BIZMANDU
www.bizmandu.com

वसन्तपुरमा भूकम्पले क्षतिग्रस्त ३८ सम्पदाको पुनःनिर्माण सम्पन्न, १४ वटा अझै बनेनन्

२०७९ माघ ९

वसन्तपुरमा भूकम्पले क्षतिग्रस्त ३८ सम्पदाको पुनःनिर्माण सम्पन्न, १४ वटा अझै बनेनन्
वसन्तपुरमा भूकम्पले क्षतिग्रस्त ३८ सम्पदाको पुनःनिर्माण सम्पन्न, १४ वटा अझै बनेनन्


काठमाडौं। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

Tata
GBIME
NLIC

सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।  

हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरु आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ। दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५ वटा सम्पदामा क्षति पुगेको थियो।

हनुमान ढोकाको दक्षिणतर्फ रहेको ऐतिहासिक नौ तले दरबार र उक्त दरबारसँगै रहेका वसन्तपुर टावर, ललितपुर टावर, कीर्तिपुर टावर र भक्तपुर टावर चीन सरकारले पुनःनिर्माण गरिसकेको छ भने हस्तान्तरण हुन बाँकी छ।

साथै काष्ठमण्डप, नाटेश्वर, पञ्चमुखी हनुमान, तारिणीदेवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो, लक्ष्मीनारायण मन्दिर, कागेश्वरी मन्दिर नागरा वंशगोपाल, श्वेत भैरव, सिल्यान सत्तल, गद्धी बैठक, ढुकुटी चोक,  तलेजु मन्दिर नजिकैको सानो मन्दिर, तलेजु टेराकोटा तोरण, प्रताप मल्लको शालिक, कणेल चोकको पुनः निर्माण पनि सकिएको छ। ऐतिहासिक गद्दी बैठक अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भइ सर्वसाधारणका लागि खुला भइसकेको छ। 

हाल पुनःनिर्माण भइरहेका सम्पदाको काम पूरा नभइ अन्य काम सुरू गर्न नमिल्ने र केहीको हकमा स्थानीयले रोकेकाले पुनःनिर्माणको काम अघि बढाउन नसकिएको प्रमुख खनालले जानकारी दिए। 

काम सुरु हुन नसेका २३ सम्पदामा मोहनचोक, सुन्दरीचोकसहित यस चोकचित्र रहेका अन्य केही सम्पदा छन्।

‘माजुदेगअघि कामदेव मन्दिर छ। माजुदेगको पुनःनिर्माण सकिएपछि कामदेव मन्दिरको पुनःनिर्माण सुरु हुन्छ’, उनले भने।

त्यसैगरि, आगम्छे घरको पुनःनिर्माण काम सुरु हुन सकेको छैन भने उक्त सम्पदाको काम नसकी मोहन चोक र सुन्दरी चोकको काम अघि बढाउन नसकिने उनको भनाइ छ। उक्त क्षेत्रमा रहेका कालिका मन्दिर र लक्ष्मीनारायण सत्तलको काम स्थानीयको अवरोधका कारण रोकिएको उनले बताए।

यस क्षेत्रको सम्पदा पुनःनिर्माण पुरातत्व विभाग, चीन सरकार, जापानी सहयोग नियोग (जाइका), वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रम, काठमाडौँ महानगरपालिका, केही स्थानीय गुठीमार्फत् काम भइरहेको छ।