BIZMANDU
www.bizmandu.com

सिमेन्ट र डन्डी उद्योग ‘ब्रेक-इभन’मा, लोडसेडिङ र क्रसरमा गरिएको कडाइले चुनौती कायमै

२०७९ माघ १७

सिमेन्ट र डन्डी उद्योग ‘ब्रेक-इभन’मा, लोडसेडिङ र क्रसरमा गरिएको कडाइले चुनौती कायमै
सिमेन्ट र डन्डी उद्योग ‘ब्रेक-इभन’मा, लोडसेडिङ र क्रसरमा गरिएको कडाइले चुनौती कायमै


काठमाडौं। ठूलो ऋणको किस्ता तिर्नुनपर्ने सिमेन्ट तथा डन्डी उद्योगहरु ब्रेक इभनमा पुगेका छन्। कच्चा पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धि, डलरको मूल्यमा देखिएको बढोत्तरीदेखि बैंक ब्याज र चालू पुँजी मार्गदर्शनका कारण संकटमा रुमल्लिएका सिमेन्ट तथा डन्डी उद्योग विस्तारै तंग्रिन थालेका छन्।

Tata
GBIME
Nepal Life

सिमेन्ट तथा डन्डी उद्योगहरुमा माग बढ्न पनि थालेको छ। तर, क्रसर उद्योगमा सरकारले गरेको कडाइका साथै सिमेन्ट तथा डन्डी उद्योगहरुले पर्याप्त बिजुली नपाउँदा भने अझै समस्या रहेको उद्योगीहरुको भनाइ छ।

कुनै समय माग अत्यधिक घट्दा २०-३० प्रतिशत मात्रै उत्पादन गरेका उद्योगहरुले अहिले अधिकतम ७० प्रतिशतसम्म उत्पादन गरिरहेका छन्। पर्याप्त बिजुली पाए शतप्रतिशत नै उत्पादन गरेर बजारमा उत्पादन पुर्‍याउन सक्ने अवस्थामा सिमेन्ट तथा डन्डी उद्योग पुगेका छन्।

मागमा केही सुधार देखिएपनि पूर्ण रुपमा बजारमा सुधार नदेखिएकाले अवस्था बिग्रन समय भने नलाग्ने चिन्ता उद्योगीमा छ।
पुराना फ्याक्ट्री जसको वित्तीय दायित्व कम छ उनीहरुको बिक्री ५० प्रतिशत भएपनि ‘ब्रेक-इभन’मा आउने सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए।

‘जसको लगानीमा चालू पुँजी मात्रै तिर्नुपर्ने हुन्छ, जसको फिक्स्ड क्यापिटलको किस्ताहरु तिर्नुपर्ने हुँदैन, त्यस्ता उद्योगहरु ‘ब्रेक-इभन’ मै होलान। उनीहरुले आधा बेच्दा पनि घाटा देखिँदैन। तर, सिमेन्ट तथा डन्डीको माग भने खासै बढेको भने होइन,’ न्यौपानेले भने।

यस्तै, जगशक्ति स्टिलका प्रबन्ध निर्देशक अनिल रुंगाटा डन्डी उद्योगमा केही सहजता आएपनि ढुक्क हुने अवस्था भने नरहेको बताउँछन्। डन्डीको माग केही बढेकाले राहत मिलेको उनले जानकारी दिए।

‘केही पहिले उत्पादनको ५०-६० प्रतिशत माग थियो। विकास निर्माणको काम केही बढेकाले माग सुधारात्मक थियो। तर, अहिले क्रसर उद्योगमा सरकारले कडाइ गरेपछि बालुवा, गिट्टीको अभाव हुँदा हामीलाई थप असर परिरहेको छ। यो अभाव टर्ने हो भने केही सहज हुने देखिन्छ,’ रुंगाटाले भने, ‘अझ पर्याप्त बिजुली उद्योगले नपाउँदा समस्या थपिएको छ। चालू पुँजी कर्जा मार्गदर्शनमा संशोधन भएपनि जति बढ्नुपर्ने थियो डन्डीको बजार त्यो हुन सकेन।’

सरकारी तथा निजी क्षेत्रबाट विकास निर्माणको काममा वृद्धि भएको हुँदा क्रसरमा सहजीकरण भए डन्डी उद्योग अझै सुधारिने रुंगाटाको भनाइ छ।

‘एक्कासी माग भने बढेको छैन है। बिजुली पनि कटौती भएकाले उत्पादन ५० प्रतिशतभन्दा बढी छैन। ८-९ घण्टाको लोडसेडिङ छ। उत्पादन पनि कम भएकाले केही सुधार देखिएको जस्तो भएको हो, तर राम्रो अवस्था भने छैन,’ रुंगाटाले भने।

यस्तै, अम्बे समूहका निर्देशक शिवाज न्यौपानेले ‘ब्रेक-इभन’ भन्दा पनि डन्डी उद्योगहरु निकै खराबबाट केही सुधारात्मक अवस्थामा पुगेको बताउँछन्। कुनै समय अत्यास लाग्दो अवस्था देखिएपनि अहिले बाटो देखिने स्थितिमा पुगेको बताए।

‘अहिले अलिकति डिमान्डमा पनि सुधार भएको छ। हामीले रेट पनि समात्न सकेका छौं। तर, समस्या भने अझै छ। बत्तीको समस्याले निकै अफ्ट्यारो पारेको छ। बिजुली आउने हो भने ‘ब्रेक-इभन’ मात्रै होइन उद्योगहरु नाफामै जाने स्थिति छ,’ न्यौपानेले भने, ‘बत्ती नआउने हो भने ‘ब्रेक-इभनमा’ पुग्न पनि कठिन हुन्छ। पर्याप्त बिजुली पाउने हो भने शतप्रतिशत उत्पादन गर्न सक्छौं। बत्ती पर्याप्त नआउँदा त्यही ७० प्रतिशत जति उत्पादन भइरहेको छ।

ऋण लिएकाहरुलाई उद्योगहरुलाई डन्डीमा प्रति केजी जम्मा ८० पैसा मात्रै भार परेको न्यौपाने दाबी गर्छन्।

‘बढी ऋण लिएपनि कम लिएपनि उद्योगले बढीभन्दा बढी उत्पादन गर्न सक्यो उनीहरुलाई गाह्रो छैन। जसले १० हजार/१५ हजार टन उत्पादन गर्न सक्यो ऊ नाफामा जाने भयो। चाहे उसको उद्योग ५० करोड होस् वा अर्बको। थोरै ऋणमा भएकाले पनि पर्याप्त उत्पादन गर्न सकेनन् भने उनीहरुलाई समस्या छ। फाइदामा पुग्ने देखिँदैन,’ न्यौपानेले भने।

त्यसैगरी, सरकारी तथ्यांकले भने गत वर्षको तुलनामा चालु वर्षको ६ महिनामा वस्तु बिक्री वितरण भने घटेको देखाउँछ। चालु वर्षको ६ महिनामा वस्तु बिक्री वितरणबाट मूल्य अभिवृद्धि कर (भ्याट) १३ अर्ब १६ करोड राजस्व उठेको छ। तर यो शीर्षकमा गत वर्षको सोही अवधिमा १४ अर्ब ६७ करोड राजस्व उठेको थियो।

सिमेन्ट तथा डन्डी उद्योगमा विस्तारै सुधार देखिएकाले सरकारी आयमा पनि सुधार हुने अपेक्षा गरिएको छ।