BIZMANDU
www.bizmandu.com

पर्यटन बोर्डका सीइओले सार्वजनिक रुपमा अयोग्य घोषणा गरेका बोर्ड सदस्य को-को हुन् ?

२०७९ फागुन ७

पर्यटन बोर्डका सीइओले सार्वजनिक रुपमा अयोग्य घोषणा गरेका बोर्ड सदस्य को-को हुन् ?
पर्यटन बोर्डका सीइओले सार्वजनिक रुपमा अयोग्य घोषणा गरेका बोर्ड सदस्य को-को हुन् ?

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बोर्ड सदस्य अयोग्य रहेकै कारण योजना अनुरुप काम गर्न नसकेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले निजी क्षेत्रबाट नियुक्त भएका बोर्ड सदस्य परिवर्तन नभएमा आफू राजीनामा दिन तयार रहेको बताए।  

‘ओहो ! यो जागिर जान्छ भन्ने मलाई माया छैन। अहिलेको अवस्थामा बोर्ड सदस्य फेरिएन भने म राजीनामा दिन तयार छु,’ उनले भने,’ पाँच जनामध्ये एक जना पत्रकार छन्। वहाँले पर्यटनको ‘प’ पनि बुझ्नुभएको छैन। एकजना होटलमा जन्मनुभएको त्यसकारण पर्यटन व्यवसायी रे। तेस्रो सदस्य राजनीतिमा आबद्ध हुनुहुन्छ। उहाँले राज्यलाई वर्षमा दुई रुपैयाँ राजस्व तिर्नुहुँदैन।’

शुक्रबार आयोजित मन्त्रिस्तरीय कार्यक्रममा सीइओ रेग्मीले आपत्ति जनाउँदै बोर्डका सदस्यलाई लिएर गुनासो पोखेका हुन्। बोर्डमा आबद्ध सदस्यबाट उब्जिएको राजनीतिका कारण पर्यटन प्रवर्द्धन लक्षित काम कारवाही अगाडि बढाउन नसकिएको उनले जिकिर गरे। उनले सीइओले बोर्ड सदस्यको चाकडी गरेर बस्नुपर्ने अवस्था रहेको बताउँदै एउटा माइनुट लेख्‍न पनि बार्गेन गर्नुपर्ने अवस्था रहेको बताए।

‘आज पनि हामीले अन्तर्राष्ट्रिय अनलाइन प्लाटफर्ममार्फत बुकिङ गर्छौं। जसले गर्दा १३ प्रतिशत रकम विदेसिन्छ। सेन्ट्रल बिजनेस प्लेटफर्म बनाउन तीन करोड रुपैयाँ छट्याएको थिए। तर, कर्मचारी उचालिए। नकारात्मक सन्देश प्रवाह गरियो,’ उनले भनेका छन्,’७० प्रतिशत रकम पर्यटन प्रवर्द्धनमा खर्च गरौं भनें। तर, उहाँहरुले एक अर्ब ११ करोडको बजेट बनाउँदा २५ करोड रुपैयाँ प्रवर्द्धन र अरु मठमन्दिरमा राखिदिनुभयो।’

धनञ्जयले पोलेका बोर्ड सदस्य को हुन् ?

सार्वजनिक रुपमा सीइओ रेग्मीले पोलेका व्यक्ति कृष्ण शाह, चन्द्र रिजाल र मिलन देवकोटा हुन्। यी तीनै जना बोर्ड सदस्य रेग्मीका विरुद्धमा छन्।

देवकोटा बोर्ड सदस्य नियुक्त हुनुअघि अनलाइन मिडिया नेपाल प्रेसमा मार्केटिङमा काम गर्थिन्। नेपाल प्रेस युनियनमा रहेकी देवकोटा पर्यटनमन्त्री प्रेम आलेका पालामा नियुक्त भएकी हुन्। तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उनी सदस्य बनेकी हुन्।

शाह भने इलामका पर्यटन व्यवसायी हुन्। केही समय अघि शाहले पर्यटन बोर्डभित्रै आफू होटलमा जन्मिएको र आफ्ना सबै परिवार व्यवसायी रहेको जिकिर गरेका थिए। बोर्डमा अनौपचारिक रुपमा गरेको कुराकानीलाई लिएर सीइओ रेग्मीले सार्वजनिक मञ्चबाटै शाहविरुद्ध अभिव्यक्ति दिएका हुन्।

शाह भानुभक्त ढकाल पर्यटनमन्त्री रहेका बेला सदस्य नियुक्त भएका हुन्। रिजाल राजनीतिक पृष्ठभूमिका भए पनि होटल व्यवसायमा आबद्ध छन्। विदेशबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनैतिक हर्कत गरेपछि बनेको छानबिन समितिमा रिजाल संयोजक थिए। रिजालको संयोजकत्वमा बनेको समितिले उनलाई कारवाही गर्न सिफारिस गरिएको थियो। त्यो सिफारिसपछि रेग्मी रिजालप्रति आक्रामक छन्।