BIZMANDU
www.bizmandu.com

नागढुंगा-नौबिसे खण्ड विस्तारः उपत्यका आवागमनमा साना गाडीलाई धार्के-सितापाइलाको विकल्प

२०७९ फागुन १

नागढुंगा-नौबिसे खण्ड विस्तारः उपत्यका आवागमनमा साना गाडीलाई धार्के-सितापाइलाको विकल्प
नागढुंगा-नौबिसे खण्ड विस्तारः उपत्यका आवागमनमा साना गाडीलाई धार्के-सितापाइलाको विकल्प

काठमाडौं। नागढुंगा-नौबिसे सडकको विकल्पमा रहेको सितापाइला-धार्के सडकको कालोपत्रे गर्ने काम सुरु हुने भएको छ। यसका लागि तयारी भइरहेको सडक डिभिजन काठमाडौंले जनाएको छ।

Tata
GBIME
Nepal Life

डिभिजन प्रमुख नारायण निहुरेले तयारी पुरा भएकाले छिटै कालोपत्रे हुने बताएका छन्। उनका अनुसार सितापाइलाबाट जाने सडक कालोपत्रे गर्ने काम अर्को हप्तादेखि सुरु हुनेछ। सितापाइलाबाट ५ किलोमिटर सडक खण्ड एक वर्षअघि नै कालोपत्रे भइसकेको छ। अब ५ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको निहुरेले बताए।

उनका अनुसार काठमाडौं सडक डिभिजन अन्तर्गत सितापाइलाबाट ठूलो खोलासम्मको १० किलोमिटर मात्र सडक निर्माणको जिम्मेवारी थियो। ‘यो सडक खण्ड निर्माणको सबै काम एक महिनाभित्र पुरा गर्नेगरी काम भइरहेको छ,’ उनले भने।

विस्तारका काम सबै सम्पन्न भएर ठूलो खोलाको नजिक थोरै मात्र बाँकी रहेको उनले बताए। ‘यता कालोपत्रे गर्दा त्यहाँको विस्तार गर्ने काम पनि सकिन्छ। त्यस क्षेत्रमा वालहरु लगाउने काम भइरहेका छन्,’ उनले भने।

यो सडक निर्माणको योजनाअन्तर्गत अन्तिम चरणको काम भइरहेको छ। केही कल्भर्ट निर्माण भइरहेका छन्। उनका अनुसार रामकोटदेखि नर्सरी बगैंचा हुँदै अगाडि बेस र सब बेसहरु राख्‍ने काम भइरहेको छ। एक हप्तापछि डीबीएम अर्थात कालोपत्रे गर्नुभन्दा अगाडिको पहिलो लियर राख्‍ने काम हुनेछ।

ठूलोखोलाबाट धार्केसम्मको सडक विस्तारको काम नुवाकोट सडक डिभिजनले हेरिरहेको छ। यसको पनि ठेक्का लागेर राम्रोसँग काम भइरहेको नुवाकोट डिभिजनका प्रमुख अमृतमणि रिमालले बताए।

उनका अनुसार हाल धार्केदेखिको ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम पुरा भइसकेको छ। ‘यो हाम्रो खण्ड १४ किलोमिटर मात्र हो,’ उनले भने, ‘यसमा धार्केबाट ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।’ बाँकी ११ किलोमिटर सडकमा अहिले धमाधम काम भइरहेको रिमाल बताउँछन्। यसमा स्ट्रक्चर निर्माण, ड्रेन ढलान, सबग्रेड गर्ने काम भइरहेको छ।

‘लगभग ४ किलोमिटरमा सबग्रेड अर्थात ग्राबेल गर्नुभन्दा अगाडिको काम सकिएको छ। जसलाई कालोपत्रे गर्न भन्दा अगाडिको अवस्था मानिन्छ,’ रिमालले भने।

धार्केबाट १ घन्टामा काठमाडौं पुग्न सकिने

नागढुंगा-मुग्लिन सडक विस्तारको काम सुरु भएको छ। यो विस्तारको क्रममा केही समस्या आएमा साना गाडीहरु धार्के-सितापाइला हुँदै काठमाडौं आउजाउ गर्न सक्ने रिमालले बताए।  

‘यो सडक हुँदै साना गाडी लिएर ढुक्कसँग यात्रा गर्न सकिन्छ,’ उनले भने, ‘साना गाडीहरुका बीचमा कुनै पनि समस्या छैन।’ तर, नागढुंगा-नौबिसे खण्ड विस्तार गर्दा अहिलेसम्म त्यस्तो जामको समस्या नदेखिएको उनको भनाइ छ। विस्तारको काम चलिरहँदा सवारी आवागमन पनि रोकिएको छैन।

‘अहिलेको बाटो अवस्था अनुसार धार्केबाट काठमाडौं पुग्न १ घन्टाको समय लाग्छ,’ उनले भने, ‘तर, यो बाटो हुँदै यात्रा गर्ने गाडीको संख्या बढेमा भने जाम हुन सक्ने अवस्था नआउला भन्न सकिन्न। हाम्रो निर्माण कार्यले केही कुरामा असहज हुन सक्छ।’

रिमालका अनुसार धार्केबाट ठूलोखोलासम्म मात्र बाटो निर्माण ढिला ठेक्का लागेका कारण समयमा सम्पन्न गर्न नसकिएको हो। तर, ठूलोखोलादेखि सितापाइलासम्म भने निर्माणको काम पुरा हुन लागेको रिमाल बताउँछन्।

रिमालका अनुसार यो सडकमा असारसम्ममा सबै कालोपत्रे सम्पन्न गरेर सरर गाडी कुदाउन सकिने गरी काम भइरहेको छ। ‘यो दसैंसम्म ४ किलोमिटर सडक कालोपत्रे हुनेछन्। बाँकी ७ किलोमिटर सडक असारसम्म कालोपत्रे गरिने छ,’ उनले भने।

यो सडकमा पनि ४ वटा पुल निर्माण गर्नुपर्ने छ। उनका अनुसार यो पुल वर्षाको समयमा मात्र प्रयोगमा आउनेछन्। ‘अहिले पुल बिना गाडी चलाउन सकिन्छ। पुल नहुँदा त्यस्तो समस्या केही छैन,’ उनले भने।

यो सडक विस्तार गर्न गत साउनमा ३३ करोडमा ठेक्का लागेको थियो। यसको काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई एक वर्षको म्याद दिइएको थियो।

रिमालका अनुसार यस आयोजनामा बाँकी रहेको सडक निर्माण तथा कालोपत्रे गर्न भीमेश्वर सगुन कन्स्ट्रक्सन कम्पनीसँग एक वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो। त्यही अनुसार निर्माण कम्पनीले काम गरिरहेको छ।