BIZMANDU
www.bizmandu.com

मागअनुसार चिनीको आपूर्ति सहज गराउन प्रधानमन्त्रीलाई राष्ट्रिय उपभोक्ता मञ्चको माग

२०७९ माघ ४

मागअनुसार चिनीको आपूर्ति सहज गराउन प्रधानमन्त्रीलाई राष्ट्रिय उपभोक्ता मञ्चको माग
मागअनुसार चिनीको आपूर्ति सहज गराउन प्रधानमन्त्रीलाई राष्ट्रिय उपभोक्ता मञ्चको माग

काठमाडौं। बजारमा चिनीको आपूर्ती सहज गराउन राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीसँग माग गरेको छ। मञ्चले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बजारको माग अनुसार सुपथ मूल्यमा चिनीको आपूर्ति व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ।

Tata
GBIME
Nepal Life

नेपालमा वार्षिक २ लाख ८० हजार टन चिनी र स्वदेशी उत्पादन १ लाख ४० हजार टन हुने गरेको हो। स्वदेशी उद्योगहरुले क्षमता भएर पनि उखु खरिदमा बिचौलियाको जगजगी, समयमा उचित समर्थन मूल्य तोक्न सकेको छैनन्।

उद्योगले किसानलाई दिने वस्तुको मूल्य र अनुदानको रकम भुक्तानी समयमा नपाउने भएकोले बजारको आवश्यकता अनुसार चिनीको उत्पादन हुन नसेकको कारण विदेशबाट चिनी आयात गरी आपूर्ति व्यवस्थापन मिलाउन सरकार बाध्य भएको छ।

यस वर्ष सरकारको दुई मन्त्रालय अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयबीचको समन्वय अभावका कारण चिनीको सहज आपूर्ति व्यवस्थापन नभएको मञ्चले जनाएको छ।

त्यस्तै, भारतले ५ महिनासम्म चिनी निर्यातमा बन्देज लगाएको र चालु आर्थिक वर्षमा सरकारी संस्थानबाट चिनी आयात गरी आपूर्ति व्यवस्थापन नगर्न नदिएको कारण भारतमा अहिले प्रतिकिलो नेपाली ४० रुपैयाँको हाराहारीमा चिनी पाइरहेको छ। स्थानीय बजारमा उपभोक्ताले प्रतिकिलो ११० रुपैयाँ तिरेर खरिद गरिरहेका छन्।

बाहिरी मुलुकबाट वैधानिक रुपमा चिनी आयात नहुँदा बजारमा आपूर्ति कसरी भइरहेको छ भन्ने कुराको अध्ययन नगरी हचुवाको भरमा अर्थ मन्त्रालयले बजारमा प्रशस्त चिनी रहेको भनिरहेको छ।

तस्करहरुबाट आयात चिनीले बजारको मागधानी रहँदा बजार मूल्य अस्वभाविक रुपमा बढेको छ। यसले राज्यले पाउने ठुलो परिमाणको राजस्व समेत गुमाइरहेको छ। यसले स्वदेशी उत्पादनलाई निरुत्साहित बनाउने काम पनि भइरहेको छ। जसले गर्दा यस विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको मञ्चले जनाएको छ।

साथै, मञ्चले सुलभ मूल्यमा चिनी उपलब्ध हुने वातावरण बनाउनको लागि सार्वजनिक संस्थानमार्फत चिनी आयातको व्यवस्था तत्काल गर्न सरकारलाई निवेदन गरेको जानकारी गराएको छ।