BIZMANDU
www.bizmandu.com

लुम्बिनीमा मन्त्रालयका भवन निर्माण सुरु, ३ अर्ब लागतमा व्यवस्थित संरचना बन्ने

२०७९ फागुन ४

लुम्बिनीमा मन्त्रालयका भवन निर्माण सुरु, ३ अर्ब लागतमा व्यवस्थित संरचना बन्ने
लुम्बिनीमा मन्त्रालयका भवन निर्माण सुरु, ३ अर्ब लागतमा व्यवस्थित संरचना बन्ने

बुटवल। लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा नदी सभ्यतामा आधारित व्यवस्थित संरचना निर्माणको गुरुयोजना अनुरुप नयाँ आधुनिक संरचनाको निर्माण कार्य सुरु भएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको मुख्य प्रशासनिक भवनसहित नौ वटा मन्त्रालयका नयाँ भवन बनाउन सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

प्रदेशको स्थापना दिवसका अवसर पारेर बुधवार मुख्यमन्त्री लिला गिरीले उक्त संरचनाको शिलान्यास गरेका छन्। मण्डला आकारमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयका आधुनिक भवनहरुको एक साथ निर्माण हुनेछ।

ती सबै कामको एकसाथ शिलान्यास भएको छ। प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाई मार्फत संरचनाहरु निर्माण हुनेछन्।

तीन अर्बको लागत, २०८२ पुसमा सम्पन्न हुने

तीन अर्ब ९ करोड २९ लाख ३८ रुपैयाँ ७२ पैसाको लागतमा सुविधा सम्पन्न मन्त्रालय भवन निर्माण गरिने प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन बेसमेन्टसहित छ तलाको बन्ने छ। भुई तला मात्रै करिब १४ सय वर्ग मिटरको रहने छ।

लिफ्टसहित अपांगमैत्री भवन निर्माण हुने खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ। अन्य मन्त्रालय भवन पाँच तलाको हुनेछ। त्यहाँ पनि अण्डरग्राउण्ड पार्किङ र लिफ्ट जडान गरिने छ। प्रयाप्त पार्किङ र हरियाली जोन रहने छ।

आयोजना कार्यान्वयनलाई गति प्रदान गर्ने योजना सरकारको छ। मन्त्रालयको भवन निर्माण गर्न बजेटको कुनै अभाव नहुने खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले बताए।

‘समयमा काम सम्पन्न हुनेछ। बजेटको कुनै अभाव हुने छैन’, उनले भने, ‘राजधानी कार्यान्वयन नमुनाको रूपमा अघि बढेको छ।’

मन्त्रालय निर्माणको जिम्मेवारी शर्मा/सगुन जेभी, सीतापाइला काठमाडौंले लिएको छ। निर्माण कम्पनीका प्रतिनिधि शौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्रालय भएकै क्षेत्र भित्रको खाली जग्गामा नयाँ प्रशासनिक भवन बनाउने काम अघि बढेको हो।

१७ बिघा १९ कट्ठा ४ धुर जग्गामा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ। २०७७ असोज २० मा प्रदेशसभाको दुई तिहाइ बहुमतले राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी तोक्ने निर्णय गरेको थियो। राजधानी कार्यान्वयनमा हालसम्म बनेको तीनवटै सरकारले प्राथमिकता राखेर काम गरेका छन्।

यस्तै विभिन्न मन्त्रालयका प्रशासनिक भवनहरु ९ वटा बन्ने छन्। बेसमेन्ट सहित ती सबै मन्त्रालयका भवन ५ तलाका रहनेछन्। यी सबै भवनहरु लिफ्टसहितका अपांगमैत्री रहनेछन्।

राजधानी व्यवस्थापनको चरण प्रारम्भ भयो : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले प्रदेशको राजधानी व्यवस्थापनको चरण प्रारम्भ भएको बताएका छन्। संघीयता कार्यान्वयन गर्न प्रदेशको संरचना बलियो हुनुपर्ने र लुम्बिनीबाट उदाहरणीय कामको सुरुवात भएको मुख्यमन्त्री गिरीले बताए।

प्रदेश सरकारका प्रशासनिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले भने, ‘राजधानी व्यवस्थापनको चरणको प्रारम्भ भएको छ। सरकारले प्रशासनिक भवन निर्माण कार्यको प्रारम्भ गरेको छ। यो कार्यलाई समयमै सम्पन्न गर्नेछौं।’

राजधानीको निर्णय कार्यान्वयनका क्रममा सरकारले थुप्रै समस्या व्यहोरेको बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘राजधानीको निर्णय कार्यान्वयन गर्न स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट कार्य प्रारम्भ गरेका छौं। शून्यबाट प्रारम्भ भएको राजधानी व्यवस्थापनको कार्यले मूर्तता पाउँदै छ। आज प्रशासनिक भवनको शिलान्यास गरिएको छ। चुनौतीलाई अवसरका रुपमा लिएर सरकार अगाडि बढेको छ।’

अन्य प्रदेशको तुलनामा लुम्बिनीले आफ्नै प्रशासनिक केन्द्र निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले तोकिएको समयमै निर्माण सक्न निर्देशन दिए।

‘आफ्नै भवनमा प्रदेशको प्रशासनिक केन्द्र हुनेछ। हामी अन्य प्रदेशको तुलनामा अगाडि छौँ’, उनले भने, ‘संघीयतालाई जनतासँग जोड्न प्रशासनिक केन्द्रले महत्वपूर्ण योगदान गर्नेछ।’