BIZMANDU
www.bizmandu.com

बार्गेनिङको आरोपपछि हमालले कलेजमा डाके कम्पनीका सीइओ र मर्चेन्ट बैंकर

२०७९ माघ २२

बार्गेनिङको आरोपपछि हमालले कलेजमा डाके कम्पनीका सीइओ र मर्चेन्ट बैंकर
बार्गेनिङको आरोपपछि हमालले कलेजमा डाके कम्पनीका सीइओ र मर्चेन्ट बैंकर

काठमाडौं। प्राथमिक सेयर, ऋणपत्र, बुक बिल्डिङ प्रक्रियामा गएकाहरुसँग पैसा उठाएको बारे अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सबै मर्चेन्ट बैंकरहरुलाई बैठकमा डाकेका छन्।

Tata
GBIME
Nepal Life

उनले सेयर निष्काशन अनुमति माग गरेका कम्पनीको प्रमुख कार्यकारीहरुलाई डाकेर बैठक गर्न लागेका हुन्। उनले अनौपचारिक छलफल भनेर बोलाएका हुन्।

सेयर निष्कशान स्वीकृतिका लागि पैसा उठाएको समाचार प्रकाशित भएपछि हमाललाई अर्थमन्त्री विष्णु पौडेलेको पहलमा अर्थसचिव तोयम रायाले स्पष्टीकरण सोधेका थिए।

आफ्नो निजी कम्पनीको सम्पूर्ण लेखा राख्ने नबिन थामीमार्फत पैसा उठाएको ‘मोबाइल टेक्स्ट’ र एउटा कम्पनीसँग गरेको ‘घुस सम्झौता’ भेटाएपछि बिजमाण्डूले समाचार प्रकाशित गरेको थियो। यसबाहेक मर्चेन्ट बैंकर र सेयर निष्काशनका लागि अनुमति लिन पुगेकाहरुले पनि ‘पैसा माग’ भएको बताएका थिए।

मर्चेन्ट बैंकर र कम्पनीहरुबाट समाचार चुहिएको भन्दै हमालले सोमबार दिउँसो उनीहरुलाई छलफलमा डाकेका हुन्।

थामीमार्फत बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्ससँग पैसा माग गरिएको थियो। कम्पनीसँग लिखितमै ‘घुस सम्झौता’ पनि गरिएको छ। घुस सम्झौता हमालको एक निजी कम्पनीको ‘बैना’ भनेर गरिएको छ।

यसबापत केही रकम भुक्तानी पनि भएको छ। पछि एक ठूलो व्यवसायिक घरानाका व्यक्ति अगाडि आएर १५ करोड मागेपछि ‘डिल’ क्यान्सिल गरिएको थियो। सुरुको किस्ता भने बैंकमार्फत नै भुक्तानी भएको छ।

एक होटलसँग पनि सेयर निष्काशनका लागि ‘बार्गेनिङ’ गरिएको छ। 

हमालले बैठक डाकेपछि मर्चेन्ट बैंकर र सम्बन्धित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु आतंकित देखिएका छन्। उनीहरुलाई एउटा कलेजमा डाकिएको छ। ‘यसअघि यस्तरी कसैलाई पनि डाकिएको थियो’ बार्गेनिङमा परेका एक प्रमुख कार्यकारीले भने, ‘समाचारपछि डाकिएको हो।’

स्पष्टीकरणपछि चुपचाप बसेको अर्थ मन्त्रालयले रवि लामिछाने र सरकारको भविष्य निर्क्यौल भएपछि आगामी कदम लिने योजना बनाएको छ। रवि लामिछाने सरकारमा फर्किने वा उनको पार्टीको समर्थन यथावत रहेमा अहिलेको सरकार टिक्ने छ। त्यसो हुँदा एमालेका विष्णु पौडैल नै अर्थमन्त्री हुने छन्। अर्थमन्त्री नहुने अवस्था आएमा अहिले कारबाही प्रक्रिया थाल्दा असफल भइने बुझाइ मन्त्री निकटहरुको छ।

यदि पौडेल नै अर्थमन्त्री रही रहने अवस्था भएमा हमालमाथि लागेको आरोप छानबिन गर्न समिति बन्ने छ। अर्थमन्त्रीले यसको जनाउ दिइसकेका छन्। 

अर्कोतिर हमालमाथि लागेको आरोप र उठेका प्रश्नमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो राखेको छ। प्रमुख आयुक्त  प्रेमकुमार राईले नै ‘के कस्तो हो’ भनेर आफ्नो टिमलाई अध्ययन गर्न लगाएका छन्।