BIZMANDU
www.bizmandu.com

उत्तर कोरियालीहरुले झन्डै २ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरे, आणविक हतियारमा लगानी गर्दै

२०७९ माघ २६

उत्तर कोरियालीहरुले झन्डै २ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरे, आणविक हतियारमा लगानी गर्दै
उत्तर कोरियालीहरुले झन्डै २ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरे, आणविक हतियारमा लगानी गर्दै

उत्तर कोरिया-समर्थित ह्याकरहरूले २०२२ मा करिब २ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्। ब्लकचेन विश्लेषण फर्म चेनालिसिसका अनुसार उनीहरुले कुल एक अर्ब ७० करोड डलर बराबरको क्रिप्टो चोरी गरिसकेका छन्।

Tata
GBIME
Nepal Life

ह्याकरहरूले अघिल्लो वर्षको रेकर्डलाई झन्डै चार गुणाले उछिनेका हुन्। उत्तर कोरियाली क्रिप्टोकरेन्सी ह्याकरहरूले २०२१ मा ४२ करोड ९० लाख डलर बराबर चारेका थिए।।

२०२२ मा भएको क्रिप्टो लुटको कुल ४४ प्रतिशत उत्तर कोरियाली ह्याकरहरूले चोरेका हुन्। गत वर्ष कुल ३ अर्ब ८० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याकरहरूद्वारा चोरी भएको थियो। जसलाई चेनालिसिसले क्रिप्टो ह्याकिङको लागि सबैभन्दा ठूलो वर्ष भनेको छ।

विज्ञहरुका अनुसार उत्तर कोरियाली ह्याकरहरूको चोरी आणविक हतियार लगानीको मुख्य स्रोत भएको छ। जसका लागि मुलुकले चर्को आलोचना पनि सामना गरिरहेको छ। संघर्षरत अर्थतन्त्रका बावजुद उत्तर कोरियाले हालसम्म ६ वटा आणविक परीक्षणहरू गरिसकेको छ। विश्लेषकहरूले यो वर्ष सातौं परीक्षण हुने अपेक्षा गरेका छन्। 

चेनालिसिसले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले २०२० मा उत्तर कोरियाको कुल निर्यात १४ करोड २० लाख डलर मात्र रहेको र क्रिप्टोकरेन्सी ह्याकिङ राष्ट्रको अर्थतन्त्रमा ठूलो हिस्सा बन्दै गएको टिप्पणी गरेको छ।

ह्याकरहरूले सामान्यतया “मिक्सर” मार्फत क्रिप्टो लण्डरिङ गर्ने गरेका छन्। यसले विभिन्न प्रयोगकर्ताहरूबाट क्रिप्टोकरेन्सी मिसाएर त्यसको उत्पत्तिलाई अस्पष्ट पार्ने काम गर्छ।

मिक्सर एउटा यस्तो सफ्टवेयर हो जसले धेरै प्रयोगकर्ताहरूबाट क्रिप्टोकरेन्सी लिन्छ र तिनीहरूलाई मिक्स गर्छ। जस कारण कसले कति पठाभयो भनेर पहिचान गर्न सकिँदैन। त्यसपछि मात्र क्रिप्टोलाई तिनीहरूको सही गन्तव्यहरूमा पठाउने गरिन्छ।

अन्य विज्ञहरू उत्तर कोरियाले चीनका दलालहरू र नन-फन्जिबल टोकन्स (एनएफटिज) मार्फत क्रिप्टो लण्डरिङ गर्ने गरेको बताउँछन्। गत महिना, एफबीआईले उत्तर कोरियासँग सम्बद्ध रहेको एक समूहले  गत वर्ष होराइजन ब्रिज भनिने ब्लकचेन नेटवर्कबाट १० करोड डलर क्रिप्टो चोरी गरेको पुष्टि गरेको थियो।

डिसेन्ट्रलाइज्ड फाइनान्स प्रोटोकल (डेफी) मार्फत् २०२२ मा ८२ प्रतिशतभन्दा बढी क्रिप्टोकरेन्सी चोरी भएको चेनालिसिसको रिपोर्टले औल्याएको छ। डेफी उधारो दिन वा लिन, डेरिभेटिभहरू प्रयोग गरेर सेयरमा सट्टेबाजी गर्न, क्रिप्टोकरेन्सीहरू व्यापार, बीमा र बचत-जस्तै खाताहरूमा ब्याज कमाउने सुविधा दिन्छ।

स्मार्ट कन्ट्रयाक्ट कोडद्वारा सो प्लेटफर्मले ब्लकचेनमा ब्रोकरेज, एक्सचेन्ज वा बैंक जस्ता मध्यस्थहरू विनानै वित्तीय उपकरणहरू प्रदान गर्छ। डेफीका प्रोटोकलहरू स्मार्ट कन्ट्रयाक्ट कोडद्वारा निर्धारित हुन्छन्। जुन सार्वजनिक पहुँचमै हुने गर्छ। यस कारण पनि डेफीका प्रयोगकर्ताहरूलाई उनीहरूको लगानी के हुँदैछ भन्ने पूर्व जानकारी हुन्छ।

प्रतिवेदनका अनुसार यही पारदर्शिता ह्याकरहरू माझ विशेष आकर्षणमा पर्छ। उनीहरुले कमजोरी कोडहरू स्क्यान गर्छन्। र, सहि समय यस्ता कोडहरुमा आक्रमणद्वारा उनीहरूको लुट अधिकतम हुने गरेको छ।