BIZMANDU
www.bizmandu.com

युनिलिभर, बोटलर्सजस्ता आकर्षक कम्पनीमा ठूला लगानीकर्ताको मात्रै होल्ड, स्टक स्प्लिट कहिले ?

२०७९ माघ २६

युनिलिभर, बोटलर्सजस्ता आकर्षक कम्पनीमा ठूला लगानीकर्ताको मात्रै होल्ड, स्टक स्प्लिट कहिले ?
युनिलिभर, बोटलर्सजस्ता आकर्षक कम्पनीमा ठूला लगानीकर्ताको मात्रै होल्ड, स्टक स्प्लिट कहिले ?

काठमाडौं। नियामकीय व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास अनुसार परिमार्जन हुन नसक्दा स्टक स्प्लिटको अवधारणा हालसम्म नेपाली पुँजीबजारमा कार्यान्वयन हुन सकेको छैन। करिब एक दशकको अवधि बितिसक्दा पनि यस बारे कुनै पक्षको चासो देखिँदैन। 

Tata
GBIME
Nepal Life

ज्यादै कम आपूर्ति र अचाक्ली महँगो मूल्यका कारण सेयरहरु आम लगानीकर्ताको पहुँचमै हुन छाडेका छन्। सोही तर्क राख्दै लगानीकर्ताले सेयर विभाजनको व्यवस्थालाई पुनर्विचार गरिनुपर्ने विश्लेषण अघि सारेका हुन्।

विशेषगरी कम्पनी ऐन तथा धितोपत्र नियमावली पुँजीबजार मैत्री नहुँदा सुरुवाती चरणमै इच्छुक कम्पनी पनि सेयर विभाजनको प्रक्रियाबाट पछि हट्नु परेको छ। भएको विद्यमान व्यवस्था समेत प्रयोगमा ल्याउन नदिँदा  स्टक स्प्लिटको व्यावहारिकता चुनौतिपूर्ण भएको नेपाल उद्योग वाणिज्य महासंघ ‍पुँजीबजार फोरममा अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउँछन्।

‘अन्तर्राष्ट्रिय अभ्यासहरु कार्यान्वयन गर्न नसक्दा नेपाली पुँजीबजारको आधुनिकीकरणमा अवरोध पुगेको छ,’ अध्यक्ष पौडेलले बिजमाण्डूसँग भने,’सेयर बजारप्रति आम लगानीकर्ताको पहुँच वृद्धिमा स्टक स्प्लिट महत्त्वपूर्ण अस्त्र साबित हुन सक्छ।’ 

विशेषगरी आकर्षक लाभांश दिने ब्लूचिप प्रकृतिका सेयर मूल्य सेयर बजारमा अत्याधिक महँगो भएको छ। युनिलिभर र बोटलर्स नेपाल जस्ता ब्लूचिप सेयरको मूल्य साधारण सेयर भन्दा धेरै बढी छन्। यद्यपी प्रतिफल निकै धेरै भएपनि सीमित लगानीकर्ताको हातमा यी कम्पनीको सेयर छ।

नियामकीय समन्वय सेयर विभाजनका लागि कठिन हुन पुगेको टिप्पणी मर्चेन्ट बैंकरहरुको पनि छ। उनीहरुका अनुसार कम्पनीभन्दा सो व्यवस्थाले आम सर्वसाधारण तथा सेयरधनीहरुलाई सहजता हुन्छ।

‘दोस्रो बजारमा कम्पनीको तरलता बढाउने काम हो। सप्लाई बढ्दा महँगो सेयरको माग अनुपात घटेर मूल्य समायोजन हुन्छ,’ मर्चेन्ट बैकर एशोसिएसनका अध्यक्ष एवम् सनराइज क्यापिटलका सिइओ विजयलाल श्रेष्ठले भने। उनका अनुसार सस्तो मूल्यले गर्दा सेयर छरिन्छ र आम लगानीकर्ताको पहुँचमा सहजै पुग्न सक्छ। सो सेयरको प्रतिफलबाट लाभान्वित हुने अवसर उनीहरुले पाउँछन्।

झन्डै ९ वर्ष अघि नेपाल लाईफ इन्स्योरेन्सले नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक स्टक स्प्लिटको अवधारणा कार्यान्वयन गर्न चाहेको थियो। तर नियामकीय प्रावधानले कम्पनीालाई चाहेजति अनुपातमा सेयर खण्डिकरण गर्न नदिँदा अभ्यासले पूर्णता पाउन सकेन।

त्यसबेला एनएलआईसीको सीईओ विवेक झा थिए। सेयरको अंकित मूल्य १० भागले घटाएर सयबाट १० रुपैयाँमा झार्ने योजना झाको थियो। प्रबन्धपत्र र नियमावलीमा संसोधन गरी कम्पनीले प्रति सेयर १० रुपैयाँको अंकित मूल्यमा विभाजन पनि गरेको थियो। 

तर तत्कालीन बीमा समिति स्टक स्प्लिट बारे सकारात्मक हुन नसक्दा प्रक्रिया अघि बढ्न सकेन। र कम्पनीको सेयर मूल्य पुन: १०० रुपैयाँ अंकित दर मै ल्याउनुपरेको थियो। 

कम्पनी ऐन २००६ मा पनि सेयर विभाजनको अनुमति दिने प्रावधान उल्लेख थियो। यद्दपी सेयरको अंकित मूल्य न्यूनतम ५० रुपैयाँ अथवा १० ले भाग जाने हुनुपर्ने हुन्थ्यो। यसअघिको ऐनले यो १० रुपैयाँसम्म राख्न सक्ने व्यवस्था गरेका थियो। जस बमोजिन सोल्टी होटलले १० रुपैयाँ अंकित दरमै प्राथमिक सेयर जारी गरेको पनि हो।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले भने सेयरको अंकित मूल्य कम्तिमा एक सय रुपैयाँ हुनुपर्ने तोकेको छ। कम्पनी ऐनको व्यवस्था नियमावलीसँग आएर बाझियो। जुन हालै बोर्ड अध्यक्ष रमेशकुमार हमाल आएपछि संशोधित नियमावलीमा पनि यथावत नै छ। 

२०७४ सालमा संशोधन भएको कम्पनी ऐनले पुन: सेयरको न्यूतम अंकित मूल्य ५० रुपैयाँसम्म हुन सक्ने प्रावधान गर्‍यो। तर नियमावली फेरि पनि बाँझिदा नेपाल लाइफले दोहोर्‍याएको प्रक्रियाले निष्कर्ष पाउन सकेन। कम्पनीले २० औं साधारणसभाबाट ५० रुपैयाँका दरले सेयर विभाजन गर्ने प्रस्ताव पारित गरी पुन: प्रबन्धपत्र र नियमावलिमा संशोधन गरेको थियो।

बारम्बार असफल प्रयास पछि कम्पनीले प्रक्रिया मै चासो दिन छाडेको नेपाल लाइफका सिइओ प्रविणरमण पराजुलीले बताए। भन्छन्,’ हाल सञ्चालकहरुको प्राथमिकतामा उक्त योजना छैन।’

अन्तर्राष्ट्रिय अभ्यास के छ?

खासगरी कुनै पनि कम्पनीको सेयरको मूल्य अत्याधिक बढेर लगानीकर्ताको ठूलो हिस्साको खरिद हैसियतभन्दा बाहिर पुगेपछि स्टक स्प्लिट गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ।

एप्पल, टेस्ला र अमेजन जस्ता कम्पनीले कयौं पटक स्टक स्प्लिट गरेको उदाहरण छन्। एप्पलले पाँच पटक सेयर खण्डीकरण गरिसकेको छ। जस अन्तर्गत एक बराबर सातको अनुपातसम्म पनि सेयर विभाजन भएको छ।

लामो समय विश्वको मूल्यावान कम्पनीमा दरिएको कोकाकोलाले पनि सन् १९२७ देखि २०१२ बीचमा ११ पटक स्टक स्प्लिट गरेको थियो। पछि यी कम्पनीको सेयर धेरैका लागि मूल्यका दृष्टिले लगानीयोग्य बनेको थियो।