BIZMANDU
www.bizmandu.com

युवा उद्यमी प्रेम आचार्यको आत्मदाहपछि जबरजस्त उठ्यो उधारो कानुनको मुद्दा

२०७९ माघ १२

युवा उद्यमी प्रेम आचार्यको आत्मदाहपछि जबरजस्त उठ्यो उधारो कानुनको मुद्दा
युवा उद्यमी प्रेम आचार्यको आत्मदाहपछि जबरजस्त उठ्यो उधारो कानुनको मुद्दा

काठमाडौं। बजारबाट उधारो नउठ्दा मंगलबार युवा उद्यमी प्रेमप्रसाद आचार्यले आत्मदाह गरे। उनले विभिन्न ठूला व्यवसायिक घरानालाई आफ्ना उत्पादन बेचे पनि पैसा नपाएर आत्मदाह गर्न लागेको सामाजिक संजालमा लेखेका थिए।

Tata
GBIME
Nepal Life

उनको आत्मदाहपछि उधारोको चक्रले कसरी साना, मझौला र ठूला उद्योगीलाई गाँज्दै लगेको छ भन्ने तस्वीर बाहिरिएको छ। आचार्यको आत्मदाहपछि उधारो भयावह बनेको र त्यसका लागि छुट्टै कानुनको समेत वकालत हुन थालेको छ। केही वर्षदेखि ठूला उद्योगी व्यवसायीले जबर्जस्त रूपमा उठाएको उधारो कानुन तत्कालै ल्याउनुपर्ने देखिएको छ।

उधारो कानुनका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले तत्कालै कानुन ल्याउन माग गरेका छन्। उद्योगीले मागेको कानुन बनाउन सरकार पनि तयार देखिएको छ।

अर्थ मन्त्रालय कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख डा. अर्जुनकुमार खड्काले उधारो कानुनको आवश्यकता भए ल्याउन सकिने बताउँछन्। उनले भने ‘संविधानको अधीनमा रहेर कानुन ल्याउन कुनै समस्या छैन।’

दुई पक्षबीच विश्वासका आधारमा उधारो कारोबार हुन्छ। यही उधारो नउठ्दा व्यवसायी ऋणको भारमा पर्न थालेका छन्। आर्थिक मन्दी नहुँदा जसोतसो व्यवस्थापन गरेका व्यवसायी अहिले समस्यामा परेर संकटमा पर्न थालेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका बताउँछन्।

उद्योगी मुराकाले भने ‘हामी चालु पुँजी कर्जाको कुरा गर्छौं। बैंकले स्टक र बजारमा कति उठ्न बाँकी छ दुवैलाई हेर्ने गर्छ। म बैंक र राष्ट्र बैंकलाई कुनै व्यवसायीले उधारो दिएको छ भने पोस्ट डिटेक्ट चेक अनिवार्य गर्नुपर्छ।’

उदाहरणका लागि व्यवसायीले ३० दिनको उधारो कसैलाई दिन्छ भने सो मितिको चेक अनिवार्य रुपमा अगाडि नै चाहिन्छ। चालु पुँजी कर्जामा अहिले धितो आवश्यक छैन।

व्यवसायी मुरारकाले थपे ‘कुनै ऋणीले कुनै बैंकको ऋण तिरेको छैन भने सबै बैंकलाई जानकारी हुन्छ। कर्जा सुरक्षण केन्द्रले यसको जानकारी दिएको हुन्छ। तर व्यवसायीका लागि यो सुविधा छैन। निजी क्षेत्रलाई पनि कुन व्यवसायीले कसको कति उधारो तिर्न बाँकी छ भन्ने हेर्नका लागि छुट्टै संयन्त्र चाहिन्छ।’

अहिलेको मुख्य समस्या १० जनाबाट एकै व्यक्तिले उधारो लिने र त्यसपछि त्यो उधारो तिर्न नसक्ने अवस्था आएको मुरारकाले बताए।

‘उधारो लिनेले भने सामान बेचेर आएको रकम सेयर र घरजग्गामा लगाएका हुन्छन्। अहिले सेयर र जग्गामा लगाएका डुबेका छन्,’ उनले भने, ‘त्यही भएर उधारो उठाउने कानुन र उधारोका बारेमा जानकारी राख्ने संयन्त्र तत्कालै आवश्यक छ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मंगलबार भएको दु:खद घटनापछि उधारो कानुन तत्कालै ल्याउन आवश्यक भएको बताए।

‘क्रेडिट रिकभरी कानुन सबै देशमा हुन्छ। तर कसैले भ्याट बिल काटेर सामान बेचेको छ भने उसले आफ्नो पैसा फिर्ता लिने अधिकार हुनुपर्छ,’ उनले भने, ‘हामीले यही समस्या देखेर भिजन पेपरमा समेत राखेका थियौं।’

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उधारो कारोबार गर्ने प्रवृत्तिले वस्तु तथा सेवाको मूल्य समेत बढेको बताउँदै यसलाई रोक्न कानुन आवश्यक भएको बताए। उनका अनुसार उधारोमा कारोबार हुँदा क्रेताले पनि बढी पैसा खर्चिने र बिक्रेताले पनि धेरै मार्जिन राख्‍ने गर्छन्।

विदेशमा पनि हुन्छ उधारो कानुन

उधारो कानुन विश्वका विभिन्न देशमा लागू भएको छ। भारतमा समेत उधारो कानुन कार्यान्वयनमा छ।

कानुनमा तोकिएको समयमा ऋण तिर्न नसकेमा जरिवाना समेत तिर्नुपर्ने हुन्छ। उधारो लगेका व्यवसायीले रकम नतिरे बिक्रेता मुद्दामा जान सक्छ। यसरी ऋण नतिरेको खण्डमा क्रेता कालोसूचीमा समेत पर्न सक्छन्।

राष्ट्र बैंकका एक कर्मचारीले भने ‘नेपालमा उधारो कानुन जरुरी छ। विश्वका विभिन्न देशले अपनाएको कानुन नेपालले पनि लागू गर्न सक्छ।’ ती कर्मचारीका अनुसार उधारो उपभोक्ताले भन्दा बिक्रेताले पाउने गरेको र उनीहरुले त्यो पैसा घर र जग्गामा लगानी गर्दा समस्या आएको हो।