BIZMANDU
www.bizmandu.com

फिलिपिन्समा विलासी वस्तुको प्रतीक बन्यो प्याज, महँगी १४ वर्ष यताकै उच्च

२०७९ माघ १३

फिलिपिन्समा विलासी वस्तुको प्रतीक बन्यो प्याज, महँगी १४ वर्ष यताकै उच्च
A customer buys onions at a market in Manila on January 11, 2023. - The Philippines’ department of agriculture plans to import 22,000 metric tons of onions to address the supply gap that has caused prices to skyrocket. (Photo by JAM STA ROSA / AFP)


काठमाडौं। महँगी अचाक्ली बढेको फिलिपिन्समा प्याज किन्न सक्नेले सम्भ्रान्त वर्ग कहलिने अवस्था आएको छ। खाद्यान्न र इन्धनको मूल्यवृद्धि हुँदा जनजीवन प्रभावित भएको राजधानी मनिलामा मासुभन्दा प्याज महँगो छ।

Tata
GBIME
NLIC

गत महिना प्याजको मूल्य प्रतिकिलो ७०० पेसो अर्थात् १२.८० डलर (१०.४० पाउन्ड) पुगेको थियो, जुन मासुको मूल्य र दक्षिणपूर्वी एसियाली मुलुकहरुको दैनिक न्यूनतम ज्यालाभन्दा बढी हो।

२०२१ को तथ्यांक अनुसार फिलिपिन्सको दैनिक न्यूनतम ज्याला दर ६.५७ डलरदेखि ११.१७ डलरसम्म छ। खाद्यान्न तथा इन्धनको मूल्य अचाक्ली बढ्न थालेपछि महँगी दर १४ वर्ष यताकै उच्च छ। 

दैनिक रूपमा तीनदेखि चार किलो प्याज खरिद गर्दै आएका रेस्टुरेन्ट व्यवसायीले नै दैनिक खपत आधा किलोमा झरिसकेको छ। उनीहरुले बीबीसीलाई बताए अनुसार ३/४ किलो किन्ने मूल्यले अब आधा किलोभन्दा बढी किन्न सकिँदैन। 

प्याजले धेरै परिकारहरू मिठास दिने हुँदा रेस्टुरेन्ट मात्र होइन आम घरपरिवारलाई समेत गाह्रो भइरहेको अवस्था छ। फिलिपिनो परिकारमा मुख्य सामग्री रहेको प्याज हाल जीवनयापनको बढ्दो लागतको प्रतीक बनेको हो। 

विलासी वस्तुको प्रतीक हुन थालेपछि विवाह जस्ता समारोहमा फूल छाडेर प्याज र तरकारीका परिकार विशेष आकर्षणमा राखिन थालिएको छ। दुलहा-दुलही फूलको बुके छाडेर प्याजको गुच्छा लिएर फोटसुट गर्न थालेका छन्। 

खाद्यान्नको बढ्दो मूल्यले ‘स्ट्रीट फूड’ र ‘स्टल’हरूलाई पनि असर गरिरहेको छ। जुन स्थानीय र पर्यटकहरूमाझ निकै लोकप्रिय छन्। फिलिपिन्समा प्याज तस्करीको समस्या समेत ह्‍वात्तै बढेको छ। कतिपय तस्करीका कारण समातिएका पनि छन्।

महिनाको सुरुमा, फिलिपिन्स एयरलाइन्सका १० जना चालक दलका सदस्यहरूलाई लगेजमा झण्डै ४० किलो प्याज र फलफूल तस्करी गर्ने प्रयास गरेकोमा अनुसन्धान गरिएको थियो। 

२०२२ को अन्तयसम्म फिलिपिन्सको मुद्रास्फीति दर ८.१ प्रतिशत पुगेको हो। अघिल्लो पटक यस्तो उच्च मुद्रास्फीति दर नोभेम्बर २००८ मा थियो। यता फिलिपिन्समा उपभोक्ता मूल्य सूचकांकमा सबैभन्दा महत्त्वपूर्ण हिस्सा खाना र गैर-मादक पेय पदार्थको रहेको छ। जुन कुल सूचकको ३९ प्रतिशत अंश हो। 

बढ्दो खाद्यान्न मूल्यले ‘आपतकालीन अवस्था’ को संकेत गरेको समीक्षकहरुले टिप्पणी गर्न थालेका छन्। यस महिनाको सुरुवातमा प्याजको आपूर्ति बढाउने प्रयासमा रातो र पहेंलो प्याजको आयातलाई त्यहाँको कृषि मन्त्रालयले स्वीकृति समेत दिएको थियो।

विज्ञहरूका अनुसार फिलिपिन्सको अर्थतन्त्र पुन: खुल्ला भए लगत्तै माग आकाशिएको छ। अर्को पट्टी कठोर मौसमको परिस्थितिले प्याजलगायत खाद्यान्नको उत्पादनलाई गम्भीर असर गरेको हो। केही महिनाअघि फिलिपिन्समा दुई शक्तिशाली आँधीले त्यहाको बालीमा ठूलो क्षति पुर्‍याएको थियो।