BIZMANDU
www.bizmandu.com

प्रिमियर स्टिलले आफ्नै फर्नेस प्लान्टबाट बिलेटको उत्पादन थाल्यो, दैनिक ४०० टन उत्पादन


प्रिमियर स्टिलले आफ्नै फर्नेस प्लान्टबाट बिलेटको उत्पादन थाल्यो, दैनिक ४०० टन उत्पादन
प्रिमियर स्टिलले आफ्नै फर्नेस प्लान्टबाट बिलेटको उत्पादन थाल्यो, दैनिक ४०० टन उत्पादन

विराटनगर। मोरङको प्रिमियर स्टिल प्रा.लि.ले आफ्नै फर्नेस प्लान्ट (मेल्टिङ युनिट)–बाट बिलेटको उत्पादन सुरु गरेको छ ।

Tata
GBIME
Nepal Life

प्रिमियर स्टिलले शिलान्यास गरेको १४ महिनामै फर्नेस प्लान्टको व्यावसायिक उत्पादन गर्न थालेको हो । प्रिमियर स्टिलमा शिवरतन शारडाको नेतृत्वमा रहेको शारडा ग्रुप र नन्दकिशोर राठीको नेतृत्वमा रहेको एके राठी ग्रुपको लगानी छ ।

हालै उत्पादन सुरु गरिएको फर्नेस प्लान्ट (मेल्टिङ युनिट)–मा चालु पुँजीसहित २५० करोडको लगानी रहेको बताइएको छ । प्रिमियरमै यसअघि २०७४ पुसदेखि सञ्चालनमा आएको बिलेटमा आधारित रोलिङ मिलमा १५० करोडको लगानी थियो । अब प्रिमियरको कुल लगानी ४०० करोड पुगेको छ ।

‘हामीले १५ नोभेम्बर २०२१ मा फर्नेस प्लान्टको शिलान्यास गरेका थियौँ’, उद्योगका सञ्चालक अनुपम राठीले भने, ‘ठिक १२ महिनापछि १५ नोभेम्बर २२ कै दिन यसबाट परीक्षण उत्पादन (ट्रायल प्रोडक्सन) गर्यौँ । व्यावसायिक उत्पादन गर्न भने माघ ९ गतेको साइत पर्खनुपर्यो । अब हामी पूर्णतः व्यावसायिक उत्पादनमा छौँ ।’

अब प्रिमियर स्टिलबाट व्यावसायिक रूपमा बिलेट, टीएमटी छड र स्क्वायर रडको उत्पादन हुन्छ ।

उनले प्रिमियरले आयातित बिलेटबाट २०७४ को पुसदेखि टीएमटी छडको उत्पादन सुरु गरेको बताए । त्यस वेला दैनिक ८ सय टन क्षमताको बिलेटमा आधारित रोलिङ मिलको स्थापना गरेको उनले सुनाए । हालै उत्पादनमा आएको फर्नेस प्लान्टको क्षमता भने दैनिक ५ सय टन मात्र हो ।

‘हामीले विद्युत् प्राधिकरणसित ३७ मेगावाट बिजुली मागेका थियौँ तर प्राधिकरणले २५ मेगावाट मात्र दिनसक्ने बताएपछि ५०० टन क्षमताको फर्नेस लगाएका हौँ’, राठीको भनाइ थियो, ‘प्राधिकरणले ३७ मेगावाट बिजुली दिन थालेपछि हामी ३ महिनामै यसको क्षमताविस्तार गरेर ८०० टन पुर्याउने छौँ ।’

प्रिमियरले हाल दैनिक ४०० टन मात्र उत्पादन गरिरहेको छ ।

बिलेट उत्पादन गर्ने फर्नेस प्लान्टका मुख्य कच्चा सामग्रीमा फलामे स्क्र्याप, स्पन्ज आइरन र पिग आइरन पर्दछन् । उद्यमी अनुपमले फलामे स्क्र्याप पनि बेलायतबाट आयात गरिरहेको जानकारी दिए ।

‘अब मोरङ–सुनसरीमै तीन वटा फर्नेस प्लान्ट भइसकेका छन्, अर्को केही समयमै सुरु हुनेछ’, उनले भने, ‘त्यसैले अब स्वदेशी स्क्र्यापले हामीलाई नपुग्ने भएको छ । यसको आयात अनिवार्य भइसकेको छ ।’

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा प्रिमियर स्टिलसहित मुरारका समूहको पशुपति आइरन, स्वस्तिक समूह र गोल्छा समूहको स्वस्तिक रोलिङमा फर्नेस प्लान्ट सञ्चालनमा आइसकेको छ । युक्ति गोल्छाले नेतृत्व गरिरहेको हुलास वायर इन्डस्ट्रिजले आगामी महिनादेखि फर्नेस सञ्चालनमा ल्याउने बताइएको छ ।