BIZMANDU
www.bizmandu.com

आयात खुले पनि पहिले नै एलसी खोलेका अर्बौका गाडी होल्ड, ३ हजार सीमा वारिपारि

२०७९ माघ १०

आयात खुले पनि पहिले नै एलसी खोलेका अर्बौका गाडी होल्ड, ३ हजार सीमा वारिपारि
आयात खुले पनि पहिले नै एलसी खोलेका अर्बौका गाडी होल्ड, ३ हजार सीमा वारिपारि

काठमाडौं। अटो व्यवसायीले ल्याएका ३ हजारभन्दा बढी गाडीहरु सीमा वारिपारी थन्किएका छन्। बजारमा कारोबार उत्साहजनक नहुँदा व्यवसायीले ती गाडी छुटाएका छैनन्।

Tata
GBIME
Nepal Life

भन्सार विभागका अनुसार पुस अन्तिमसम्म वारिपारीका भन्सारको पार्किङ यार्डमा साना-ठुला गरी ३ हजार ६ वटा गाडीहरु थन्किएका छन्।

भैरहवा भन्सारको पार्किङ यार्डमा मात्र १३०० भन्दा बढी गाडीहरु थन्किएको प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताए। यसमा टाटा, महिन्द्रा, किया, इसुजु, सुजुकी, हुन्डाई, आइसर, एसएमएल र फक्सवागन ब्रान्डका गाडीहरु छन्। जसमा सबैभन्दा धेरै टाटाको गाडीहरु भन्सारको पार्किङ यार्डमा थन्किएका छन्।

भन्सार विभागका अनुसार टाटाको लगभग १५ सय ५० युनिट साना-ठुला गाडीहरु भन्सारको पार्किङ यार्डमा छन्।

नेपाली पार्किङ यार्डमा पुससम्ममा सिप्रदी ट्रेडिङले ल्याएको टाटाको ९ सय ५० वटा साना-ठुला सवारीसाधन भन्सार जाँचपास हुन बाँकी छन्। यसमा ८०० युनिट पिकअप, १ सय ५० युनिट प्यासेन्जर गाडी र ५० वटा ट्रक छन्।

यसैगरी महिन्द्राको ५ सय ११ युनिट गाडीहरु भन्सारमा छन्। यस्तै किया र इसुजुको गरी ५ सय ५० युनिट गाडीहरु पार्किङ यार्डमा थन्किएका छन्।

यसैगरी कन्टिनेन्टल इन्टरप्राइजेजले ल्याएको कियाको ३ वटा प्यासेन्जर गाडी नेपालको पार्किङ यार्डमा थन्किएका छन्। यस्तै सोही कम्पनीले ल्याएको इसुजुको ४ वटा पिकअप पार्किङ यार्डमा छन्। आइसरको ७ वटा, हुन्डाईको ६ युनिट, मित्सुबिसीको ११ प्यासेन्जर गाडीहरु पार्किङ यार्डमा छन्। मित्सुबिसीको ८ वटा पिकअप पनि नेपाल भन्सारको यार्डमा थन्किएका छन्।

यसैगरी अर्को फक्सवागनको ६ युनिट, फोर्सको ४ युनिट र एसएमएलको १० युनिट गाडीहरु पार्किङ यार्डमा छन्।

२१ सय ८ वटा गाडी सीमापारि पार्किङ यार्डमा

भारतपट्टिको सुनौली भन्सारको पार्किङ यार्डमा सबै कम्पनीको गरी २ हजार १ सय ८ वटा गाडीहरु थन्किएका छन्। भैरहवा भन्सार प्रमुख ढकालका अनुसार सीमापारिको भन्सारमा ६० दिनसम्म व्यवसायीले पार्किङ यार्डमा गाडी राख्‍न पाउने व्यवस्था गरिएको छ।

‘६० दिनपछि नेपालको भन्सारको पार्किङ यार्डमा ल्याएर गाडीहरु राख्ने व्यवस्था छ,’ उनले भने, ‘नेपालको पार्किङ यार्डमा आएका गाडीहरु भने व्यवसायीले बिक्री हुने अवस्थामा मात्र गाडी राजस्व तिरेर भन्सार छुटाउने गर्छन्।’

सीमापारिको भन्सारमा सबैभन्दा धेरै टाटाको १ हजार युनिट गाडीहरु थन्किएका छन्। टाटाको ४०० युनिट ट्रकहरु पार्किङ यार्डमा छन्। साथै १०० युनिट पिकअप र १०० युनिट जिप, कार र भ्यान रहेको भन्सारले जनाएको छ। यस्तै यसमा केही इभीहरु पनि छन्। तर इभीको माग धेरै भएकाले समयमै छुटिरहेका छन्।

यस्तै महिन्द्राको ५११ वटा युनिट भारततर्फ छ। जसमा कम्पनीको ५०२ युनिट पिकअप र ९ युनिट जीप, कार र भ्यान छन्।

यसैगरी मारुती सुजुकीको ५१ युनिट कार, जीप र भ्यान रहेका छन्। सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्प हो। चौधरी ग्रुपको यही कम्पनीले सुजुकीको गाडीहरु नेपाल आयात गर्ने गर्छ।

भन्सार विभागका अनुसार कियाको १२८ वटा कारहरु भारततर्फ थन्किएका छन्। साथै इसुजुको पनि ४२२ वटा पिकअपहरु भन्सारको पार्किङ यार्डमा थन्किएका छन्। यसमा किया र इसुजुको गाडी बिक्रेता कन्टिनेन्टल इन्टरप्राइजेजले पनि भन्सारमा रहेका गाडी छुटाउन सकेका छैनन्।

यस्तै आइसरको ३४६ ट्रकहरु भारतको भन्सारमा थन्किएका छन्। यसैगरी हुन्डाईको ५० वटा कारहरु भन्सारमा थन्किएका छन्। फोर्सको पनि ८ युनिट कार भारतको भन्सारमा थन्किएका छन्। एसएमएलको २० वटा ट्रक भारतको सुनौली भन्सारमा थन्किएका छन्।

अर्बौंको राजस्व ‘होल्ड’

मुलुकको विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि सरकारले आयातमा बन्देज गरेको थियो। अहिले आयात खुला भए पनि कारोबारीले १० महिना अघि ल्याएका गाडी भन्सार यार्ड र भारतीय गोदाममा थन्किएका छन्।

यसले सरकारको आम्दानीमै प्रतिकूल प्रभाव परेको छ। तरलता अभाव र चर्को ब्याजदरका कारण ८ महिनाअघि एलसी खोलेका गाडीहरु भन्सार यार्डमै थन्किएका हुन्। त्यही भएर अहिले कतिपय बिक्रेताले आयात खुले पनि गाडी ल्याउन प्रक्रिया अगाडि बढाएका छैनन्। गाडी जाँचपास नभएका कारण सरकारले लक्ष्य अनुसार राजस्व समेत असुली हुन सकेको छैन।

भैरहवा भन्सार प्रमुख ढकालले जाँचपास नगर्दा सयौं गाडी भन्सार यार्डमा रहेको जानकारी दिँदै त्यसले राजस्व असुलीसमेत प्रभावित भएको बताए।

‘हाम्रा भन्सार यार्डमा गाडीहरु थन्किनु भनेको सरकारको राजस्व पनि थन्किनु हो,’ उनले भने, ‘गाडी समयमा छुट्न सकेमा मात्र राजस्व पनि समयमा लक्ष्य अनुसार संकलन गर्न सकिन्छ। १० महिनादेखिका गाडीहरु पार्किङ यार्डमा यतिकै छन्।’

उनका अनुसार व्यवसायीले गाडी छुटाउन कोसिस गरेका छन्। तर पनि उनीहरुले आर्थिक मन्दीलाई कारण देखाउदै गाडीको भन्सार पास गर्न मानिरहेका छैनन्। ‘अटो व्यवसायीलाई गाडी भन्सार जाँचपास गर्न सक्ने वातावरण मिलाउन सकेमा हामीलाई पनि सजिलो हुने थियो,’ उनले भने।

भन्सारको यार्डमा अड्किएका गाडीको दैनिक पार्किङ शुल्क ५१८ रुपैयाँका दरले व्यवसायीले तिर्नुपर्ने भन्सारले जनाएको छ। यसरी लामोसमयसम्म रोकिएका गाडीको पार्किङ शुल्क नै एकदेखि डेढ लाख रुपैयाँसम्म पुगेको भन्सारले जनाएको छ। अटो व्यवसायीका अनुसार हालसम्म पार्किङको शुल्क मात्र लगभग ४० करोड रुपैयाँ तिर्नुपर्ने भइसकेको छ।

यस्तै भन्सारमा यसरी थन्किएका नयाँ गाडीहरुको राजस्व लगभग ६ अर्ब रुपैयाँ संकलन हुने भन्सारले जनाएको छ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार विद्युतीय सवारीसाधन बाहेक अरुको व्यापार नरहेकोले भन्सार र सीमापारी गाडी थन्किएका हुन्।

‘विद्युतीय वाहेक पेट्रोलियम इन्धनको सवारीसाधनको बिक्री ठप्प जस्तै छ। त्यसैले हामीले गाडी छुटाउन सकिरहेका छैनौं,’ श्रेष्ठले भने, ‘हामीले यसभन्दा अगाडि राजस्व तिरेर भन्सार छुटाएका गाडीहरु नै शोरुममा थन्किएका छन। त्यसको बिक्री नभएसम्म भन्सारका गाडीहरु छुटाउन सकिने अवस्था छैन्। यसमा पनि सबैभन्दा धेरै कमर्सियल गाडीहरु भन्सारको पार्किङ यार्डमा रहेका छन्।’

लामो समय थन्किएका गाडी बेच्न असजिलो

यसरी भन्सारको पार्किङ यार्डमा राखिएका गाडीहरुको भन्सार छुटाएर बिक्री गर्न कठिन हुने अटो व्यवसायीहरुको भनाइ छ।

१० महिनादेखि गाडीहरु भन्सारको पार्किङ यार्डमा थन्किएका छन्। नयाँ मोडलको गाडीहरु बजारमा धेरै आएका छन्। त्यही अनुसार अब यो भन्सारमा थन्किएका गाडीहरु बिक्री गर्न कठिन हुने नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए।

‘अब गाडी खरिद गर्ने ग्राहकले नयाँ मोडल वा नयाँ वर्षमा बनेका गडीहरु धेरै रुचाउँछन्,’ उनले भने, ‘भन्सारमा थन्किएका गाडीहरु प्राय सबै पुराना मोडल जस्तै भइसकेका छन्। गाडी आयात गर्दा एलसी खोलिएका सबै गाडीको गरियो। तर बिक्री गर्न सरकारको निर्देशनहरुले बाधा गर्‍यो। गाडीहरु भन्सारको पार्किङ यार्डमा नै थन्किने अवस्थामा पुग्यो।’

थापाका अनुसार पार्किङ यसरी लामो समय होल्ड हुँदा गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुग्ने हुन्छन्। ‘गाडीहरु फ्रेस हुँदैनन्। कुनै गाडीको के बिग्रिएको हुन्छ भने कुनैको के बिग्रिने हुन्छ,’ उनले भने, ‘त्यो सबै भन्सार पास गरेपछि ल्याएर मर्मत गर्नुपर्ने हुन्छ।’