BIZMANDU
www.bizmandu.com

फ्रेन्च ब्रेड र पेस्ट्रीको स्वाद चिनाउँदै मीरा बेकरी, एउटा ओभनबाट सुरु गरेर करोडौंमा बिस्तार

२०७९ माघ ६

फ्रेन्च ब्रेड र पेस्ट्रीको स्वाद चिनाउँदै मीरा बेकरी, एउटा ओभनबाट सुरु गरेर करोडौंमा बिस्तार
फ्रेन्च ब्रेड र पेस्ट्रीको स्वाद चिनाउँदै मीरा बेकरी, एउटा ओभनबाट सुरु गरेर करोडौंमा बिस्तार

काठमाडौं। एक दशक अगाडिसम्म केक काट्नको लागि कसैको जन्मदिन नै कुर्नु पर्थ्यो। तर पछिल्लो समय केक नेपाली जीवन शैलीको अभिन्न परिकार बनिसकेको छ। अचेल त हरेक सानो ठूलो सेलिब्रेसनको प्रमुख आकर्षण नै केक हुने गर्छ। विवाह, जन्मोत्सव जस्तो ठूलो समारोहमा छँदैछ, सामान्य जमघटमा पनि केक काट्ने चलन बढिरहेको छ।

Tata
GBIME
Nepal Life

यसै अवसरलाई छोप्दै शुभान र सुकन्याले पनि बेकरी व्यवसायमा हात हाले।  

अधिकांश बेकरीहरूले एकै किसिमको स्पन्ज लेयर्ड केकहरू मात्रै बनाइ रहँदा उनीहरुले भने केही फरक शैलीलाई अपनाउँदै बेकरी व्यवसायलाई अंगालेका हुन्। २६ वर्षका शुभान जोशी र २५ वर्षकी सुकन्या कक्षपतिले ‘मिरा बुलानजेरी एण्ड पेटिसरी’ मार्फत उपभोक्तालाई फ्रेन्च ब्रेड तथा पेस्ट्रीहरूको स्वाद चखाइरहेका छन्।

सन् २०१९ मा बीबीए उत्तीर्ण गरेपछि शुभान आफ्नो प्यासनलाई पछ्याउँदै बैंककको फ्रान्सेली ले कर्डन ब्यू कलिनरी स्कूल पुगे। त्यहाँ उनले ब्रेड मेकिङ र पेस्ट्री मेकिङमा डिप्लोमा सके।  

उनी भन्छन्, ‘सानैबाट हजुरआमा र आमाले खाना पकाउनु भएको देख्दा आफूलाई पनि मन लाग्थ्यो। घरमा पनि म केही न केही बनाइ नै रहेको हुन्थे। प्रायजसो चिज केक बेक गर्थे। घरको सबैलाई चखाउँथे पनि। सबैले सराहना गर्नुहुन्थ्यो।’

फेरि सुकन्या र बेकिङको पनि असाध्यै निकटको नाता छ। उनी भन्छिन्, ‘म आफ्नो बुबा अनिल कक्षपतिसँगै नाङ्लो बेकरीको फ्याक्ट्रीमा घन्टौं बिताउने गर्थे। म त बच्चाैदेखि त्यही वातावरणमा हुर्के।’

त्यसैले सुकन्या बेकिङ र केक डिजाइनिङलाई कलाको रुपमा लिन्छिन्। इन्टरनेशनल बिजनेसमा स्नातकोत्तर गरेपछि सन् २०२० मा उनले बैंककमा नै एसियन ब्रेड र केक डिजाइनिङको कोर्स लिइन्। तर, कोर्स पुरा हुन नपाउँदै लकडाउन भयो। 

उनको बाल्यकालदेखिका साथी शुभानले त्यसबेला ब्रेड मेकिङको कोर्स गरिसकेका थिए। पेस्ट्री मेकिङमा डिप्लोमा गरिरहेको बेला लकडाउनले स्कुल बन्द भयो। उनीहरू दुवै नेपाल फर्किए। शुभान भन्छन्, ‘फुर्सदको समय थियो। के गर्ने के भइरहेको थियो।’

त्यो समयलाई खेर फाल्नुको सट्टा उनीहरूले सिकेको कामलाई नै निरन्तरता दिने निधो गरे। शुभानको घरको अन्डरग्राउण्ड किचनबाट उनीहरूले आफ्नो औपचारिक बेकिङ यात्रा सुरु गरेका हुन्।

‘मेरो घरको अन्डरग्राउण्ड किचनबाट सुरू गरेका हौं। एउटा ओभन र मिक्चर मात्रै थियो र धेरथोर बैंककमा सिकेको सीप। हामी केक, ब्रेड, पेस्ट्रीहरू बनाउथ्यौं। घरपरिवार र साथीभाइको सर्कलमा चाख्‍न दिन्थ्यौं। उहाँहरूले अर्डर पनि गर्नु हुन्थ्यो,’ उनले भने।

घरपरिवार र साथीभाइको सञ्जाल बाहिर पनि शुभान र सुकन्याले आफ्नो व्यवसाय विस्तार गर्दै गए। उनीहरू हरेक हप्ता जस्तो शनिबार आफूले बनाएका केक, ब्रेडहरू ले शेर्पा मलमा लाग्ने फार्मर्स मार्केटमा स्टल राखेर समेत बेच्न थाले। यो सँगै इन्स्टाग्राम पेजबाट पनि ग्राहकहरूलाई फ्रेन्च पेस्ट्री र ब्रेडको स्वाद चखाइरहेका थिए।

अहिले पनि केक र ब्रेडको बजार असाध्यै सानो रहेको उनीहरुको अनुभव छ। यहाँ फ्रेन्स पेस्ट्री र ब्रेडको बारे धेरैलाई थाहा समेत नभइसकेको उनीहरू तर्क गर्छन्।

सुकन्या भन्छिन्, ‘नेपालमा फ्रेन्च पेस्ट्री र ब्रेडको बारेमा खासै धेरैलाई थाहा छैन। यहाँ केक भने बित्तिकै स्पन्ज केकलाई मात्रै बुझिन्छ। प्रेस्ट्री र ब्रेडको दायरा स्पन्ज केक, दोनट, क्रोसन्टमा मात्रै सीमित छैन भनेर हामीले नेपाली उपभोक्ताहरुलाई फ्रेन्च पेस्ट्री र ब्रेड बनाएर चखाउन थालेका हौं।’

यसमा शुभान थप्छन्, ‘ केकलाई फ्रेन्चमा आन्टर्मे भनिन्छ। यसमा विभिन्न टेक्स्चर हुन्छ। क्रन्ची, क्रिमी हुन्छ र विशेषगरी फ्रेन्च केकहरूमा चक्लेट मुस प्रयोग गरिएको हुन्छ। युरोपियन ब्रेडहरूमा धेरै बटर, हाइ डेरी फ्याट भएको क्रिम र विभिन्न थरीका मैदा प्रयोग हुन्छ। हामीले जस्तो सामाग्रीहरू प्रयोग गर्छौं त्यसले नै हाम्रो केकहरू महँगो हुन जान्छ।’

उनीहरूले नेपालको स्टार होटलहरूमा सामान सप्लाइ गर्ने सप्लायरहरूसँगै सामान लिने गरेको बताउँछन्। शुभानका अनुसार नेपालमा उनीहरूले प्रयोग गर्ने सामाग्रीहरू सहजै पाइदैन। कति सामाग्री त उनीहरूले थाइल्याण्डबाट नै मगाउनु पर्ने बाध्यता पनि रहेको सुनाए।

मिरा बुलानजेरी एण्ड पेटिसरीले सर्भिङ साइज अनुसार केक बनाउँछ। सामान्य बेकरी जसरी पाउण्डको आधारमा भन्दा पनि कति जनाको लागि केक चाहिने हो त्यही अनुसार केक बनाइने शुभानले जानकारी दिए।  

चारदेखि पाँचजनाको लागि ३२ सय रूपैयाँ, आठदेखि १० जनालाई पुग्ने केकको ४५ सय रूपैयाँ, १३ देखि १५ जनालाई पुग्ने केकको ६ हजार पर्ने उनले बताए। मिरा बुलानजेरी एण्ड पेटिसरीमा हाल क्यपुचिनो, ब्याक फरेस्ट, मन्जारो, चिज केक, सो स्ट्रबेरी ह्‍वाइट चक्लेट, क्रन्ची जन्डोजा र ह्यान्ड पेन्टेट फ्लोरल रोल्ड केक गरी सात फेल्वरको केकहरू पाइन्छ।

त्यस्तै विवाह तथा अन्य समारोहका लागि बन्ने केकका लागि भने उनीहरुले करिब दुई महिना अघि नै टेस्टिङ सेसन राख्‍ने गरेको बताउँछन्। त्यसपछि मात्र क्लाइन्टहरूले डिजाइन र फ्लेवर छान्ने उनीहरू बताउँछन्।

‘हामीले सेलिब्रेसन केकहरूमा डिजाइन दोहोर्‍याउँदैनौं। एउटा क्लाइन्टको लागि बनाएको डिजाइन अर्काको लागि बनाउदैनौं,’ सुकन्याले भनिन्।

अर्डरको भोल्युम बढेसँगै उनीहरूले दुई महिना अगाडि मात्रै डेढ करोड लगानीमा सुविधा सम्पन्न किचेन बनाएका छन्। यस किचेनमा उनीहरू बाहेक अरु तीनजना काम गर्दै छन् भने किचेन बाहिर अन्य दुई जनाले काम सम्हालदै छन्।

एक महिनामा ५० वटा केक बेक गरेर सुरू भएको मिरा बुलानजेरी एण्ड पेटिसरीले पछिल्लो समय मासिक दुई सयभन्दा बढी केक बनाएर बेच्दै आएको शुभान बताउँछन्। हाल उनीहरुले बिभिन्न समारोहका लागि डेजर्ट केटरिङ पनि गर्दै आएका छन्। 

डेजर्ट केटरिङसँगै यतिबेला उनीहरु मिरा बुलानजेरी एण्ड पेटिसरीको आफ्नै आउटलेट खोल्ने योजना पनि बनाइरहेका छन्। ‘हामी कम्पनीलाई अझै बढी व्यवसायिक बनाएर अघि बढ्ने सोचिरहेका छौं। निकट भविष्यमा हामी बीटुबी बिजनेस पनि गर्नेछौं,’ शुभानले भने।