BIZMANDU
www.bizmandu.com

२ अर्बभन्दा बढी लगानीमा नख्खुमा एनसेलको इन्टिग्रेटेड डेटा सेन्टर, सुरक्षामा अत्याधुनिक प्रविधिको प्रयोग

२०७९ फागुन ७

२ अर्बभन्दा बढी लगानीमा नख्खुमा एनसेलको इन्टिग्रेटेड डेटा सेन्टर, सुरक्षामा अत्याधुनिक प्रविधिको प्रयोग
२ अर्बभन्दा बढी लगानीमा नख्खुमा एनसेलको इन्टिग्रेटेड डेटा सेन्टर, सुरक्षामा अत्याधुनिक प्रविधिको प्रयोग

काठमाडौं। एनसेलले २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको टियर-३ प्रविधियुक्त इन्टिग्रेटेड डेटा सेन्टर (आइडीसी) निर्माण गरेको छ। महत्वपूर्ण डेटा भण्डारणका लागि निकै क्रिटिकल मानिने भरपर्दो डेटा सेन्टर नेपालमा नहुँदा समस्या हुँदै आएको छ।

Tata
GBIME
Nepal Life

अझै टियर-३ भन्दा कम क्षमता तथा प्रविधिका डेटा सेन्टर प्रयोग हुँदा बारम्बार भइरहेका साइबर हमलादेखि डेटा सुरक्षामा गम्भीर असर पर्दै आएको छ। त्यसमाथि भूकम्पीय जोखिम अधिक भएको नेपालमा त्यसलाई थेग्न सक्ने डेटा सेन्टर नहुँदा डेटा सुरक्षामा प्रभाव पर्दै आएको थियो।

यही अवस्थालाई ध्यानमा राख्दै देशकै ठूलो दूरसंचार कम्पनी एनसेलले ललितपुरको नख्खुमा टियर ३ डेटा सेन्टर संचालनमा ल्याएको छ। निजी क्षेत्रले निर्माण गरेको यो डेटा सेन्टर देशकै ठूलो इन्टिग्रेटेड डेटा सेन्टरसमेत भएको एनसेलले जनाएको छ। एनसेलले सन् २०२१ मै यो अत्याधुनिक डेटा सेन्टर संचालनमा ल्याएको थियो।

एनसेलले करिब ३ वर्षमा डेटा सेन्टर निर्माण गरेको थियो। कोरोना महामारीका कारण डेटा सेन्टर निर्माणमा ढिलाइ हुन पुगेको थियो। नेपालमा ठूलो लगानीसहित डेटा सुरक्षामा भरपर्दो पूर्वाधार निर्माण गरेको एनसेलले टियर-३ प्रविधिको डेटा सेन्टर आफ्नो नख्खु कार्यालयमा स्थापना गरेको हो। चिनियाँ कम्पनी हुवावेको प्रविधि एनसेलको डेटा सेन्टरमा प्रयोग भएको छ।

यो सेन्टरमा पावर र कुलिङका लागि दुई छुट्टाछट्टै विकल्प हुन्छन्। डेटा सेन्टरलाई आवश्यक पावरका लागि एनसेलले विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडरमार्फत बिजुली किनिरहेको छ। यदि प्राधिकरणले वितरण गर्ने विजुलीमा कुनै समस्या आए त्यसको विकल्पमा ३० मिनेट धान्ने ब्याक्ट्री ब्याकअपका साथै जेनेरेटरको विकल्प रहेको एनसेलले जनाएको छ।

जेनेरेटरलाई आवश्यक डिजल भण्डारणका लागि एनसेलले डेटा सेन्टरस्थलमै २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरेको छ। यो इन्धनले डेटा सेन्टर सात दिनसम्म जेनेरेटरबाट चलाउन पुग्ने एनसेलले जनाएको छ।

यस्तै, कुलिङका लागि आवश्यक प्रणाली पनि एउटा नचल्दा अर्को चल्ने अटोमेटेड प्रविधि एनसेलको डेटा सेन्टरमा छ। यही कारण एनसेलको डेटा सेन्टरलाई टियर-३ भनिएको हो। एउटा नचल्दा अर्को विकल्प स्वचालितरुपमा चल्ने भएकाले एनसेलको डेटा सेन्टर अवरोधबिना नै संचालन हुने गरेको कम्पनीले जनाएको छ।

एनसेलको डेटा सेन्टर कन्टेनरयुक्त प्रिफ्याब्रिकेटेड संरचनामा निर्माण गरिएको छ। ९ रेक्टर स्केलसम्म भूकम्पको धक्का धान्न सक्ने एनसेलको यो डेटा सेन्टर २०७२ सालको गोरखा भूकम्पपछि निर्माण गरिएको थियो।

नेपाल भूकम्पीय जोखिम उच्च भएको देशमा पर्ने भएकाले एनसेलले त्यसैलाई ख्याल गर्दै डेटा सेन्टर निर्माण गरेको बताइएको छ। डेटा सेन्टरको सुरक्षालाई ध्यानमा राख्दै एनसेलले सीसीटीभी प्रणाली, एसेस कन्ट्रोल तथा डीसीआइएस प्रणाली जडान गरेको छ। डेटा सेन्टरमा २४ सै घण्टा साताको सातै दिन डेटा सेन्टरमा प्राविधिकहरु खट्ने कम्पनीले जनाएको छ।

कस्तो छ एनसेलको आइडीसी?

एनसेलको नख्खु डेटा सेन्टरमा डीसी क्षमता २५० र्‍याक छ। २२० भोल्टको एसी र्‍याकको संख्या ८८ छ भने ४८ भोल्टको डीसी र्‍याक १६२ रहेको कम्पनीले जनाएको छ।

एनसेलको डेटा सेन्टरको डिजाइन लोड २२५० किलोवाट छ। प्रत्येक र्‍याकको डिजाइन लोड ९ किलोवाट छ। एनसेलले विद्युत प्राधिकरणबाट कुल ४ मेगावाट विद्युत डेटा सेन्टर संचालनलाई खरिद गर्छ।

३ वटा डेटा हल रहेको एनसेलको डेटा सेन्टर दुई तलाको छ। डेटा सेन्टरमा आगलागीको जोखिमलाई मध्यनजगर गर्दै स्वचालित भीइएसडीए प्रणाली जडान गरिएको छ।

डेटा सेन्टरमा धुवाँ वा धुलोलाई पहिचान गर्न स्वचालित प्रणाली जोडिएको छ। धुवाँको डिटेक्सन आउने बित्तिकै साइटमा रहेका प्राविधिकले आगलागीको घटना निस्तेज पार्ने सक्ने एनसेलले जनाएको छ।

यदि आगलागीको ठूलो जोखिम आइपरे डेटा सेन्टरमा रहेका प्राविधिकहरुलाई सुरक्षितरुपमा बाहिर निस्कन अलार्मको व्यवस्था गरिएको छ। साथै आगलागी रोक्ने रसायनयुक्त ग्यास पनि डेटा सेन्टरमा राखिएको छ। यो ग्यास निल्दा पनि व्यक्तिको ज्यानलाई असर नपर्ने एनसेलको भनाइ छ।

डेटा सेन्टरमा अनधिकृत पहुँच नदिन एनसेलले म्याग्नेटिक कार्ड तथा पीनकोडयुक्त ढोका निर्माण गरेको छ। जोकोहीले डेटा सेन्टरमा प्रवेश गर्दा वा कार्ड तथा पिनकोड हालेर ढोका खोल्दा सबै विवरण एसएमएस तथा नोटिफिकेसनको रुपमा कन्ट्रोल रुमसम्म पुग्ने एनसेलले जनाएको छ। एनसेलले नख्खुमा निर्माण गरेको डेटा सेन्टरको आयु २५ वर्ष हो।

एनसेलको डेटा सेन्टर पछिल्लो समय इन्टरनेट सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि क्षेत्रका कम्पनीलगायतले उपयोग गरिरहेका छन्।

डेटा सेन्टरको व्यापार नेपालमा धेरै लामो नभएको भन्दै त्यसबाट सोचेअनुरुप लगानी उठाउन समय लाग्दै भन्दै एनसेल अहिले डेटा सेन्टर मार्केटिङमा आक्रामक बनिरहेको छ। ठूलो लगानी हुने भएकाले पनि प्रतिफल पाउन अझै केही समय लाग्ने बुझाइ एनसेलको छ।