BIZMANDU
www.bizmandu.com

फ्लाइओभर निर्माणका कारण दुई घण्टामा पनि ग्वार्को कट्न गाह्रो, अब कोटेश्वरबाटै सवारीसाधन ‘डाइभर्ट’

२०७९ फागुन २

फ्लाइओभर निर्माणका कारण दुई घण्टामा पनि ग्वार्को कट्न गाह्रो, अब कोटेश्वरबाटै सवारीसाधन ‘डाइभर्ट’
फ्लाइओभर निर्माणका कारण दुई घण्टामा पनि ग्वार्को कट्न गाह्रो, अब कोटेश्वरबाटै सवारीसाधन ‘डाइभर्ट’


काठमाडौं। ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) भएको छ।

Tata
GBIME
Nepal Life

कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। केही दिनयता सवारीसाधन दुई घण्टासम्म रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

सडक विभागले चार लेन सडकको बीचमा निर्माण सुरु गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ। हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई/दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेको प्रवक्ता भट्टले जानकारी दिए। अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सवारीसाधन चलिरहेका छन्। ‘फ्लाई ओभर’को निर्माण सकिन एक डेढ वर्ष लाग्ने र तबसम्म उक्त रुटमा चल्ने सवारीसाधनले विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारीसाधन बालकुमारी पुलको बाटो नभइ जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्ने उनको भनाइ छ।

‘लुभू, इमाडोल जानेहरु यही सडकको प्रयोग गर्न सक्छन्’, उनले भने, ‘यसो गर्दा सडकमा ट्राफिक जाम कम पनि हुन्छ।’

निर्माण सुरु भएपछि सोही सडकमा सबै गाडी गुडाउँदा समस्या हुने भएपछि सवारीसाधन व्यवस्थापनका लागि डाइभर्ट गर्नुपर्ने सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीको भनाइ छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘फ्लाइओभर’को उचाइ ६ मिटर हुने गरि निर्माण सुरु गरिएको छ। फ्लाइओभरमा पुग्न बालकुमारीबाट चार प्रतिशतको ग्रेडमा चढ्नुपर्नेछ। बालकुमारीतर्फ २८० मिटर र सातादोबाटोतर्फ १७५ मिटर लम्बाइको ‘र्‍याम्प’ हुनेछ। ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाइओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ।

मंगलबजारबाट इमाडोल वा इमाडोलबाट मंगलबजार तर्फ जाने सवारी साधन पुलमुनिबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारीसाधन चल्नेछन्।

फ्लाइओभर निर्माणका लागि गत वर्ष फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो। फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँ खर्च हुनेछ।