BIZMANDU
www.bizmandu.com

हवाई दुर्घटनापछि आन्तरिकतर्फको उडानमा २९% ले गिरावट, पोखरा उडानमा यात्रु आधाले घटे

२०७९ माघ ५

हवाई दुर्घटनापछि आन्तरिकतर्फको उडानमा २९% ले गिरावट, पोखरा उडानमा यात्रु आधाले घटे
हवाई दुर्घटनापछि आन्तरिकतर्फको उडानमा २९% ले गिरावट, पोखरा उडानमा यात्रु आधाले घटे


काठमाडौं। हवाई दुर्घटना भएसँगै आन्तरिक उडानमा यात्रु संख्या २९ प्रतिशतले गिरावट आएको छ। यतिखेर अरु गन्तव्यको तुलनामा पोखरातर्फ हुँदै आएको नियमित उडानमा यात्रु संख्या ५० प्रतिशतले घटेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

Tata
GBIME
Nepal Life

‘हवाई दुर्घटना भएपछि यतिखेर अधिकांश यात्रु त्रासका कारण हवाई सेवा लिनै आनाकानी गरिरहेका छन्। सामान्यता अवस्थाको तुलनामा यात्रु सहभागिता क्रमिक रुपमा घट्दै गएको छ,’ विमानस्थल कार्यालयका एक कर्मचारीले भने।

अरु गन्तव्यको तुलनामा यतिखेर पोखरा आउजाउ गर्ने यात्रुमा धेरै गिरावट आएको छ। सामान्यतया दैनिक २३ सय यात्रुको उडान हुने यो गन्तव्यमा यतिखेर दैनिक ११ सय यात्रु मात्र उडेको उनले जानकारी दिए।       

पोखरासँगै विराटनगर, भैरहवा, भरतपुर, धनगढी, जनकपुर, नेपालगञ्ज, भद्रपुर लगायत विभिन्न गन्तव्यमा लोड कम भएपछि मर्ज गरेर उडान भइरहेको छ।

आन्तरिकतर्फ दैनिक करिब एक सय ५० वटा उडान हुँदै आएकोमा पछिल्लो समय दैनिक एकसय ६ वटा उडान भइरहेको उनले जानकारी दिए।

अफ सिजन तथा मौसमी प्रतिकुलतासँगै पोखरामा भएको हवाई दुर्घटनाका कारण आन्तरिक तर्फ उडानमा हवाई यात्रु संख्या ५० प्रतिशतले घटेको बुद्ध, यती, श्री, सौर्य, गुण लगायत वायुसेवा कम्पनीले जनाएका छन्।

यतिखेर यतीमा मात्र नभइ समग्र आन्तरिकतर्फको उडानमा यात्रु माग घटेको यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

‘यो अफसिजनमा यात्रु माग घट्ने बेलै हो। हवाई दुर्घटना भएपछि यात्रु माग अझै घटेको अवस्था छ। यतिखेर यात्रुको मनस्थितिमा परिवर्तन आएको छ। ५० प्रतिशत यात्रु माग घटेको अवस्था छ,’ प्रवक्ता बर्तौलाले भने।  

यतिखेर यात्रु सहभागिता कम रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। ‘यो समयमा पहिला पनि यात्रु माग कमै हुन्थ्यो। सबै गन्तव्यमा यात्रु माग घटेको अवस्था छ,’ उनले भने।

अफ सिजन र हालै भएको दुर्घटनाका कारण आन्तरिक उडानमा ५० प्रतिशत यात्रुको मात्र सहभागिता रहँदै आएको सौर्य एयरलाइन्सका बजार प्रमुख मुकेश खनालको भनाइ छ। अधिकांश यात्रुले यतिखेर जेट जहाजलाई पहिलो प्राथमिकतामा राख्दै आएको उनले जानकारी दिए।

‘यतिखेर यात्रुले के बुझेर हो जेट विमान नै प्रिफर गर्दै आएका छन्। विश्वमा सबैभन्दा कम दुर्घटना दर जेट विमानकै रहेको छ,’ उनले भने।

तुलनात्मक रुपमा यात्रु माग र उडान संख्या घटेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए। पोखरा दुर्घटनाका कारण यतिखेर यात्रु माग घटेको उनको प्रक्षेपण छ।     

आइतबार काठमाडौं-पोखरा अवतरण गर्ने क्रममा यती एयरलाइन्सको ९एइन-एएनसी कलसाइनको यात्रुवाहक जहाज दुर्घटना भएको थियो। जहाजमा सवार यात्रु र चालकदलसहित ७२ जना मध्ये ७१ जनाको मृत्यु भएको थियो। जसमध्ये एकजना यात्रुको खोजीकार्य अझै जारी छ।