BIZMANDU
www.bizmandu.com

चिनियाँ नयाँ वर्ष र ल्होसारका कारण उत्तरी नाका बन्द, १५ दिन आयात रोकिने

२०७९ माघ ८

चिनियाँ नयाँ वर्ष र ल्होसारका कारण उत्तरी नाका बन्द, १५ दिन आयात रोकिने
चिनियाँ नयाँ वर्ष र ल्होसारका कारण उत्तरी नाका बन्द, १५ दिन आयात रोकिने

काठमाडौं। उत्तरी दुई नाका केही समयको लागि बन्द भएको छ। चिनियाँ नयाँ वर्ष र ल्होसारका कारण उक्त नाकाहरुबाट हुने आयात र निर्यात करिब १५ दिनसम्म बन्द रहने बताइएको छ।

Tata
GBIME
Nepal Life

चिनियाँ नयाँ वर्ष सुरु भएकोले केरुङ रसुवा नाका माघ २१ गतेसम्मको लागि बन्द भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए। माघ ७ गतेदेखि नाका बन्द भएको हो।

‘अब १४ दिनपछि मात्र नाकाबाट आयात निर्यात सुचारु हुन्छ।’- उनले भने।

पछिल्लो समय रसुवा नाकाबाट दैनिक १४ वटा कन्टेनर आयात हुने गरेको थियो। गत महिनादेखि उक्त नाकाबाट स्वदेशी उत्पादन बस्तुहरु समेत निर्यात हुन थालेको छ। जसमा हालसम्म रसुवा भन्सार कार्यालयबाट करोड बराबरको ३९ वटा कन्टेनरहरु निर्यात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए।

त्यस्तै, तातोपानी नाका माघ १४ गतेसम्म बन्द हुने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए।

‘यस अवधिसम्म नयाँ सामान लोड नगर्ने सूचना आएको छ।अहिले बाटोमा केही कन्टेनरहरु छन्। उक्त कन्टेनरहरु नाका बन्द भएपनि तातोपानी भन्सारमा आउनेछ।’- उनले भने।

हाल तातोपानी नाकाबाट दैनिक ३ देखि ४ वटा कन्टेनरमात्र भित्रिने गरेका छन्। जसमा स्याउ, लसुन र कपडाको रोलहरु बढी आयात हुँदै आएको छ।

रसुवा नाका भन्दा तातोपानी नाकाबाट चिनियाँ सामान आयात गर्दा कम समय लाग्छ। तर पछिल्लो समय यस नाकाबाट आयात हुने कन्टेनरको संख्या बढ्न सकेको छैन। भन्सारका भित्रिने कन्टेनरपनि नियमित रुपमा नआउने प्रमुख भन्सार अधिकृत केसीले बताए।

तातोपानी नाकाबाट चीनतर्फ नेपाली वस्तु निर्यात गर्ने विषयमा पनि छलफल चलिरहेको उनले जानकारी दिए।