BIZMANDU
www.bizmandu.com

जाडो छिटै जाँदा दरबारमार्ग ब्राण्डेड शपका व्यापारी तनावमा, विन्टर सेलबाट स्टक क्लियर गर्दै

२०७९ माघ १३

जाडो छिटै जाँदा दरबारमार्ग ब्राण्डेड शपका व्यापारी तनावमा, विन्टर सेलबाट स्टक क्लियर गर्दै
जाडो छिटै जाँदा दरबारमार्ग ब्राण्डेड शपका व्यापारी तनावमा, विन्टर सेलबाट स्टक क्लियर गर्दै


काठमाडौं। दरबारमार्गको ब्राण्डेड शपहरुमा माघको पहिलो साता नै विन्टर सेलको अफर लाग्न सुरु भयो। अघिल्ला वर्ष माघको तेस्रो साता यस्ता विन्टर सेल लाग्ने गर्थे।

Tata
GBIME
Nepal Life

माघकै पहिलो साता किन विन्टर सेल लाग्यो ? यो पटक जाडो माघमै विस्तारै कम हुन थालेपछि व्यवसायीले स्टक बस्ने डरले एकाएक विन्टर सेलको बोर्ड झुन्ड्याउन थालेका हुन्।

एडिडास, लिभाइज, पिटर इङल्याण्ड, मिटर्सवानवी, सोच, केटीएम सीटी, पुमा लगायत विभिन्न ब्राण्डेड आउटलेटमा १० देखि ८० प्रतिशतसम्म छुटमा जाडोका पहिरनहरू बिक्रीका लागि राखिएको छ। यी ब्राण्डेड स्टोरहरूले आकर्षक छुटसहित ग्राहक कुरिरहेका छन्।

भारतीय परम्परागत लुगाहरूको ब्राण्ड सोचको आउटलेटमा विन्टर सेल लागेको १५ दिन बढी भइसकेको छ। यहाँ जाडो मौसममा लगाउने कुर्ता, टप्स लगायतका लुगाहरूमा १० प्रतिशतदेखि ५० प्रतिशत सम्मको छुट दिइएको छ। 

यो स्टोरको सञ्चालक भन्छिन्, ‘यसपाली खासै चिसो भएको छैन। यो पटक पानी पनि परेको छैन। दैनिक झन्झन् चिसो कम हुँदै गएको छ। जलवायु परिवर्तन स्पष्ट छ। गर्मी छिट्टै आउने जस्तो देखिएको छ। त्यसैले पनि यसपाली एक महिनाअघि नै सेल लगाएका हौं।’

यस वर्षको जाडोको पहिरनहरू स्टक बस्ने डरले छिटै विन्टर सेल अफर ल्याएको उनी बताउँछिन्, ‘अर्को जाडो आउँदासम्म यसपालीको पहिरनहरूको कलेक्सन फेज आउट भइसक्छ। त्यसैले पनि स्टक नबसोस् भनेर सेल छिट्टै लगायौं।’

यस बाहेक पनि दरबारमार्गका व्यवसायीहरूलाई पार्किङको समस्याले पिरोलेको छ। गाडी लिएर दरबारमार्गमा किनमेलका लागि आउनेले पार्किङ नै पाउँदैन। त्यसैले ग्राहक घटे। काठमाडौंका मेयर बालेन्द्र शाहले दरबारमार्गमा लगभग एक महिना अगाडि सवारी पार्किङ हटाएका थिए।

पुमा ब्राण्डका स्टोर म्यानेजर पियुषमान मानन्धरका अनुसार पार्किङको व्यवस्था नहुँदा पनि जाडो व्यापारलाई नराम्रो असर परेको छ। दरबारमार्ग विकास बोर्डले मेयरको यो निर्णयले दरबारमार्गको व्यापारमा ५० प्रतिशतसम्म कमी आएको दाबी गरेको छ।

उनी भन्छन्, ‘यहाँ सपिङ गर्न आउनेहरू अधिकांश सवारीधनीहरू हुन्। पार्किङको सुविधा नहुँदा हाम्रोमा फुटफल एकदमै घटेको छ। यो जाडोमा मौसमले पनि साथ दिएको छैन।’ 

विगत एक हप्तादेखि पुमा स्टोरमा विन्टर सेल लागेको छ। ज्याकेट, स्वेटर सर्ट, हुडी लगायतका जाडोको पहिरनमा ३० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनले बताए। यो वर्ष व्यापार गत वर्ष भन्दा ३० प्रतिशतले घटेको छ।

मिटर्स वोन्वे स्टोरमा पनि जाडो मौसममा ५० प्रतिशतसम्मको छुट दिएको छ। यो स्टोरको कर्मचारी भन्छिन्, ‘यस पटक बिक्री एकदमै डाउन छ। मौसम र पार्किङ दुवैले व्यापार घटेको छ।’

दरबारमार्गको केटीएम सीटीमा पनि विन्टर वेयरहरूमा ८० प्रतिशतसम्मको सेल लागेको छ। एडिडासमा पनि माघमै विन्टर सेल लागेको छ। 

 पियुष भन्छन्, ‘सेलले गर्दा केही हदसम्म फुटफल पनि बढाएको छ।’

मौसमको समस्याको उपाय गर्न नसकेपनि पार्किङको समस्याको हल खोज्न दरबारमार्ग विकास बोर्डले पहल गरिरहेको छ।बोर्डले पहिला भइरहेको पार्किङलाई यथावत राख्‍न पहल गरेको छ। बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरेर चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइसकेको छ।