BIZMANDU
www.bizmandu.com

शिक्षामन्त्री खनालले भने-एआई प्रविधिले अबको समाज र अर्थतन्त्रलाई निर्धारण गर्छ’

२०७९ माघ ११

शिक्षामन्त्री खनालले भने-एआई प्रविधिले अबको समाज र अर्थतन्त्रलाई निर्धारण गर्छ’
शिक्षामन्त्री खनालले भने-एआई प्रविधिले अबको समाज र अर्थतन्त्रलाई निर्धारण गर्छ’

काठमाडौं। शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिशिर खनालले गुणस्तरीय शिक्षाका लागि पर्याप्त रूपमा आवश्यक पूर्वाधार नै नभएको बताएका छन्। 

Tata
GBIME
Nepal Life

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा आयोजित पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलनमा उनले एआई प्रविधिले अबको समाज र अर्थतन्त्रलाई निर्धारण गर्ने बताए।

‘सबै विद्यार्थीको पहुँचमा इन्टरनेट र बिजुली अझै पुग्न सकिरहेको छैन,’ उनले भने, ‘यस्ता आधारभूत पूर्वाधार विस्तार गरेर स्कुल तहबाटै विद्यार्थीलाई अन्तरिक्ष विज्ञान, नानो टेक्नोलोजी र इनोभेसन जस्ता उत्साहको क्षेत्रसँग जोड्न आवश्यक छ।’

उनले रोजगारी र अध्ययनका नाममा ठूलो संख्यामा विदेश गइरहेका युवाहरूलाई स्वदेशमै रोक्नु अहिलेको मुख्य चुनौती भएको बताए। सम्मेलनले यो महत्वपूर्ण समस्याको समाधान समेत पहिचान गर्नमा सहयोग पुर्‍याउने उनले बताए।

सम्मेलनमा नीति आयोगमा अटल इनोभेसनका पहिलो मिसन डाइरेक्टर रहेका आर रहमानले तल्लो तहबाटै इनोभेसन सुरु गर्नुपर्ने सुझाव दिए ।

‘नेपालले उत्पादनमूलक उद्योगमा थ्रीडी प्रिन्टिङ र रोबोटिक प्रविधि, कृषिमा ड्रोन र अन्तर्राष्ट्रिय जगतमा बजार विस्तार गर्न क्लाउड सेवाहरू प्रयोगमा ल्याउन सक्छ,’ उनले भने, ‘त्यसका लागि स्कुल तहबाटै विद्यार्थीमा इनोभेसन माइन्डसेट तयार पार्न आवश्यक पर्छ ।’

नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले सुनौलो भविष्यका लागि इनोभेसनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । 

त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान र विकास कार्यका लागि एकदमै न्यून मात्रामा बजेट छुट्याइने गरेको दृष्टान्त पेश गरे। तर काठमाडौं विश्वविद्यालयका उपकूलपति डा. भोला थापाले भने नवप्रवर्तनका लागि नीति, कानून र बजेटभन्दा सोच प्रमुख विषय भएकोमा जोड दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले नवप्रवर्तन नीति २०७६ लाई कार्यान्वयन गर्न कार्ययोजनालाई अन्तिम रूप दिने प्रयास भइरहेको जानकारी गराइन्। सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राध्यापक डा. गोविन्द नेपाल, नास्टका प्राज्ञ डा. रमेशकुमार मास्के, एफवान सफ्टका सीईओ सुवास शर्मा लगायतले बोलेका थिए।

सम्मेलनका क्रममा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी एक्सन प्लान र विश्व नवप्रवर्तन सूचकांक तथा राष्ट्रिय नवप्रवर्तन सूचकांक लगायत विषयमा छलफल भएको थियो।