BIZMANDU
www.bizmandu.com

सिजनमै सुनको आयात शून्य हुँदा पनि कसरी चल्दैछ बजारको कारोबार ?

२०७९ माघ १४

सिजनमै सुनको आयात शून्य हुँदा पनि कसरी चल्दैछ बजारको कारोबार ?
सिजनमै सुनको आयात शून्य हुँदा पनि कसरी चल्दैछ बजारको कारोबार ?


काठमाडौं। विवाहको याम। गरगहनाका लागि सुनको किनबेच हुने मुख्य समय। यतिबेला मूल्य उच्च भए पनि कारोबार भइरहेकै छ। तर, मुलुकमा सुनको वैधानिक आयात ठप्प छ। कसरी चलेको छ बजार ?

Tata
GBIME
Nepal Life

पुस सुनचाँदी कारोबारको अफसिजन हो। बिगतमा माघमा कारोबारमा उलेख्य सुधार आउने गरेको थियो। मूल्य उच्च भइरहे पनि यतिबेला अत्यावश्यक परेकाहरुको भीड सुनचाँदी पसलमा छ। उनीहरुले गरगहना बनाएकै छन्।

चल्तीका व्यवसायिक प्रतिष्ठानमा सुनचाँदीको कारोबार भइरहेकै देखिन्छ।

सामान्यतया नेपाली बजारमा सुनको दैनिक कारोबार २० केजीभन्दा बढी नै हुने गरेको छ। सिजनमा दैनिक ४० केजीसम्म खपत हुन्छ। सिजनका लागि व्यवसायीले केही समय अघिदेखि नै सुन स्टक र गहना बनाएर राख्‍ने गर्छन्।

यतिबेला कारोबार सामान्य रहेको व्यवसायीले बताएका छन्। गत सातासम्म मूल्य बढेकाले फिर्ता सुनको परिमाणमा बढेको थियो। यो साता फिर्ता सुन आउन कम भएको छ भने कच्चा सुनको माग बढ्न थालेको छ। नेपालमा सुन आयात वाणिज्य बैंकहरुले गर्छन्। राष्ट्र बैंकले तोकेको कोटाअनुसार आयातित सुन बैंकसँग व्यवसायीले खरिद गर्छन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च भइरहँदा व्यवसायीहरुले बैंकसँग निकै कम परिमाण खरिद गर्दै आएका छन्। आयातका लागि कोटा बढाउन माग गर्ने व्यवसायी चुपचाप छन्। बैंकर्स संघले पनि वाणिज्य बैंकहरुलाई आयात बढाउन भनेको छैन, न व्यवसायीले भनेका छन्।

यस्तो परिस्थितिमा पनि बजारमा सुनको अभाव नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्‍न शाक्यले बताए। ‘माघको पहिलो सातायता बजारमा चहलपहल छ। बजारमा दैनिक २० केजी सुनको माग छ,’ उनले भने, ‘फिर्ता आउने पुरानो सुनले काम चलेको छ।’

उनका अनुसार भाउ उच्च भएकाले फिर्ता सुन ठूलो परिमाणमा थियो। उक्त सुन पनि बजारको माग धान्न सहयोग गरेको छ। पछिल्लो समय सुनको प्रयोग बढ्दो छ। शुक्रबार सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ छ। गत बिहीबार १ लाख ६ हजार ९ सय रुपैयाँ तोला पुगेको थियो।

गत पुसदेखि तोलाको एक लाखभन्दा माथी लागेको मूल्य घट्नुको साटो लगातार बढेको छ। बिहे, पूजाआजा, व्रतबन्धहरुमा पहेँलो धातुको प्रयोग अनिवार्यजस्तै पनि बनेको छ। यस्ता कार्यक्रममा सुनका गहना गहना उपहार दिने चलन छ। चलनलाई मान्नेहरुले यसपटक पनि औपचारिकता पुरा गर्दा सुनको कारोबार भयो। तर, व्यवसायीले बेंकसँग सुन खरिदको परिमाण नबढ्दा कसरी कारोबार चलेको छ भन्नेमा बजारले शंका बढाएको छ।

गत साता बैंकसँग १ सय ४ केजी सुन स्टक रहेको नेपाल बैंकर्स संघले जनाएको छ। व्यवसायीहरुसँग भएको स्टक र फिर्ता आएको सुनले गर्दा बैंकसँग भएको स्टक कम प्रयोगमा आएको हुनसक्ने तर्क केही बैंकर्सको छ।

बजारको कारोबार तस्करीको सुनले धानेको हुनसक्ने सम्भावना प्रबल छ। किनभने विमानस्थलबाट तस्करीको सुन उल्लेख्य परिमाणमा बरामद पनि भएका छन्।

के बजारमा चिनियाँ सुन भित्रिएको छ?
तस्करीको सुन भित्रिएको शंकामा व्यवसायी खण्डन गर्न तयार छन्। तर विवाहको साइत भएको माघ महिनामा बजारलाई सुनको अभाव नहुनुले शंका आधार बलियो बनाएको छ।

अवैध तरिकाले नेपालमा सुन भित्रिने गरेको घटना नयाँ होइन। वाणिज्य बैंकले आयात गर्ने सुन व्यवसायीलाई बिक्रीमा नेपाल सुनचाँदी व्यवसायी महासंघले समन्वय गर्छ। यतिबेला संघमा सुन खरिदका लागि सिफारिस लिने व्यवसायीहरु न्यून छन्।

सिजनको समयमा बजारमा थोरै भए पनि सुनको माग हुने भएकाले व्यवसायीले बैंकबाट खरिद गर्न महासंघमा सिफारिस लिने गर्छन्। तर, यसपटक व्यवसायीहरुसँग स्टकमा सुन छ। जसले गर्दा बैंकसँग खरिद गरेका छैनन्।

व्यवसायी स्रोतका अनुसार पछिल्लो समय उत्तरी नाकाबाट चिनियाँ सुन नेपाल भित्रिन थालेको छ। अवैधरूपमा सुन बजारमा भित्रिन थालेपछि बैंकले आयात गरेको सुन खरिदबिक्रीमा व्यवसायीको चासो नदेखिएको हो। ‘फिर्ता आउने सुनले बजारको माग धान्दैन, व्यापारीले बैंकबाट सुन उठाउन चासो नदिनुको मुख्य कारण बजारमा चोरबाटो भित्रिएकोले नै काम चलेको छ,’ स्रोतले भन्यो, ‘सुनको भाउ जत्ति बढे पनि सिजनमा कारोबार भएकै हुन्छ। यो कारोबारको सिजनमा पनि व्यापारीले सुन नउठाउँदा खास कारण के हो भनेर सरकारले खोज्न सक्नुपर्छ।’

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा केही दिन अघि १८ किलो सुनसहित सुडानी नागरिक पक्राउ परेका थिए। तरल पदार्थका रूपमा स्वरुप फेरेर भित्र्याउन लागेको उक्त सुन हालसम्म विमानस्थलमा एक जनाबाट बरामद उच्च परिमाण भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। उक्त सुन नेपाली भूमि भएर भारततर्फ लैजान ल्याइएको शंकामा अझै अनुसन्धान भइरहेको छ।

त्यस्तै, चिनियाँ सुन तातोपानी भन्सार नाका नभई खासादेखि भरियाहरुलाई बोकाएर बाह्रबिसेमा ल्याइने गरेको शंका छ। तातोपानी भन्सार प्रमुख अधिकृत दयानन्द केसी भन्छन् ‘चिनियाँ सुन आएको छ भन्ने सुनिएको छ तर भन्सार नाका हुँदै आएको होइन।’ खासाभन्दा माथिबाट सिन्धुपाल्चोकको बाह्रबिसेमाथि आइपुग्ने गरी सुन भित्रिने गरेको जानकारी आएको उनले बताए। ‘भरियाको रुपमा काम गर्ने नेपाली छन् भने सुन ल्याउने को-को हुन् भन्नेमा प्रहरीले छानबीन गरिरहेको छ,’ उनले भने।

सुनको लागि दीर्घकालीन योजना बनेको छैनः पूर्व अध्यक्ष शाक्य
नेपाली बजारमा मागमा अनुपातमा हाल आपूर्ति भइरहेको सुन सबै वैध आयातको भन्नेमा व्यवसायीबीच नै मत फरक छ। बजारलाई चाहिने परिमाणको सुन आपूर्तिका लागि सरकारको व्यवस्थापन पनि यसमा त्रुटिपूर्ण देखिएको छ।

आवश्यकताअनुसार आपूर्ति भए/नभएको जाँच्ने संयन्त्र सरकारले बनाएको चैन। सुन आपूर्तिका लागि दीर्घकालीन योजना नबन्दा तस्करी बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्‍न शाक्यले बताए।

‘बजारमा कति सुन चाहिन्छ ? आयातितले बजार माग कति धान्छ ? यसप्रति सरकारले ध्यान नदिँदा बजारमा कहाँबाट सुन आउँछ भन्नेमा बाटो प्रष्ट छैन,’ उनले भने।