BIZMANDU
www.bizmandu.com

६ महिनामा ओटीसीमा २८ करोड माथिको कारोबार, कुन कम्पनीको कतिमा भइरहेको छ किनबेच ?

२०७९ माघ ६

काठमाडौं। चालु आर्थिक वर्षको अर्धवार्षिक समयसम्म ओभर द काउन्टर (ओटीसी) बजारमा २४ वटा कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो अवधिसम्म विभिन्न कम्पनीहरुको २८ करोड ४ लाख ८५ हजार बराबरको २३ लाख ३४ हजार ७०३ कित्ता सेयर किनबेच गरेका छन्।

नेप्सेका अनुसार ओटीसी बजारमा पनि विस्तारै लगानीकर्ताको सक्रियता बढेको देखिन्छ। तथापि सूचीकृत भएका कम्पनीहरुको तुलनामा कारोबार भने सन्तोषजनक नभएको नेप्सेले जनाएको छ।

हालसम्म ओटीसी बजारमा १७८ वटा कम्पनी सूचीकृत भएका छन्। गत आवमा १६० वटा कम्पनी ओटीसीमा दर्ता भएका थिए। चालु आवको पुस मसान्तसम्म १७ वटा नयाँ कम्पनी दर्ता भएका हुन्।

ओटीसीमा सूचीकृत हुँदा नेप्सेलाई सूचीकृत शूल्क बुझाउनु पर्दैन। तर, कारोबार भएमा नेप्से, धितोपत्र बोर्डलाई निश्चित शूल्क र सरकारलाई आयकर तिर्नुपर्छ।

ओटीसी बजारमा कलेज, दूरसंचार कम्पनी, जलविद्युत, मर्चेन्ट बैंक, ब्रोकर कम्पनी लगायतको कारोबार भइरहेको छ।

ओटीसीलाई अझ पारदर्शी तथा सहज बनाउनका लागि अनलाइन प्रणाली ल्याउने तयारी भइरहेको नेप्सेका सीइओ कृष्णबहादुर कार्कीले बताए।

ओटीसी बजारमा १०० रुपैयाँदेखि ११०० माथिका सेयर

६ महिनासम्ममा ओटीसीमा प्रति कित्ता १०० रुपैयाँदेखि ११०० रुपैयाँ मूल्यका कम्पनीहरुको कारोबार भएको छ। काठमाडौं फोरेस्ट्री कलेजको सेयर प्रति कित्ता ११२५ रुपैयाँका दरले कारोबार भएको छ। सो मूल्यमा कम्पनीको १९४२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

जुन चालु आर्थिक वर्षमा ओटीसीमा कारोबार भएका कम्पनीहरुमध्ये सबैभन्दा महँगो कम्पनी हो।

हरेक साउनमा ओटीसी बजारमा धेरै कम्पनीहरुको कारोबार हुने गरेको नेप्सेले जनाएको छ। चालु आवको साउनमा नौवटा कम्पनीको सेयर कारोबार भएको छ। गत आवको सोही महिनामा पनि विभिन्न कम्पनीको ८ वटा कारोबार भएको थियो।

त्यस्तै चालु आवमा कारोबार भएका कम्पनीमध्ये लर्ड बुद्ध एजुकेशनको सेयर कारोबार प्रति कित्ता ५०० रुपैयाँ, नेपाल पोलिटेक्निकल इन्स्टिच्युटको २१५, सुन्धारा सेक्युरिटिजको २७०, सोपान मल्टिपल कम्पनीको सेयर ११९ र प्रभु क्यापिटलको सेयर प्रति कित्ता ११४ रुपैयाँका दरले भएको छ।

पुससम्म ओटीसी बजारमा १७ नयाँ कम्पनी सूचीकृत भएका छन्।