BIZMANDU
www.bizmandu.com

खेतान समूहले गोर्खा ब्रुअरीको सेयर बेच्दै, एक खर्ब रुपैयाँमा बेच्न प्रस्ताव

२०७९ माघ २४

खेतान समूहले गोर्खा ब्रुअरीको सेयर बेच्दै, एक खर्ब रुपैयाँमा बेच्न प्रस्ताव
खेतान समूहले गोर्खा ब्रुअरीको सेयर बेच्दै, एक खर्ब रुपैयाँमा बेच्न प्रस्ताव


काठमाडौं। खेतान समूहले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियामा रहेको आफ्नो ३३ प्रतिशत स्वामित्व बिक्रीका लागि प्रस्ताव गरेको छ।

Tata
GBIME
Nepal Life

डेनमार्कको कम्पनी कार्ल्सबर्गले खेतान समूहसँग रहेको सेयर खरिद गर्ने गरी प्रस्ताव अघि बढाएको छ। यो डिल नेपाली झण्डै एक खर्ब रुपैयाँ हाराहारीमा हुनेछ।

यो प्रस्ताव अनुसार खरिदबिक्री भएमा कार्ल्सबर्ग डेनमार्कसँग गोर्खा ब्रुअरीमा ९० प्रतिशत र कार्ल्सबर्ग इण्डियामा शतप्रतिशत सेयर हुनेछ।

नेपाल र भारतमा रहेका दुई कम्पनीको ३३ प्रतिशत स्वामित्व सीएसएपीएल (सिंगापुर) होल्डिङ प्रालिसँग छ। त्यसको अन्तिम सेयरधनीमा नेपालको व्यवसायिक घराना खेतान समूहका सीपी खेतानसँग छ।

खेतान लामो समयदेखि सिंगापुरमा बस्दै आएका छन्। उनी राजेन्द्र कुमार खेतानका भाइ हुन्।

खेतान समूह र कार्ल्सबर्गबीच कम्पनी सञ्चालनका विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो।

त्यो विवाद किनारा लगाउनका लागि दुवै पक्ष सिंगापुरमा मुद्दामा थिए। मुद्दाको सुनुवाईका क्रममा कार्ल्सबर्गलाई ‘कल अप्सन’ (खरिद) र खेतान समूहलाई ‘पुट अप्सन’ (बिक्री) को योजनामा काम गर्न आदेश भएको थियो।

यो आदेशसँगै दुवै पक्षले छुट्टाछुट्टै अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता (भ्यालुएटर्स)हरु नियुक्त गरेका थिए। दुईवटा मूल्यांकनकर्ताले निकालेको मूल्यांकनको साधारण औसत ७४ करोड ४० लाख अमेरिकी डलर (९८ अर्ब ६५ करोड रुपैयाँ) तय गरिएको थियो।

पुट अप्सन लिएको खेतान समूहले यही औसत मूल्यमा आफ्नो सेयर बिक्रीका लागि सोमबार (फेब्रुअरी ६, २०२३) मा औपचारिक प्रस्ताव राखेको थियो। यो प्रस्तावलाई स्वीकार गर्दै कार्ल्सबर्गले मंगलबार यो विषयमा सार्वजनिक जानकारी दिएको हो।

गोर्खा ब्रुअरीको ९० प्रतिशत र कार्ल्सबर्ग इण्डियाको १०० प्रतिशत सेयर स्वामित्व सिंगापुरको कम्पनी साउथ एसियन ब्रुअरीजसँग छ। त्यो कम्पनीको शतप्रतिशत सेयर स्वामित्व सिंगापुरकै अर्को कम्पनी कार्ल्सबर्ग साउथ एसियासँग छ।

त्यो कम्पनीमा ६७ प्रतिशत सेयर डेनमार्कको कम्पनी कार्ल्सबर्गको छ भने ३३ प्रतिशत स्वामित्व खेतान समूहको नियन्त्रणमा रहेको सीएसएपीएएल (सिंगापुर) होल्डिङसँग छ।

गोर्खा ब्रुअरीमा बाँकी १० प्रतिशत हिस्सा राजेन्द्रकुमार खेतान लगायत तीनजना नेपालीसँग छ। दोस्रो सेयरधनी दिव्यमणि राजभण्डारी हुन् भने तेस्रो सेयरधनी कमलविक्रम सिंह हुन्। राजेन्द्रसँग ९.९५ प्रतिशत र बाँकी ०.५ प्रतिशत अरु दुईजना सेयरधनीसँग छ।

अहिलेको घोषणामा राजेन्द्र खेतानको सेयरका विषयमा कुनै पनि जानकारी दिइएको छैन।

सीएसएपीएलएच र कार्ल्सबर्ग समूहबीच सीएसएपीएललाई लिएर लामो समय विवाद भएको थियो। सेयरधनी सम्झौता र गभर्नेन्सका विषयमा विवाद भएको थियो। विवादलाई सीएसएपीएलएचले सिंगापुरको आरबिट्रेसनमा लगेको थियो।

सेयर खरिदबिक्री सन् २०२३ भित्रै सक्ने योजनामा कार्ल्सबर्ग समूह छ। कार्ल्सबर्गले भने सीएसएपीएलएचले तोकेको मूल्यांकनपछि आवश्यक अध्ययन तथा तयारी सुरु गरेको जनाएको छ।