काठमाडौं। भारतीय बजेटका कारण विद्युतीय गाडीको सस्तिने भएपछि नेपाल आयात हुने गाडीको मूल्य पनि घट्ने देखिएको छ। भारतमा उत्पादन हुने विद्युतीय गाडीको मूल्य घट्ने भएको हो।
भारत सरकारले बुधबार ल्याएको केन्द्रिय बजेटमा भारतमा उत्पादन हुने विद्युतीय गाडीका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार कर छुट दिने व्यवस्था गरिएको छ। यो व्यवस्थाले भारतमा उत्पादन हुने विद्युतीय गाडीको उत्पादन लागत घट्ने छ।
भारतले आफ्नै देशमा उत्पादन हुने विद्युतीय गाडीलाई प्रोत्साहन गर्नका लागि कच्चा पदार्थको आयातमा लाग्दै आएको भन्सार कर घटाएको हो।
यो व्यवस्थाले अब भारतमा उत्पादन हुने विद्युतीय गाडीहरु सस्तो हुने छ। अन्य देशबाट आयात हुने सबै लक्जरियस कार र इभीमा ६० प्रतिशतको भन्सार कर बढाएर ७० प्रतिशत पुर्याएको छ। यसले गर्दा डोमेस्टिक उत्पादनलाई प्रोत्साहन हुने भारत सरकारको अपेक्षा छ। नेपाललाई भने यसले असर गर्दैन।
भारतको केन्द्रीय बजेटमा धेरै प्रस्तावहरू अटोमोटिभ क्षेत्रका लागि अनुकूल देखिन्छन्। कच्चा पदार्थको आयातमा भन्सार कर कम हुँदा गाडी उत्पादनको लागत कम हुन आउँछ। गाडीको उत्पादन लागत कम हुने वितिकै यसले मूल्य पनि सस्तो हुन्छ।
यसले भारतमा उत्पादन गरिएका नेपालमा आउने विद्यूतीय गाडीको समेत मूल्य सस्तो हुने देखिएको छ। अटो व्यवसायीका अनुसार, यसमा कच्चा पदार्थको मूल्य घट्नु भनेको गाडीको मूल्य घट्नु जस्तै भएकाले अबदेखि उत्पादन हुने विद्युतीय गाडीको मूल्य घटेर आउनेछ।
तर यसमा भारत सरकारले निर्यातमा कस्तो नीति लिन्छ भन्नेमा निर्भर हुने अटो व्यवसायीहरुको भनाइ छ। यस विषयमा अहिले केही भन्न नसक्ने अवस्थामा रहेको उनीहरुले बताए। भारतको निर्यात नीति र उत्पादन कम्पनीको मुडमा मूल्य निर्भर रहन्छ। तर नेपाल पनि प्रमुख बजार भएकाले भारतीय बजेटले दिएको सुविधाको लाभ नेपाली उपभोक्ताले पाउने छन्।
हाल भारतमा उत्पादन हुने टाटाको विद्युतीय गाडी नेपालमा उपलब्ध छ। यस्तै भारतमा उत्पादन भएको अर्को कम्पनी महिन्द्राले पनि विद्युतीय गाडी नेपाल ल्याउने तयारी गरिरहेको छ। यी कम्पनीहरुले आगामी दिनमा नेपाल ल्याउने विद्युतीय गाडी सस्तो भएर आउने अनुमान गरिएको छ।