BIZMANDU
www.bizmandu.com

नागढुंगा-नौबिसे सुरुङमार्गमा मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत पुग्यो, ६ सय जनाले गर्दैछन् काम

२०७९ फागुन ५

नागढुंगा-नौबिसे सुरुङमार्गमा मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत पुग्यो, ६ सय जनाले गर्दैछन् काम
नागढुंगा-नौबिसे सुरुङमार्गमा मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत पुग्यो, ६ सय जनाले गर्दैछन् काम

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत सकिएको छ।

Tata
GBIME
Nepal Life

नागढुंगा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको हालसम्मको प्रगति विवरण अनुसार शुक्रबारसम्म इभ्याकुएसन र मुख्य सुरुङ गरी ४ हजार ८३ मिटर मुख्य सुरुङ खन्ने काम पुरा भएको छ। आयोजनाले यसको प्रगति विवरण हरेका महिना सार्वजनिक गर्ने गरेको छ।

काठमाडौंतर्फ मुख्य सुरुङ ८७१.८० मिटर र इभ्याकुएसन १११३ मिटर पुरा भएको आयोजनाले जनाएको छ। धादिङतर्फ ९४१.२० मिटर मुख्य र ९५६.६० मिटर इभ्याकुएसन टनेल खन्ने काम पूरा भएको छ। धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ।

इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।

सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको आयोजनाले जनाएको छ। उक्त प्रगति विवरण अनुसार फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम ३४.४० प्रतिशत अर्थात ९६७.४० मिटर सकिएको छ। आयोजनाले हरेक महिना यसको काम १ सय मिटर पुरा गर्ने गरेको छ। यो फिनिसिङ लाइनिङको काम पुरा भएको स्थानमा गाडी संचालन गर्ने सकिने आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार अहिले टनेलको भित्रका कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ। मुख्य सुरुङको काम फिनिसिङ भइरहेको छ। दुवैतिर गरी करिब ६ सय जनाले काम गरिरहेका छन्।

सुरुङमार्ग बाहिर एप्रोच सडक निर्माणको काम भइरहेको छ। काठमाडौंतिर ओभर पास निर्माण सकिएको छ। बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ। मुआब्जा वितरण कार्य लगभग अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

४४ महिनामा यो आयोजना सक्ने गरी २०७६ कात्तिकबाट काम सुरु भएको थियो। जसको आधा अवधि (३९ महिना) बितेको छ। अब सम्झौता अनुासर ५ महिना बाकी रहेको छ। काम सुरु गरेको हिसाबले ८० प्रतिशत अवधिभन्दा धेरै समय सकिएको छ। प्रगतिको हिसाबले भौतिक प्रगति आधा जति पनि भएको छैन।

आयोजनाको म्याद एक वर्ष थपिएको छ। आयोजनाको हालसम्म सम्पूर्ण भौतिक प्रगति ४९.०३ प्रतिशत मात्र सकिएको अवस्था छ। यस्तै आर्थिक खर्च ५३.९५ प्रतिशत अर्थात लगभग ११ अर्ब रुपैयाँ सकिएको छ। यस्तै माटो भर्ने काम ६९.४० प्रतिशत र पहँच मार्ग निर्माण ७८.७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ।

नेपालमै पहिलोपटक निर्माण भइरहेको यो आधुनिक सडक सुरुङमार्ग २.७ किलोमिटरको हुनेछ। काठमाडौतिरको पोर्टल चन्द्रागिरि नगरपालिका-१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा हुनेछ।

जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब रुपैयाँमा लागत रहने अनुमानसहित यो सुरुङमार्ग निर्माण भइरहेको हो। निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले पाएको छ। सुरुङमार्ग निर्माणमा जापानी प्राविधिकसँगै नेपाली पनि खटिएका छन्।

बलम्बुमा निर्माण हुने फ्लाइओभर निर्माणको काम पनि सुरु गरिएको छ। यसका लागि जग्गा अधिग्रहण गर्नुपर्ने थियो। उक्त जग्गाको मुआब्जा रकम १ अर्ब १४ करोड रुपैयाँ रहेकोमा बजेटको स्रोत सुनिश्चितता भएर वितरण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। यस्तै फ्लाइओभरको लागि ४ वटा फाउन्डेसन निर्माण गर्ने काम सम्पन्न भएको छ।

आयोजनाका अनुसार आगामी साउनभित्र यस मुख्य सुरुङमार्गमा गाडी कुदाउन मिल्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। अहिले भइरहेको काम जसरी कुनै रोकावटविना काम भएमा साउनमा सुरुङमा गाडी कुदाउन सकिने आयोजनाले जनाएको छ।