ ग्राउण्ड ह्‍याण्डलिङ भनेर इजाजत लिएको हो। पहिलैदेखि विभिन्न कम्पनीको जहाज चेकजाँच सेवा दिँदै आएको थियो। थाइ एयरवेज यहाँ चलुन्जेल कम्पनीले सेल्फ ग्राउण्ड ह्‍याण्डलिङ र इन्जिनियरिङ सेवामा सपोर्ट गर्दा यो विषय उठेको थिएन,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने,’तर, थाइ बन्द भए पनि ती सेवा संचालनमै रहेकाले बन्द गरिएको हो।’

थाइ स्माइलले उडान संचालन सेवा दिए पनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्‍याण्डलिङ सेवा रद्द गरिएको निरौलाले बताए।

‘जहाजको रजिष्ट्रेसन भएको मुलुकको नियामक निकायबाट पाएको अनुमति अनुसार मर्मतसम्भार गर्नुपर्ने हो। थाइ एयरवेजले आफ्नो भगिनी कम्पनी भनेर हामीलाई पत्राचार त गर्‍यो तर उताको नियमनकारी निकायबाट केही आधिकारिक इजाजत आउनुपर्ने हो,’ उनले भने,’फेरि साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउण्ड ह्‍याण्डलिङको जिम्मा दिइने प्रावधान छ।’

उनका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता एक करोड रुपैयाँ भन्दा बढी छ। कम्पनीले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको छ।

बन्द भएको कम्पनीबाट धमाधम एमआरओ सेवा हुँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको महानिर्देशक प्रदीप अधिकारीले बताए।   

‘थाइ बन्द भए पनि स्माइलले इन्जिनियरिङ र मेन्टिनेन्सको पनि सेवा दिँदै आएको छ,’ महानिर्देशक अधिकारीले भने,’यसको सट्टामा नेपाली वायुसेवा कम्पनीलाई दिन सेवा रोकेका हौं।’

थाइ एयरवेजको नियमित सेवा पुनः संचालनमा आएको अवस्थामा भने सेल्फ ग्राउण्ड ह्‍याण्डलिङ सेवा पुनः दिइने उनले जानकारी दिए।

‘हाम्रै लगानी भएको वायुसेवाले साताको ५० वटा उडान गर्दै आएको कम्पनीलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा कानुन अनुसार हिमालयले पाउनुपर्ने हो। थाइ एयरवेजलाई दिइएको यो जिम्मा त दशकौं अगाडिको हो,’ महानिर्देशक अधिकारीले भने।              

एमआरओ सेवा साम्रो, मर्करी, एरो सिस्टम, हिमालय एयरलाइन्सले दिँदै आएका छन्।