BIZMANDU
www.bizmandu.com

चामलदेखि मैदा-आँटासम्मको मूल्य बढ्यो, तेल र दालको मूल्य भने घट्यो

२०७९ माघ २३

चामलदेखि मैदा-आँटासम्मको मूल्य बढ्यो, तेल र दालको मूल्य भने घट्यो
चामलदेखि मैदा-आँटासम्मको मूल्य बढ्यो, तेल र दालको मूल्य भने घट्यो

काठमाडौं। दैनिक उपभोग्य वबस्तुको मूल्य उकालो लाग्न थालेको छ। भान्छामा प्रयोग हुने चामल, मैदा, आँटा, सूजीको मूल्य उक्लिएको छ।

Tata
GBIME
Nepal Life

मसलाका रुपमा प्रयोग हुने जिरा-धनियाको मूल्य त उत्याधिक बढेको किराना व्यवसायीहरुले बताएका छन्।

मैदा र आँटाको खपत बढ्दो छ। घरायसी रुपमा आँटा र व्यवसायिक रुपमा मैदाको माग धेरै हुन्छ। तर नेपालमा गहुँ उत्पादन वार्षिक ३ लाख टन मात्र छ भने ७ लाख टन आयात गर्नुपर्ने अवस्था छ।

यो वर्ष भारतीय सरकारले गहुँ आयातमा प्रतिबन्ध र चामलमा आयात शुल्क लगायपछि आपूर्तिमा समस्या भएर मूल्य महँगिएको हो।

चामलको मूल्य दैनिक रुपमा तलमाथि हुने गरेको सामाखुशी गोर्खाली स्टोरका संचालक कृष्ण भट्टले बताए। केही साताअघि प्रतिबोरा २१ सय रुपैयाँ रहेको जिरा मसिनो चामल अहिले बढेर २२ सय ५० रुपैयाँ पुगेको छ। भारत सरकारले लगाएको २० प्रतिशत आयात शुल्कले गर्दा आयात घटेर मूल्य बढ्न थालेको हो।

अझै चामलको भाउ बढ्दै जाने देखिएको उनले बताए। भट्टका अनुसार, बजारमा चामल सँगै मैदा, आँटा, सूजी र जिराको मूल्य पनि बढेको छ।

जसमा ५० केजी मैदा प्रतिबोरा ४६ सय रुपैयाँ पुगेको छ। यसअघि मैदाको मूल्य प्रतिबोरा ३७ सय रुपैयाँ थियो। आँटाको मूल्य बोरामा ९ सय रुपैयाँसम्म बढेको छ।

यस अघि प्रतिबोरा ४५ सय रुपैयाँ रहेको आँटा हाल ४३ सयदेखि ४४ सय रुपैयाँ पुगेको छ। सुजीको मूल्य ४ सय ग्रामको प्याकेटमा १० रुपैयाँसम्म बढेको छ।

नेपाल मैदा उद्योग संघका सचिव विकास वेगवानीले गहुँ अभावका कारण मैदा, आँटा र सूजीको मूल्य बढेको बताए। मैदा उद्योगहरुसँग भएको गहुँको स्टक सकिन थालेको छ। अघिकांश उद्योगहरु २० प्रतिशतको क्षमतामा चलिरहेका छन्।

बजारको माग अनुसार गहुँबाट बन्ने मैदा, आँटा, सूजीको उत्पादन कम भएको छ। यसले गर्दा यी बस्तुहरुको मूल्य बढेको उनले जानकारी दिए।

बेगवानीका अनुसार मैदाको मूल्य केजीको ८८ रुपैयाँ पुगेको छ। ३ महिनाअघि मैदाको मूल्य ५० रुपैयाँ केजी थियो।

आटाको मूल्य केजीको ५५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ। सरकारले चाँडै गहुँ आयात सहज नगरे उपभोक्ताले पैसा तिरेर पनि यी बस्तुहरु खरिद गर्न नपाउने उनले बताए।

यति बेला बजारमा ५० केजीको खुल्ला मैदा र आँटा आउन थालेको व्यवसायीहरुले बताएका छन्।

पहिले खुल्ला र प्याकेटमा आउने गरेको थियो। केही समयदेखि बजारमा यसको अभाव हुन थालेपछि कम्पनीहरुले खुल्ला पठाउन थालेको हुन्। उत्पादन कम भएका कारण कम्पनीले व्यावसायीहरुलाई कहिलेकाही मात्र मैदा र आँटा पठाउन थालेका छन्।

त्यस्तै, हरेक उपभोक्ताको भान्छामा मसलाको रुपमा प्रयोग गरिने जिराको मूल्य पनि महङगिएको छ। दुई महिनामा जिराको मूल्य प्याकेटमा २ सय रुपैयाँसम्म बढेको पाइएको छ।

जसमा पहिले ४ सय ५० रुपैयाँमा पाइने जिरा अहिले बढेर ६ सय ६० रुपैयाँ भएको छ। धनियाँको मूल्य भने खासै बढेको छैन।व्यवसायीहरुको अनुसार ४ सय ग्रामको धनियाँको प्याकेट १२५ रुपैयाँ देखि १३० रुपैयाँसम्म छ।

दाल र खाने तेलको मूल्य सस्तियो

यति बेला बजारमा खाने तेल र दालको मूल्य घटेको व्यवसायीहरुले बताएका छन्। दाल मिलका संचालक ओमप्रकाश मोरले दालको खपत कम भएपछि मूल्य घटाएर बिक्री गर्न थालेको बताए।

दाल आयात गर्दा लागत धेरै पर्ने गरेको तर बिक्री नहुँदा मिलहरु समस्यामा परेको उनले जानकारी दिए।

लागत महँगो हुँदा मिलहरुले दालको मूल्य घटाएर बिक्री गर्दै आएका छन्। बजारमा थोक मूल्य १२० रुपैयाँ रहेको मुसुरोको दाल खरिद गर्दा लागत १२८ रुपैयाँ पर्ने उनीहरुको दावी छ।

उत्पादन भएको दाल पनि स्टक बस्न थालेपछि उद्योगहरुले घाटा खाएर बिक्री गर्दै आएको मोरले बताए।

हाल स्थानीय बजारमा दालको मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म घटेको पाइएको छ। त्यस्तै, पछिल्लो समय खाने तेलको मूल्य कार्टुनमा १०० रुपैयाँसम्म घटेको व्यवसायीहरुले बताएका छन्।

जसमा गत महिना प्रति कार्टुन २२ सय ५० रुपैयाँ रहेको सूर्यमूखी तेलको मूल्य फेरी घटेर २२ सय रुपैयाँमा आइपुगेको छ। २२ सय रहेको भटमासको तेल घटेर २१ सय रुपैयाँ भएको छ। यसअघि सूर्यमूखी तेलको मूल्य कार्टुनमा ३४ सय रुपैयाँसम्म पुगेको थियो।

रुस र युक्रेनको युद्ध कम भएपछि स्थानीय बजारमा खाने तेलको मूल्य घट्न थालेको व्यवसायिहरुले बताएका छन्।