BIZMANDU
www.bizmandu.com

भ्यालेन्टाइन डेलाई मुद्रास्फीतिको चापः फूल, चकलेट, रेष्टुरेन्टका परिकार सबै महँगा

२०७९ फागुन २

भ्यालेन्टाइन डेलाई मुद्रास्फीतिको चापः फूल, चकलेट, रेष्टुरेन्टका परिकार सबै महँगा
भ्यालेन्टाइन डेलाई मुद्रास्फीतिको चापः फूल, चकलेट, रेष्टुरेन्टका परिकार सबै महँगा

काठमाडौं। फूलदेखि चकलेट र रेस्टुरेन्टहरूमा खानेकुराका मेनुको मूल्य बढेको यो वर्षको प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे फरक मात्रै छैन, महँगो पनि भएको छ।

Tata
GBIME
Nepal Life

कोरोना महामारीले खल्बलिएको आपूर्ति शृंखला तथा रूस-युक्रेनबीच चलिरहेको युद्धका कारण विश्व अर्थतन्त्र नै संकटमा छ। त्यसको बाछिटा नेपालको अर्थतन्त्रमा पनि गम्भीर रूपमा परेको छ।

फलस्वरूप, नेपालमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.२६ प्रतिशत छ। महंगीको दर घट्दो देखिए पनि मुद्रास्फीतिले सबैतिरबाट सर्वसाधारणको गोजीमा खर्चको भार बढेको छ। आम्दानी र खर्चको सन्तुलन मिलाउन गाह्रो पारेको छ। गत वर्षको मुद्रास्फीति ५.६५ प्रतिशत थियो।

मुद्रास्फीतिका कारण नेपालीले गत वर्षको तुलनामा यो वर्ष खाद्यान्नसँगै विविध प्रकारका उपभोग्य वस्तु तथा सेवामा उच्च मूल्य भुक्तान गरिरहेका छन्। गुलाबको फूल, चकलेट, बेकरीका परिकार, रेस्टुरेन्टका खाना मात्रै महँगिएको छैन, सिनेमाघर र यात्रा टिकट पनि महँगिएका छन्।

बिस्कुट र कन्फेक्स्नरी प्रोडक्टहरु ६ महिना अघिदेखि नै महँगिएका छन्। दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धिले सर्वसाधारणको भान्सामै खर्चको लागत बढाउँदा प्रणय दिवस अझ महँगो पर्ने देखिएको छ।

प्रणय दिवस मनाउनेहरु घुमघाम र खानपानमा बाहिर निस्कन्छन्। फूड डेलिभरी एजेन्सीहरुलाई अर्डर गरेर उनीहरु घरमै खानेकुरा मगाउन कम गर्छन्, आफैं रेष्टुरेन्ट पुग्छन्। यसरी पुग्ने जोडीले रेस्टुरेन्टकै मेनुबाट बढेको मूल्य देख्‍न सक्छन्।

नेपाल राष्ट्र बैंकले गत पुसमा सार्वजनिक गरेको तथ्यांक अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत छ। त्यस्तै, खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।

नतिजाको रूपमा, रोमान्टिक भ्यालेन्टाइन डिनरमा बढी खर्च हुनेछ र रेस्टुरेन्टहरूले ग्राहकहरूलाई आकर्षित गर्न आफ्नो अफरहरू परिमार्जन गर्दैछन्।

रेस्टुरेन्टले ग्राहकसँग अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए। राष्ट्रिय उपभोक्ता मञ्चले हालेको रिटमा सर्वोच्च अदालतले गत माघ १० उक्त शुल्क लिन नपाइने फैसला गरेको थियो। तर, होटल-रेष्टुरेन्टले कामदार-कर्मचारीको पारिश्रमिकमै असर पर्ने भन्दै उक्त शुल्क लिन बन्द गरेन। बरु छुट्टै सेवा शुल्क शीर्षकको साटो खानेकुराको मेनुमै १० प्रतिशत जोडेर लिन सुरु गरेका छन्।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसनका उपाध्यक्ष संघर्ष विष्टका अनुसार अदालतको फैसलापछि रेस्टुरेन्टका सेवामा लिदै आएको १० प्रतिशत सेवा शुल्क बराबरको मूल्य मेनुमै समाहित छ। जोडिएको उक्त शुल्कसँगै मुद्रास्फीतिका कारण रेस्टुरेन्ट मेनुमा भएको मूल्यवृद्धिले यस वर्षको भ्यालेन्टाइन डे डिनर/लन्च महँगो हुने विष्ट बताउँछन्।

‘उच्च मुद्रास्फीति हुँदाहुँदै पनि हामीले रेस्टुरेन्ट मेनुमा केवल ५ प्रतिशतसम्म मात्र मूल्य बढाएका छौं। तर, सर्वोच्च अदालतले १० प्रतिशत सेवा शुल्क खारेज गर्ने फैसला गरेपछि त्यो मूल्य पनि मेनुको मूल्यमा नै जोडिएको छ,’ उनले भने, ‘त्यसैले पनि मेनुको मूल्य धेरै महँगो देखिन पुगेको हो।’

रेस्टुरेन्ट तथा होटेलहरूले भ्यालेन्टाइन डेको लागि ल्याउने अफरहरूको मूल्य पनि गत वर्षको भन्दा १० प्रतिशतसम्मले महँगिएको छ। कतिपय रेस्टुरेन्टहरूले गत वर्षको नै अफर दोहोर्‍याए पनि सोही अफरमा एक हजार रुपैयाँसम्म बढाएका छन्।

रेस्टुरेन्ट हेरिहेरि प्रेमिल जोडीहरूका लागि दुई हजारदेखि १५ हजार रुपैयाँसम्म भ्यालेन्टाइन डे अफरहरू ल्याएका छन्। जसले यस पटकको प्रेम दिवसमा रेष्टुरेन्टमा खाना खाँदा गत वर्षको तुलनामा बढी खर्च हुनेछ।

यस बाहेक, भ्यालेन्टाइन डेटसँग सम्बन्धित अन्य खर्चहरू, फूल, चकलेट र सिनेमा टिकटदेखि घुम्न जनाको लागि यातायात खर्चसम्म, सबैको मूल्य बढेको छ। मोन्डेलेज, नेस्ले जस्ता कम्पनीले चकलेटको मूल्य १०.४ प्रतिशतसम्म वृद्धि गरेका छन्।

त्यस्तै, यस वर्ष उपभोक्ताले गुणस्तर अनुसार गुलाबको फूल प्रतिस्टिम ८० देखि १ सय २० रुपैयाँसम्म मूल्य तिरेर खरिद गरिरहेका छन्। गत वर्ष नेपालमा यसको उपभोक्ता मूल्य ८० देखि १०० रुपैयाँसम्म थियो। फूलको मूल्य गत वर्षको भन्दा २० रुपैयाँले बढेको छ।

प्रेम दिवस अवधिभर झण्डै २ करोड ८० लाख रुपैयाँसम्मको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ। गत वर्ष भने २ लाख ७ हजार स्टिम गुलाबको कारोबार भएको थियो।