काठमाडौं। हाल विभिन्न चार मर्चेन्ट बैंकहरुले एसआइपी (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान) योजना संचालन गरिरहेका छन्। ती मर्चेन्ट बैंकहरुले एसआइपी बापत उठेको रकम आफूले संचालन गरेको खुलामुखी सामूहिक लगानी कोषमा लगानी गर्छन्।
खुलामुखी सामूहिक लगानी योजनाको परिपक्व अवधि हुँदैन। अर्थात यस्ता योजना वर्षौंसम्म स्वचालित हुन्छन्।
सामान्यतया बजारमा म्यूचुअल फन्डहरु किन्दा एकैचोटी धेरै पैसा चाहिन्छ। तर एसआइपीले सानो रकमलाई जम्मा गरि त्यस रकम बराबरको सामूहिक लगानी योजना खरिद गर्छ। तसर्थ एसआइपी भनेको छुट्टै योजना होइन। यो म्यूचुअल फन्डमै लगानी गर्ने एउटा माध्यम हो।
हाल ६ मर्चेन्ट बैंकले खुलामुखी सामूहिक लगानी योजना संचालान गरिरहेका छन्। जसमध्ये चार मर्चेन्ट बैंकहरुले मात्र एसआइपी योजना संचालनमा ल्याएका छन्।
हाल एनआइबीएल एस क्यापिटल, एनआइसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र एनएमबि क्यापिटलले संचालन गरिरहेका हुन्। जुनसुकै क्यापिटलमा डिम्याट भएका लगानीकर्ताहरुले यी मर्चेन्ट बैंकहरुबाट एसआइपी योजनामा आबद्ध हुन सक्छन्।एसआइपी बापतको रकम मासिक, त्रैमासिक वा वार्षिक रुपमा भुक्तानी गर्न सकिन्छ। एसआइपी सुरु गरेका सबैजसो क्यापिटलले एसआइपीको रकम विद्युतीय माध्यमबाटै भुक्तानी गर्ने व्यवस्था गरेका छन्।
‘एसआइपी’ भनेको एउटा निश्चित समयमा नियमित रुपमा पैसा लगानी गर्ने हो। समग्रमा एसआइपी योजना संचालन गरेका सबै मर्चेन्ट बैंकको अवधारणा यही नै हो। यसका साथै लगानीकर्ताले क्यापिटलहरुले यसअघि व्यवस्थापन गरिरहेको सामूहिक लगानी कोषहरुले कस्तो प्रगति गरिरहेका छन् भन्ने कुरा पनि विचार गर्नुपर्ने जानकार बताउँछन्।
बजार घटबढ भइरहन्छ। तर एसआइपीमार्फत नियमित रुपमा लगानी भइरहने भएकाले ‘एभरेजिङ’ हुन्छ। नवप्रवेशी लगानीकर्ताहरुका लागि यो योजना उपयुक्त हुने मर्चेन्ट बैंकरहरुको दाबी छ।
त्यसो भए कुन मर्चेन्ट बैंकबाट किन एसआइपी एसआइपी गर्ने ?
एनआइसी एशिया
एनआइसी एशिया क्यापिटलले पनि करिब ३ महिना अघिबाट एसआइपी योजना संचालन गरिरहेको छ।
बजारमा अन्य मर्चेन्ट बैंकहरुले पनि एसआइपी योजना संचालनमा छन्। यो मर्चेन्ट बैंकले एसआइपी बापतको रकम एनआइसी एशिया डाइनामिक डेब्ट फन्डमा लगानी गर्छ। यो नेपालको एउटा मात्र डेब्ट फन्ड हो। तसर्थ यस योजनाको प्राय जस्तो लगानी ऋणपत्रमा हुन्छ। जसकारण यसको रिटर्न निश्चित जस्तै हुन्छ। नेपालको सन्दर्भमा अन्य योजनाभन्दा सुरक्षित एसआइपी एनआइसी एशियाको रहेको क्यापिटलका सीइओ रमेन्द्र रायमाझी दाबी गर्छन्।
रायमाझीका अनुसार हालसम्म यस योजनाको पार भ्यालु १० रुपैयाँ भन्दा कममा आएको छैन। ऋणपत्रमा लगानी गर्ने भएकाले बजारमा जस्तो खालको उतारचढाव आएपनि उक्त योजनालाई खासै फरक नपर्ने उनी बताउँछन्।
यस्तै, यो क्यापिटलबाट एसआइपी गर्दा मासिक, त्रैमासिक वा अर्धवार्षिक तथा वार्षिक रुपमा न्यूनतम १ हजार रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म लगानी गर्न पाइन्छ। कुनै लगानीकर्ताले चाहेको खण्डमा यो क्यापिटलबाट ‘एसडब्लू पी’ सेवा पनि लिन सक्ने बताइएको छ।
एनआइसी एशियाको एसआइपी सेवा वेबसाइट तथा शाखाहरुबाट सुरु गर्न सकिन्छ। अब भने कम्पनीले मोबाइल एप तथा अन्य विरतक कम्पनीहरुबाट पनि दिने तयारी गरिरहेको उनले बताए।
कम्पनीले एसआइपी, एसडब्लू पीका साथै ट्रान्सफर प्लानलगायतका सुविधा ल्याउने तयारी गरिरहेको बुझिएको छ।
लगानीकर्ताले २ वर्षपछि एसआइपी योजना बन्द गरे क्यापिटललाई कुनै शुल्क तिर्नुपर्दैन। तर त्यसभन्दा अघि निष्क्रिय गरे धितोपत्र बोर्डले तोकेअनुसार १.५ प्रतिशतसम्म एक्जिट लोड तिर्नुपर्ने उनी बताउँछन्।
हालसम्म यस क्यापिटलले यस योजनाका इकाइधनीहरुलाई दुईपटक प्रतिफल वितरण गरिसकेको छ। योजनाले आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत र २०७८/७९ मा ६ प्रतिशत प्रतिफल वितरण गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म योजनाले ३ करोड २० लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ। सोही अवधिसम्म योजनाले ऋणपत्रमा २९ करोड २८ लाख, सूचीकृत सेयरमा ११ करोड ५४ लाख, सूचीकृत नभएका सेयरमा ४३ लाख २७ हजार, मुद्दती निक्षेपमा ६ करोड २० लाख रुपैयाँ लगानी गरेको बताइएको छ।
सिद्धार्थ क्यापिटल
सिद्धार्थ क्यापिटलले पनि एसआइपी योजना संचालन गरिरहेको छ। यस क्यापिटलले एसआइपी बापतको रकम ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ मा लगानी गर्छ। यो योजना करिब डेढ वर्षदेखि संचालनमा रहेको खुलामुखी सामूहिक लगानी कोष योजना हो।
यसैलाई मध्यनजर गर्दै क्यापिटलले थप लगानीकर्ता आकर्षित गर्न एसआइपी योजना संचालन गरेको जनाएको छ। यो क्यापिटलबाट हालसम्म करिब ५ हजार लगानीकर्ताले एसआइपी सेवा सुरु गरिसकेका छन्।
क्यापिटलले यस योजनाको रकम विभिन्न सूचीकृत सेयर, ऋणपत्र, मुद्दती निक्षेप, सार्वजनिक निष्कासन लगायतमा लगानी गर्छ।
करिब डेढ वर्ष अघिबाट सुरु भएको यस योजनाले हालसम्म लगानीकर्ताहरुलाई कुनैपनि प्रतिफल वितरण भने गरेको छैन। तर भविष्यमा लगानीकर्तालाई राम्रो प्रतिफल वितरण गर्ने सम्भावना रहेको क्यापिटलका सीइओ सन्दिप कार्की दाबी गर्छन्।
‘हाम्रो क्यापिटल पुरानो म्यूचुअल फन्ड म्यानेजर हो। हामीले थुप्रै फन्डहरु म्यानेज गरिसकेका छौं। त्यसकारण हामी दीर्घकालमा लगानीकर्ताहरुलाई राम्रै प्रतिफल वितरण गर्न सक्छौं,’ कार्कीले भने।
यस क्यापिटलबाट एसआइपी योजना सुरु गरेका लगानीकर्ताले एसडब्लूपी (सिस्टमेटिक विड्र प्लान) सेवा भने पाउँदैनन्। तर लगानीकर्ताले आफूलाई चाहिएको खण्डमा यो योजना बन्द पनि गर्न सक्ने कार्की बताउँछन्।
यद्यपि ५ वर्ष भन्दा पहिला यो योजना बन्द गरिएको खण्डमा १.५ प्रतिशत एक्जिट लोड क्यापिटललाई बुझाउनु पर्छ। तर ५ वर्ष पछि भने जुनसुकै समयमा यो योजना बन्द गरेपनि सो शुल्क बुझाउनु पर्दैन। तसर्थ एसआइपी लिने लगानीकर्ताले दीर्घकालीन लगानीका लागि उत्तम हुने सीइओ कार्की दाबी गर्छन्।
चालु वर्षको पुस मसान्तसम्म यो योजनाले सूचीकृत सेयर, बैंक मुद्दती निक्षेत, ऋणापत्र तथा अन्य सार्वजनिक निष्कासनहरुमा २३ करोड ३० लाख बढी लगानी गरेको छ। यस्तै बैंक मौज्दातमा २ करोड ५८ लाख र अन्य सम्पत्ति ५४ लाख ६८ हजार रहको छ।
पुस मसान्तसम्म यस योजनाको न्याभ भ्यालु ८.६२ रहेको छ। १ करोड ६९ लाख रुपैयाँ कुल आय गरेको छ। एसआइपी गरेका लगानीकर्ताको खातामा यही मूल्यमा इकाइहरु खरिद गरिन्छ।
एनआइबीएल एस क्यापिटल
एसआइपी योजना सुरु गर्ने क्यापिटलमध्ये एनआइबीएल एस क्यापिटल पुरानो कम्पनी हो। यस कम्पनीले एसआइपी बापत उठेको रकम एनआइबीएल सहभागिता फन्डमा लगानी गर्छ। यो खुलामुखी सामूहिक लगानी योजना नेपालकै ठुलो र पहिलो योजना हो। यो योजना करिब साढे ३ वर्षदेखि संचालनमा छ। करिब ३ वर्षदेखि नै यस क्यापिटलले एसआइपी योजना संचालन गरिरहेको छ।
क्यापिटलले एनआइबीएल सहभागिता फन्डअन्तर्गत लगानीकर्ताहरुलाई तीन आर्थिक वर्ष लगातार लाभांश वितरण गरिसकेको छ।
क्यापिटलले आर्थिक वर्ष २०७६/७७ मा इकाइधनीहरुलाई ८.२५ प्रतिशत प्रतिफल वितरण गरेको छ। त्यस्तै आव २०७७/७८ मा बजार बुलिस ट्रेन्डमा भएका बेला कम्पनीले लाभांशको आकार पनि बढाएको थियो। उक्त आवमा क्यापिटलले इकाइधनीहरुलाई ५० प्रतिशत प्रतिफल वितरण गरेको थियो। बजार बियरिस भएपनि गत आवको नाफाबाट इकाइधनीहरुलाई क्यापिटलले ७.२० प्रतिशत प्रतिफल वितरण गरेको छ।
यस योजनामा सहभागी इकाइधनीहरुले क्यापिटल र तिनका शाखा मात्र नभइ गुडविल फाइनान्स र तिनका शाखा, इन्भेष्टमेन्ट मेगा बैंक र तिनका शाखा, मुक्तिनाथ विकास बैंक र तिनका शाखाहरुबाट पनि सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
यो योजनाको आकार २० करोड हाराहारीमा सुरु भएको थियो। हाल यसको आकार बढेर १ अर्ब १० करोड पुगिसकेको छ।
यो क्यापिटलबाट ३० हजार भन्दा बढी लगानीकर्ताहरुले एसआइपी लिइसकेका छन्। यस सहभागिता फन्डको एक्जिट लोडको प्लान भने अन्य क्यापिटलको भन्दा छुट्टै छ।
क्यापिटलका अनुसार एसआइपी गरेका लगानीकर्ताले ६ महिना भित्र इकाइ बिक्री गरेको खण्डमा एक्जिट लोड बापत १.५ प्रतिशत, ६ देखि १२ महिना भित्रमा बिक्री गरे १.२५ भने १२ देखि १८ महिनाको बिचमा बिक्री गरे १ प्रतिशत र १८ देखि २४ महिनाको बिचमा बिक्री गरे ०.७५ प्रतिशत एक्जिट लोड बुझाउनु पर्ने कम्पनीले जनाएको छ। २ वर्षपछि भने बिक्री गरे एक्जीट लोड तिर्नु नपर्ने बताइएको छ। एक्जीट लोड बापतको रकम भने योजनाको आम्दानीमा जोडिन्छ।
पुस मसान्तको तथ्यांक अनुसार यस योजनाको न्याभ भ्यालु १०.५० रुपैयाँ छ। यस्तै यस अवधिसम्म योजनाको कुल आय ५ करोड ३६ लाख रुपैयाँ बढी छ। योजनाले पुस मसान्तसम्म ७७ करोड ७९ लाख बढी रकम धितोपत्रमा लगानी गरेको छ। यस्तै बैंक मौज्दात र अन्य सम्पत्ति ३५ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ।
एनएमबि क्यापिटल
एनएमबि क्यापिटलले करिब १ वर्षदेखि एसआइपी योजना संचालन गरिरहेको छ। क्यापिटलबाट हालसम्म यसआइपी योजना लिने लगानीकर्ता १५ हजार बढी छन्। एसआइपी बापत उठेको रकम क्यापिटलले ‘एनएमबि सरल बचत फन्ड-इ’ मा लगानी गर्छ। यो खुलामुखी सामूहिक लगानी योजना हो।
क्यापिटलका फन्ड म्यानेजमेन्ट प्रमुख अनिस पाण्डेका अनुसार इकाइधनीहरुलाई नियमित रुपमा लाभांश वितरण गरिरहेकाले यो योजनाका लगानीकर्ताहरुलाई पनि राम्रो प्रतिफल दिने बताउँछन्।
‘एनएमबि क्यापिटलले म्यूचुअल फन्ड संचालन गरिरहेको करिब ९ वर्ष भयो। यस अवधिमा एउटा बन्दमुखी योजना परिपक्व भइसक्यो। एनएमबिसँग एउटा अनुभवी टिम छ। जसले एसआइपीमा पनि अरु म्यूचुअल फन्डमा जस्तै राम्रो प्रतिफल दिन्छ,’ पाण्डेले बताए।
क्यापिटलबाट एसआइपी गरेका लगानीकर्ताको इकाइ न्याभकै आधारमा तुरुन्तै कारोबार हुन्छ। सम्पूर्ण कारोबार वेबसाइटबाट गर्न सकिन्छ। एस क्यापिटलमा एक्जिट लोड भने तिर्नुपर्दैन। तर न्यूनतम १ वर्ष भने होल्ड गर्नुपर्ने बताइएको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म क्यापिटलले संचालन गरेको योजनाको न्याभ भ्यालु ९.६१ रुपैयाँ रहेको छ। कुल आय बापत क्यापिटलले पुस मसान्तसम्म ३ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ।
उक्त अवधिसम्म यो योजनाले सूचीकृत सेयर, सार्वजनिक निष्कासन, हकप्रद निष्कासन, बोनस सेयर र मुद्दति निक्षेपमा ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढी लगानी गरेको छ। यस्तै, ९ करोड ५० लाख बैंक मौज्दात छ भने ७० लाख अन्य सम्पत्ति छ।