BIZMANDU
www.bizmandu.com

हिन्डेनबर्गको ‘रिपोर्ट’ले अडानी ग्रुपमाथि गम्भीर प्रश्न, सेयर बजारबाट एकै दिन खर्बौ गुम्यो

२०७९ माघ १३

हिन्डेनबर्गको ‘रिपोर्ट’ले अडानी ग्रुपमाथि गम्भीर प्रश्न, सेयर बजारबाट एकै दिन खर्बौ गुम्यो
हिन्डेनबर्गको ‘रिपोर्ट’ले अडानी ग्रुपमाथि गम्भीर प्रश्न, सेयर बजारबाट एकै दिन खर्बौ गुम्यो

एक अमेरिकी अनुसन्धान संस्थाले सार्वजनिक गरेको नकारात्मक प्रतिवेदनका कारण विश्वकै तेस्रो धनाढ्य भारतीय गौतम अडानीको कम्पनी अडानी ग्रुपका सेयरधनीहरुले एकै दिन १० खर्ब भारु गुमाएका छन्।

Tata
GBIME
Nepal Life

न्युयोर्कस्थित इन्भेष्टमेन्ट रिसर्च फर्म हिन्डेनबर्गले अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गर्ने गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरे लगत्तै बुधबार अडानी ग्रुपका कम्पनीहरुको सेयर १० प्रतिशतसम्मले घट्यो।

उक्त प्रतिवेदनमा अडानी ग्रुप अफ कम्पनीजले लामो समयदेखि कम्पनीका सेयरमा चलखेल गर्ने गरेको र विभिन्न झुटा वित्तीय विवरण सहितका स्किमहरुमा संलग्न रहेको आरोप लगाएको छ।  हिन्डेनबर्गले प्रतिवदेनमा अडानीको परिवार र उनीहरुको ग्रुप अफ कम्पनीजले सेयर मूल्यमा चलखेल गर्ने तथा अफसोर कम्पनीहरुलाई प्रयोग गरी फर्जी कारोबार गर्ने गरेको उल्लेख छ।

हिन्डेनबर्गले त्यस्ता ३८ कम्पनीहरु पहिचान गरेको बताएको छ, जुन मोरिससमा छन्। यसलाई गौतम अडानीका दाजु विनोद अडानीले सञ्चालन गर्छन्।

यस्तै साइप्रस, यूएई, सिंगापुर र केही क्यारेबियन टापुहरुमा यस्तै किसिमका फर्महरु खडा गरिएका छन्। यी कम्पनीहरु ‘स्टक म्यानुपुलेसन’ र ‘मनी लन्ड्रिङ’का लागि प्रयोग हुन्छन्। अडानी ग्रुपको लिस्टेड फर्महरुको वित्तीय विवरण उत्कृष्ट देखाउनका लागि यी कम्पनीहरु प्रयोग हुने गरेको प्रतिवदेनमा उल्लेख छ।

यो प्रतिवेदनले लगानीकर्ता, पत्रकार, आम नागरिकका साथै राजनीतिक नेतृत्वहरुप्रति पनि गम्भीर प्रश्‍न उठाएको छ। खुलेआम भइरहेको यति ठूलो र स्पष्ट जालसाजीबारे कोही पनि नबोलेको भन्दै आलोचना समेत गरेको छ।

सो प्रतिवेदन आए लगत्तै अडानी इन्टरप्राइजको सेयर एकैदिन ३ प्रतिशतले घट्यो। यस्तै अडानी पोर्टसको पनि सेयर ६.५ प्रतिशतले तल झर्‍यो।  अडानी विलमारको सेयर ५ प्रतिशत, अडानी पावरको ४;७ प्रतिशत, अडानी ट्रान्समिसनको ५.१९ प्रतिशत, अडानी टोटल ग्यासको ४.७७ प्रतिशत र अडानी ग्रीन इनर्जीको सेयर ३.५५ प्रतिशतले तल झर्‍यो।

हालै मात्र अडानी ग्रुपले लिएको न्यु दिल्ली टेलिभिजन (एनडीटीभी)को पनि सेयर ५ प्रतिशतले झरेको छ। अम्बुजा सिमेन्ट ८ प्रतिशतले र हालै अक्वायर गरेको एसीसीको सेयर पनि ६.६ प्रतिशतले तल झरेको छ।

हिन्डेनबर्गको प्रतिवेदनका अनुसार कम्पनीले लामो समयदेखि आफ्नो कम्पनीका सेयरहरुलाई ‘सर्ट’ पोजिसनमा राख्दै आएको छ। वित्तीय भाषामा सर्टको अवस्था भन्नाले लगानीको यस्तो अवस्था हो, जहाँ सम्पत्तिको मूल्य घट्दा लगानीकर्ता नाफामा रहन्छ। यो परम्परागत शैलीभन्दा विपरीत छ, परम्परागत शैलीमा लगानीकर्ताले सम्पत्तिको मूल्य बढेमा कमाउँछन्। तर, सर्ट पोजिसनमा भने सम्पत्तिको मूल्य घट्दा लगानीकर्ताले अझ नाफा कमाउँछ।   

कम्पनीले ‘यूएस ट्रेडेड बण्ड’ र ‘नन-इन्डियन ट्रेडेड डेरिभेटिभ्स’को माध्यमबाट अडानी ग्रुपको कम्पनीको सर्ट सेलिङ गरिरहेको हिन्डेनबर्गको प्रतिवेदनमा उल्लेख छ।

केही वर्ष यता अडानी ग्रुपका सेयर मूल्य निकै आकासिएको देखिन्छ। विगत पाँच वर्षयता ग्रुपको फ्ल्यागसिप कम्पनी अडानी इन्टरप्राइजेजको सेयरमा मात्रै २५००% को वृद्धि भइसकेको छ। कम्पनीका सेयरहरुको मूल्यांकन उच्च भइरहेको अवस्थामा हिन्डेनबर्गले कम्पनीको वित्तीय अवस्थाको वास्तविकतामाथि प्रश्‍न गरेको छ।  

हिन्डेनबर्गले यो प्रतिवेदन यस्तो समयमा सार्वजनिक गरेको छ जतिबेला अडानी इन्टरप्राइजेजले आफ्नो २०० अर्ब भारु अर्थात २ अर्ब ४५ करोड डलर बराबरको फलो अन पब्लिक अफर (एफपीओ) जारी गर्न लागेको थियो। शुक्रबार कम्पनीले जारी गर्न लागेको उक्त एफपीओ कुनै पनि भारतीय कम्पनीले ल्याउने अहिलेसम्मकै सबैभन्दा ठूलो एफपीओ हो।

रिपोर्टमा हिन्डेनबर्गले कम्पनीको एकाउन्टिङ र कर्पोरेट गभर्नेन्ससँग जोडिएका धेरै तथ्यहरुमाथि प्रश्‍न उठाएको छ।

यस प्रतिवेदनका कारण कम्पनीका सेयर मूल्यहरुमा गिरावट आउनुका साथै गौतम अडानीकै व्यक्तिगत सम्पत्तिमा पनि धक्का लागेको छ। हिन्डेनबर्गको प्रतिवेदन आए लगत्तै अडानीको सम्पत्तिमा ६ अर्ब ४० करोड डलरको गिरावट आएको छ।  

हाल उनको नेटवर्थ १२० अर्ब डलर छ। सम्पत्ति यसैगरी गिरावट आइरहे अर्बपतिको सूचीमा तेस्रो नम्बरमा रहेका उनको स्थान चाँडै नै चौथोमा रहेका जेफ बेजोसले लिन सक्ने अनुमान गरिएको छ।

उक्त प्रतिवेदन, नियोजितरुपमै कम्पनीको साख गिराउनका लागि हिन्डेनबर्गले सार्वजनिक गरेको अडानी ग्रुपका सीएफओ जुगसिन्दर सिंहले विज्ञप्तिमार्फत भनेका छन्।

कम्पनीले एफपीओ जारी गर्न लागेको केही दिन अघि सार्वजनिक गरिएको उक्त प्रतिवेदनलाई झुठो भन्दै उनले अस्वीकार समेत गरेका छन्। उनले प्रतिवेदनलाई भ्रामक, आधारहीन र गलत तथ्यहरुमा आधारित रहेको भन्दै गलत आरोप लगाएको दाबी गरे।

‘प्रतिवदेन तयार पार्ने सिलसिलामा हिन्डेनबर्गले कम्पनीका अधिकारीसँग कहिल्यै सम्पर्क नगरेको र अडानी ग्रुपको प्रतिष्ठामा आँच ल्याउने प्रमुख उद्देश्यका साथ एफपीओ सार्वजनिक गर्नै लागेको समयमा यो प्रतिवेदन सार्वजनिक गरिएको’ उनले विज्ञप्तिमा भनेका छन्।  

यस्तै कम्पनीका लिगल हेड जतिन जलुन्धवालाले यसबारेमा कानुनी उपचार खोज्ने तयारी भइरहेको बताएका छन्। थप कारवाहीमा जानका लागि अमेरिकी र भारतीय कानुनी प्रावधानहरु हेरिरहेको उनले विज्ञप्तिमार्फत बताए। 

विज्ञप्तिमा उक्त प्रतिवेदनले कम्पनीको मात्र नभई समग्र भारतीय सेयर बजारलाई नै प्रभावित बनाउने सिर्जना भएकाले यो प्रतिवेदनप्रति गम्भीर भएर कानुनी उपचार खोज्ने उल्लेख छ।

हिन्डेनबर्गले तयार पार्ने  प्रतिवेदन सन् २०२० देखि नै चर्चामा रहने गरेको छ । यसअघि कम्पनीले इलेक्ट्रिक ट्रक कम्पनी निकोलाको बारेमा लेखेको प्रतिवदेनका कारण त्यसका संस्थापक ट्रेभोर मिल्टनको पतन भएको थियो। निकोलाले पनि दर्जनौं झुठको जगमा कम्पनी खडा गरेको र त्यसको अवैध कारोबारको दोषी मिल्टन रहेको आरोप प्रतिवेदनले लगाएको थियो। त्यस लगत्तै अनुसन्धान सुरु भयो जसमा मिल्टन दोषी पाइएका थिए।

हिन्डेनबर्गले क्लोभर हेल्थ एण्ड इलेक्ट्रिक भेहिकल मेकर लर्ड्स्टाउन मोटर्सबारे पनि प्रतिवदेन सार्वजनिक गरेको थियो। यस्तै हिन्डेनबर्गले गत वर्षको जुलाइमा इलन मस्कको ट्‍वीटर खरिद योजनाको ‘प्लट’का बारेमा पनि खुलासा गरेको थियो।