BIZMANDU
www.bizmandu.com

१० वर्षअघि नेपालमा विद्युतीय गाडीको प्लेटफर्म तयार पार्ने महिन्द्रा, बिचमा सुस्त, अब आक्रामक

२०७९ माघ २३

१० वर्षअघि नेपालमा विद्युतीय गाडीको प्लेटफर्म तयार पार्ने महिन्द्रा, बिचमा सुस्त, अब आक्रामक
१० वर्षअघि नेपालमा विद्युतीय गाडीको प्लेटफर्म तयार पार्ने महिन्द्रा, बिचमा सुस्त, अब आक्रामक

काठमाडौं। सन् २०१३ मा अग्नि समूहले विद्युतीय गाडी बिक्री थालेको थियो। रेभा र महिन्द्रा मर्ज भएपछि उत्पादन भएको इटुओ प्लस विद्युतीय गाडी काठमाडौंका सडकमा कुद्न थाल्यो।

Tata
GBIME
Nepal Life

त्यो बेलामा काठमाडौं उपत्यका धुँवाधुलोले आक्रान्त बनेको भन्दै प्रदुषणरहित सवारीसाधनको परिकल्पना गरिएको थियो।

१४ घण्टा भन्दा बढी लोडसेडिङ व्यहोरिरहेका बेला स्वदेशको इन्धन प्रयोगको बहस निरर्थक हुन्थ्यो। त्यही भएर अग्नि समूहको अग्नि इनर्जीले प्रदुषणरहित सवारी साधनका रुपमा ब्राण्डिङ गरेको थियो। चारवटा ढोका भएको इटुओ प्लसले तयार पारेको प्लेटफर्ममा अहिले विभिन्न ब्राण्डका विद्युतीय गाडी चलिरहेका छन्।

बीवाइडी, एमजी, टाटाको नेक्सन, हुण्डाईको कोना, कियाको निरो, टेस्ला लगायतका गाडीको बिक्री राम्रो छ। तर त्यही प्लेटफर्म तयार पारेको महिन्द्रा भने हराइरहेको छ। महिन्द्राका गाडी नेपालका सडकमा किन छैनन् ? अग्नि इनर्जी वरिष्ठ प्रबन्धक प्रमोद भण्डारी नयाँ फिचर र सुविधासहित एसयुभी सेग्मेन्टको विद्युतीय गाडी महिन्द्राले उत्पादन गरेको बताउँदै छिट्टै त्यही गाडीबाट नेपालमा मार्केट लिडर बन्ने जिकिर गर्छन्। उनका अनुसार ग्राहकको रुची अनुसार यसअघिका सबै विद्युतीय उत्पादन रोकेर एक्सयुभी- ४०० इभी ल्याएको छ।

‘महिन्द्राले विद्युतीय गाडी नल्याएकोले पनि हामी सुस्तजस्तो देखिएका हौं। महिन्द्राले दुई वर्षभित्र पाँच वटा मोडलका इभी बजारमा ल्याउने घोषणा गरेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले दश वर्ष अघि देखेको विद्युतीय गाडीको भविष्य हाम्रो नयाँ गाडी आएपछि सार्थक हुने देखेका छौं।’

१० वर्ष अघिको कठिन समय

सुरुवाती समयमा विद्युतीय सवारीको बारेमा ग्राहकलाई बुझाउन निकै कठिन थियो। उनी भन्छन्, ‘हामीले धेरै कर्पोरेट हाउस, सरकारी कार्यलय, गैरसरकारी संस्था र दूतावासमा विद्युतीय सवारी बिक्री गर्न क्याम्पेन गरेका थियौं। त्यतिबेला यस बारे ग्राहकलाई बुझाउन अहिलेको जस्तो समय थिएन।’

त्यसपछि कम्पनीले २०७४ मा नेपालमा पहिलो पटक इलेक्ट्रिक गाडीको लागि डेडिकेटेड सर्भिस सेन्टरको निर्माण गरेर संचालनमा ल्याएको थियो। त्यसले ग्राहकलाई कम्पनी र विद्युतीय गाडी प्रति विश्वास बढ्दै गएको थियो।

कम्पनीले इभी प्रवर्द्धनलाई दिगो रुपमा लैजान सर्भिस सेन्टर खोलेको थियो। कम्पनी आफैँले इभी सर्भिस सेन्टर संचालनका लागि २५ जना दक्ष जनशक्ति उत्पादन गर्न सुरु गरेको थियो।

यस्तै कुपण्डोलस्थित सर्भिस सेन्टरमा ८ जना प्राविधिक कार्यरत थिए। सरकारले करको दरलाई पनि घटाउँदै जाँदा प्रयोगकर्ता बढेको भण्डारीको अनुमान छ। आर्थिक वर्ष २०७३/०७४को बजेटबाट कर घटेपछि २५ लाख पर्ने विद्युतीय गाडी २० लाख रुपैयाँमा पाउन थालिएको थियो।

केही समयपछि उत्पादक कम्पनीले इटुओ प्लस उत्पादन बन्द गरेर अर्को मोडल इ-भेरिटो बजारमा ल्यायो। तर यो सेडान कार ४० युनिट मात्र बिक्री भयो।

इभीका लागि आवश्यक पुर्वाधारहरुदेखि प्रविधिक टिम तयार पार्ने काम गरिरहेको भण्डारीले बताए।

उनी भन्छन्, ‘नेपालमा हाम्रो नयाँ इभी सार्वजनिक हुने समय कम्पनीले ग्राहकहरुको लागि एक खालको सरप्राइज हुने वातावरण तयार बनाइरहेको छ। हामी यो अवधिमा इभीको लागि नेपालमा बजार कसरी विस्तार गर्ने र इभी ग्राहकलाई सहज वातावरण कसरी तयार पार्ने भन्नेमा काम गरिरहेका छौं।’

कम्पनीले सर्भिस सेन्टर र चर्जिङ स्टेसन कुरिङटारमा निर्माण गरेको उनले बताए। यो सेन्टरमा गाडी चार्ज गर्दा लाग्ने समयको लागि भनेर चियाकफीका लागि हिमालयन जाभालाई पनि लगिएको छ।

भण्डारीका अनुसार अहिले नेपालभरी विभिन्न कम्पनी टाटा, दिगो, विद्यूत प्राधिकरण, हुन्डाई, किया, बिवाइडीहरुले निर्माण गरेका फाष्ट चार्जरमा पनि महिन्द्राको अब आउने इभीहरु चार्ज गर्न सकिन्छ।

‘हामीले त्यही अनुसार दक्ष जनशक्ति तयार पारिरहेका छौं,’ उनले भने, ‘हामीले छुटै डेडिकेटेड सर्भिस सेन्टरहरु निर्माण गरिरहेका छौ। त्यही अनुसार हाम्रो आगामी योजनाहरु पनि कार्यान्वयन हुँदै जानेछन्।’

महिन्द्राले जसरी इटुओको बजारलाई विस्तार गरेको थियो। त्यो भन्दा राम्रो र नयाँ योजनासहित विद्युतीय सवारी बिक्री र बिक्री पछिको सर्भिसलाई प्राथमिकतामा राख्ने भण्डारीले बताए।

‘अहिले नेपाली बजार पहिला जस्तो छैन। विद्यूतीय गाडी बिक्री गर्न सकारात्मक वातावरण बनिसकेको छ,’ उनले भने, ‘सरकारको पनि धेरै सहयोग रहेको छ। सरकारको नीतिले पनि यसमा सहुलियत प्रदान गर्न सकेमा राहत मिल्ने देखिन्छ।’

एक्सयुभी ४०० इभी फागुनको पहिलो हप्ता नेपाल आउने बताए।

‘तर यसमा उत्पादक कम्पनीले हालसम्म डेलिभरी दिएको छैन,’ उनले भने, ‘उत्पादक कम्पनीले अहिले आफै टेस्ट गरिरहेको छ। केही समय कुर्न सबै बिक्रेतालाई अनुरोध गरेको छ।’

नेपालमा इटुओको माग अझै

कम्पनीले इटुओ नेपालमा ६०० युनिटभन्दा धेरै बिक्री गरेको छ। अझै नेपालमा यसको माग रहेको कम्पनीको भनाइ छ।

‘अझै ग्राहकहरु यो गाडी खोजिरहेका छन्। तर कम्पनीले उत्पादन बन्द गरेको छ,’ भण्डारीले भने, ‘हाम्रो लागि भनेर मात्र कम्पनीले यो गाडी उत्पादन गर्दैन्।’

उनका अनुसार नेपाल इभी ग्रुपमा समेत ग्राहकले इटुओलाई ल्याउनुपर्छ भनेर दबाब दिइरहेका छन्।