BIZMANDU
www.bizmandu.com

देशमा चलेको ‘सिस्टम’ले असफल भएका प्रेम, जसको आत्मदाहले उब्जिएका प्रश्नैप्रश्न

२०७९ माघ ११

देशमा चलेको ‘सिस्टम’ले असफल भएका प्रेम, जसको आत्मदाहले उब्जिएका प्रश्नैप्रश्न
देशमा चलेको ‘सिस्टम’ले असफल भएका प्रेम, जसको आत्मदाहले उब्जिएका प्रश्नैप्रश्न


काठमाडौं। इलामका प्रेम आचार्यले काठमाडौंमा संसद भवनको गेट अगाडि गरेको आत्मदाहले धेरैको मन हल्लाइदिएको छ। धेरैलाई विक्षिप्त बनाइदिएको छ।

Tata
GBIME
Nepal Life

एक ३६ वर्षका युवा, जसले उद्यमशीलताको महत्त्वाकांक्षा राखे। त्यही महत्त्वाकांक्षालाई मूर्त रूप दिन भएभरको जायजेथा लगाए। परिश्रम र लगनको साथ काम गरे। तर देशमा चलेको ‘सिस्टम’ले उनलाई असफल बनायो। जतिसुकै कोसिस गरिरहे पनि एकपछि अर्को असफलताले पछ्याइरहँदा उनी देहत्याग गर्ने कठोर निर्णयमा पुगे।

देश यतिबेला क्रोनी क्यापिटालिज्म (आसेपासे पुँजीवाद) ग्रस्त छ। जो राजनीतिक दलसँग नजिक छन्, उनीहरु संरक्षित हुने र उनीहरु नै फस्टाउने समय छ। आसेपासे पुँजीवादमा नपरेका व्यक्तिले उद्यम गर्न सक्दैनन्। सुरु गरिहाले पनि प्रेमजस्तै दुखद बाटोमा जानेसम्मका घटनामा परेका छन्।

२०६२/६३ को जनआन्दोलनपछि बनेका सरकारले आसेपासे पुँजीवादलाई फक्रिने मौका दिए। अहिले उनीहरुकै रजगज छ। जो राजनीतिक दलसँग नजिक छ, त्यसले मात्रै व्यवसाय विस्तार गर्न पाउँछ। राज्यले दिने अनुदान पनि त्यही र त्यस्तै समूहले पाउने वातावरण तयार भयो। कृषिको सहुलियतपूर्ण ऋण ठूला घरानाले मात्रै पाउने, राष्ट्र बैंकले दिने पुनर्कर्जा पनि उनीहरुकै पकडमा हुने तर प्रेमजस्ता कतै पनि राजनीतिक नातो नभएका आम नागरिकले भने आफ्नै उत्पादन बेच्दा पनि पैसा नपाउने ‘सिस्टम’ तयार  भयो। त्यही ‘सिस्टम’ सुधारका खातिर प्रेमले आफ्नो जीवन असाध्यै पीडादायी ढंगले त्याग्नु पर्‍यो।

हो, प्रेमले त्यही सिस्टमको विरुद्धमा आत्मदाह गरेका हुन्। उनलाई आत्महत्याको बाटोसम्म पुर्‍याउने यो सिस्टमको सुधार गर्न सकिएन भने भोलि धेरै प्रेमहरुले आत्मदाह गर्न बाध्य हुनुपर्ने समय आउन सक्छ। राज्य सबैको हो, राज्यले सबैलाई बराबर गर्नुपर्छ भन्ने मान्यता स्थापित नहुँदा बेला बेला यस्ता घटना हुने गर्छन् भन्ने कुरा राज्य संचालकले बुझ्न आवश्यक छ।

तर, राज्य संचालकहरु अहिले पनि सामान्य माफी मागेर यो घटनालाई सामान्यकृत गर्न खोजिरहेका छन्। सत्ताको तालाचाबी लिएर राज्य संयन्त्रमा बस्नेहरुले यतिबेला जे गरिरहेका छन्, सतहमा देखिन आएका ती तमाम दृश्यहरु केवल भद्दा मजाक मात्रै हो। राज्य संचालन तहमा बसेकाहरुले यति गम्भीर प्रकृतिको घटनामा माफी मागेर मात्रै उम्किन मिल्दैन। यो सिस्टम सुधारका लागि तत्कालै पहलकदमी लिनुपर्छ। राज्यले कसैलाई काखा र पाखा गर्न हुँदैन। र, गर्दैन भनेर आम नागरिकलाई आश्वस्त बनाउनुपर्छ।

कुनै ठूला उद्योगी व्यापारीलाई सहुलियतपूर्ण ऋण, ब्याजमा सहुलियत लगायतका बम्पर पुरस्कार दिइरहने र प्रेमजस्ता आम नागरिकहरुले भने मुलुकका कहलिएका व्यवसायिक घरानाहरुबाटै लुटिनुपर्ने बाध्यता सिर्जना गर्ने सिस्टम सुधारका लागि सरकारले तत्कालै छलफल अघि बढाउनुपर्छ।

यो घटनासँगै राज्यले दिने अनुदानमा पनि समीक्षा गर्न आवश्यक छ। राजनीतिक दल, दलसँग पहुँच भएकाले कुनै उद्यम नै नगरी अनुदान लिने ‘सिस्टम’ तत्कालै खारेज हुनुपर्छ।

अहिले राज्य संचालकहरु सामाजिक संजालमा जसरी प्रस्तुत भएका छन्, त्यसबाट उनीहरुले सस्तो लोकप्रियता मात्र चाहेको देखिएको छ। उनीहरुले सामाजिक संजालमा माफी मागेर अनि ‘यो सिस्टम पहिले नै थिलोथिलो रहेछ’ भनेर उम्किन मिल्दैन र पाइँदैन पनि। जबसम्म हालको ‘सिस्टम’ कायम रहिरन्छ, धेरै प्रेमहरुको अवसान निश्चित छ।