BIZMANDU
www.bizmandu.com

हिमालय राणा: महालेखा गठनदेखि गभर्नर भएर भारु बिस्थापितको जस

२०७९ माघ २२

हिमालय राणा: महालेखा गठनदेखि गभर्नर भएर भारु बिस्थापितको जस
हिमालय राणा: महालेखा गठनदेखि गभर्नर भएर भारु बिस्थापितको जस

२००७ सालमा अर्थ सचिव भएको थिएँ। भर्खर राणा शासनको अनत्य भएको र नेपाल नयाँ यूगमा प्रवेश गरेको अवस्था थियो। त्यस बेला देशको विकासका लागि ठूलो रकम चाहिएको थियो। त्यो रकम जुटाउनका लागि मैले भन्सारलाई आधुनिकीकरण गर्ने अभियान चलाएँ। अन्तशुल्क विभाग खडा गरेँ। राजश्व प्रशासनको पारदर्शिताका लागि महालेखा परीक्षक कार्यालय गठन गरेँ। यसले देशको प्रगतिको आधारहरु खडा भए। यसैको जगमा आज पनि देश अगाडि बढिरहेको छ। यो अर्थमा मलाई आज पनि गर्व लाग्छ।

Tata
GBIME
Nepal Life

त्यसपछि ४ बर्ष ८ महिना राष्ट्र बैंकको गभर्नर भएँ। त्यो बेला राष्ट्र बैंक फराकिलो सोचाइका साथ स्थापना गरिएको थिएन। राजा महेन्द्र देशभरी नै भारतीय मुद्रालाई विस्थापित गरेर नेपाली मुद्रा चलाउन चाहन्थे। खासगरी नेपालको तराई भेगमा भारु आफ्नै मुद्रा जस्तो गरेर चलाइन्थ्यो।

भारु सटही दर इन्द्रचोक र मखनका ब्यापारीहरुले तोक्थे। उनीहरुले तोकेको दरमा भारु साट्नु पर्थियो। तीन बर्ष लगाएर मैले भारुको सटही दर कायम गरेँ। यो कायम गर्न एकदमै मेहेनत परेको थियो। 

राजा महेन्द्रको चाहना अनुसार तराईमा पनि नेपाली मुद्रा चलनचल्तीमा आयो। र, भारु विस्थापित हुन थाल्यो। यसले गर्दा तराईको भुभागमा बस्नेहरुलाई पनि हामी पनि नेपाली हौं भन्ने भावना विकास भयो। यो आभासले गर्दा हाम्रो सबै भूभागमा नेपाली रुपैयाँ सहज रुपमा चल्यो। 

भारु त चल्न थाल्यो तर सहजताका साथ नेरुबाट भारु र भारुबाट नेरु बनाउनु पर्ने थियो। यसका लागि प्रणालीबाटै सटही दर निर्धारण हुन आवश्यक थियो। मैले इलामदेखि कैलालीसम्म अध्ययन गर्न लगाएँ। र १०० भारु बराबर नेपाली १६० रुपैया कायम भयो। आज पनि त्यो दर लागू भइरहेकोमा मलाई गर्व लाग्छ। 

अब अहिलेको सटही दरलाई पुनरावलोकन गर्न आवश्यक भइसकेको छ। १६० को दरमा भारु राख्दा वैदेशिक मुद्रा बिनिमयको जोखिम कम भएको थियो। जसले गर्दा आर्थिक कारोबार गर्न सहज भएको थियो। अहिलेको आर्थिक अवस्था हेरेर, माग र आपूर्तिको अवस्था हेरेर भारु सटही दर पुनरावलोकन गर्नु पर्छ। देशमा राजनीतिक स्थिरता भएको बेलामा, आर्थिक बृद्धि बढेका बेलामा यसलाई पुनरावलोकन गर्नु पर्छ भन्ने मेरो सुझाव छ। यसलाई तार्किक रुपमा पुनरावलोकन गरिनु पर्छ। नभए यसले पैसा जम्मा गर्नेलाई फाइदा पुग्छ र आम जनजीवनमा नराम्रो असर गर्छ। पीडा दिनसक्छ।

अब अलिकति प्रत्यक्ष बैदेशिक लगानीको कुरा गर्छु। गोर्खा ब्रुअरी पनि मैले आफ्नो पहलमा ल्याएको थिएँ। वैदेशिक लगानीको कुरामा टुवोर्ग वियरजस्तो कम्पनी संयुक्त विदेशी लगानीका कम्पनी नेपालमा आएका थिएनन्। मैले एक महिना डेनमार्कमा बसेर त्यसलाई नेपाल भित्र्याएँ। औद्योगिक क्षेत्रमा बैदेशिक लगानी भित्र्याए। आज पनि त्यसले नेपालमा राम्रो गरिरहेको छ। मलाई बियरको कारोबार गर्न मन लागेन र, पछि छाडिदिएँ। 

बैंकिङ क्षेत्रमा मेरो आवद्धता २००८ सालदेखि हो। गभर्नर भएदेखि म यो क्षेत्रसँग नजिक छु। त्यस बेला बैंकका रुपमा नेपाल बैंक मात्र थियो। सबै काम त्यसैले गर्थियो। एलसी खोल्ने, उद्योगलाई ऋण दिने, जुटको बोरा र धानको बोरा धितो राखेर ऋण दिन्थ्यो त्यसबेला। सुनचाँदी राखेर पनि ऋण दिन्थ्यो। 

चेक साट्न टोकन लिनु पर्ने अवस्था थियो। पैसा साट्न दुई घण्टा लाग्थ्यो। त्यसपछि बैदेशिक लगानीसमेत भएको नबिल बैंक आयो। अनि नेपालमा आधुनिक बैंकिङ सुरु भयो। अहिले आएर हेर्दा बैंकहरु स्पेसलाइज भएका छन्। विभिन्न क्षेत्रमा काम गर्न बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी खुले। विपन्नलाई ऋण दिन  लघुवित्त संस्थाहरु पनि आए। 

नेपालमा बैंकिङ क्षेत्रको विकास बहुतै राम्रो भएको छ। बैंकिङ क्षेत्रबाट पारदर्शी रुपमा राजश्व संकलन हुने गरेको छ। करमा कुनै छली छैन। मुलुकको आर्थिक विकासमा ठूलो योगदान गरिरहेको छ। 

२००७ सालदेखि अहिलेसम्म धेरै परिवर्तन भइसकेको छ। नयाँ राजनीतिक संरचना बनेको छ। चुनावपछि राजनीतिक स्थिरता आउने छ। त्यसपछि आर्थिक विकास र देश विकास गर्ने भनेर पार्टीले भनेका छन्। त्यो बेला बैंकको भूमिका महत्वपूर्ण हुने छ। 

नेपालमै धेरै राम्रा कर्मचारी छन्। त्यसैले भविस्य उज्वल छ। अब बैंकहरुले नयाँ नयाँ प्रविधि भित्र्याउनु पर्छ। हाम्रो बैंकिङ भारत, बंगलादेश र पाकिस्तानको भन्दा पनि राम्रो छ भन्ने मेरो बुझाइ छ। यसले कायम गरेर जानु पर्छ। 

(बैंकर्स संघले २०७४ मंसिरमा सम्मान गर्दा राणाले राखेको बिचार, पुन: साभार गरिएको छ। प्रथम गभर्नर राणाको आइतबार बिहान निधन भएको छ। उनकै पहलमा हिमालयन बैंक पनि स्थापना भएको थियो।)