BIZMANDU
www.bizmandu.com

थोत्रो बिलिङ प्रणाली टालटुल गरेर चलाउँदा टेलिकमको सेवा पटकपटक अवरुद्ध, लिकेजले अर्बौं आम्दानी स्वाहा

२०७९ माघ ४

थोत्रो बिलिङ प्रणाली टालटुल गरेर चलाउँदा टेलिकमको सेवा पटकपटक अवरुद्ध, लिकेजले अर्बौं आम्दानी स्वाहा
थोत्रो बिलिङ प्रणाली टालटुल गरेर चलाउँदा टेलिकमको सेवा पटकपटक अवरुद्ध, लिकेजले अर्बौं आम्दानी स्वाहा

काठमाडौं। नेपाल टेलिकमले बिलिङ प्रणाली नफेर्दा वार्षिक अर्बौं रुपैयाँ आम्दानी गुमाइरहेको छ। दशक पुरानो ‘आउटडेटेड बिलिङ सिस्टम’ परिवर्तन नगर्दा टेलिकमको बिलिङमा चुहावट पाइएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो पटक हिजो मंगलबार घण्टौंसम्म टेलिकमको सेवा अवरुद्ध भयो। जसका कारण करोडौं उपभोक्ताहरु अत्यावश्यक सेवाबाट विमुख बन्न पुगे।

थ्रीजीदेखि फोरजी, तामाको तारदेखि फाइबरबाटै इन्टरनेट सेवामा रुपान्तरण भइसकेको टेलिकमको सेवा अझै पनि दशक पुरानो बिलिङ प्रणालीमा निर्भर छ।

प्रविधिमा अनेकौं रुपान्तरण भइसक्दा पनि बिलिङ प्रणाली पुरानै भएकाले सेवामा निरन्तर अवरोध आइरहेको छ। बिलिङ प्रणाली आउटडेटेड हुँदासमेत टेलिकम व्यवस्थापन नयाँ प्रतिस्थापन गर्ने मुडमा छैन। किनकि टेलिकम नेतृत्व नयाँ बिलिङ प्रणाली ल्याउनु भन्दा पुरानै प्रणाली टालटुल गरेर चलाउँदा हितकर मानिरहेको छ। मंगलबार पनि सेवा अवरुद्ध भएपछि टालटुल गरेरै सेवालाई नियमित गरिएको छ। तर, यो स्थायी समाधान भने होइन।

टेलिकमले नयाँ बिलिङ टेन्डरलाई लत्याएर हालको चिनियाँ सप्लायरसँग ६ वर्षको वार्षिक मर्मत सम्झौता (एएमसी) गर्ने भनेर ढिलाइ गरेको छ। चिनियाँ कम्पनीले सिंगापुरबाट अहिले प्रयोग भइरहेको बिलिङ प्रणाली ल्याएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत टेलिकमलाई बिलिङ प्रणाली सुधार गर्न निर्देशन दिएको छ।

तर, टेलिकमले अख्तियारसमेतको निर्देशन लत्याउँदै ४+१ वर्षको एएमसी सम्झौता बिलिङ प्रणाली जडान गर्ने चिनियाँ सप्लायरसँग गरेको छ। टेलिकम व्यवस्थापनले ४+१ वर्षको एमएमसी नै प्रयोग गर्ने बचन र प्रतिबद्धता चिनियाँ कम्पनीसँग गरेकाले बरु पुरानै प्रणालीलाई टालटुल गरेर चलाउने तर, नयाँ बिलिङ प्रणाली खरिद नगर्ने सोच देखिन्छ।  

अहिलेको बिलिङ प्रणाली अत्यधिक पुरानो भएकाले लिकेज पनि धेरै भइरहेको टेलिकमनिकट स्रोत बताउँछ। बिलिङ प्रणाली पुरानो हुँदा टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आएको छ।  

करिब ४ वर्षअघि नै अहिले भइरहेको पुरानो बिलिङ प्रणाली फेर्न नयाँ टेन्डर आह्‍वान गर्नुपर्ने भए पनि टेलिकम व्यवस्थापन पुरानै बिलिङ प्रयोगमा मक्ख छ।

‘टेलिकममा माफिया व्याप्त छ। टेलिकमका मान्छेहरुले बिलिङमा बार्गेनिङ गरे। अहिले भइरहेकै काम नलाग्ने बिलिङ प्रणालीमै पैसा खन्याउने गरिरहेका छन्। नयाँ बिलिङ नल्याउने बरु त्यो पैसा पुरानैमा प्रयोग गर्ने गरिरहेका छन्। यसले जुनसुकै बेला फेरि टेलिकमको सेवा गम्भीर समस्यामा पर्न सक्छ,’ स्रोतले बिजमाण्डूसँग भन्यो।

स्रोतका अनुसार नयाँ बिलिङ प्रणाली जडान गर्ने भए ठेक्का सम्झौता भएपछि त्यो कम्पनीले ६ महिना भित्रै सबै डेटा नयाँ प्रणालीमा माइग्रेसन गर्न सक्ने क्षमता राख्छन्। कुनै बेला डेटा माइग्रेसन गर्नै वर्षौं लाग्थ्यो।

वार्षिक अर्बौं रुपैयाँ गुमाइरहेको छ टेलिकम

अहिले टेलिकमले प्रयोग गरिरहेको बिलिङमा करिब १० प्रतिशतसम्म लिकेज भइरहेको स्रोत बताउँछ।

‘टेलिकमको सेवा प्रयोग गर्दा प्रयोगकर्ताको पैसा कतिबेला काटिन्छ त कतिबेला काटिँदैन। अहिले टेलिकमको ३५ अर्बको आम्दानी छ भने त्यसको १० प्रतिशत लिकेज भइरहँदा वार्षिक साढे ३ अर्ब रुपैयाँ कम्पनीलाई घाटा लागिरहेको छ। तपाईंले कसैलाई कल गर्नु भयो पैसा काटियो भनेर नोटिफिकेसन आउँछ तर काटिएकै हुँदैन। यो पुरानै बिलिङ प्रणालीको खराबी हो। यो फेर्नुपर्छ,’ बिलिङ प्रणालीबारे जानकार स्रोतले भन्यो।

उपभोक्ताहरुले हरेक मिनेटको हिसाब गर्नै सक्दैनन्। त्यसलाई चुस्त बिलिङ प्रणालीले नै गर्नुपर्छ।

टेलिकमले १० प्रतिशत लिकेजमध्ये केही प्रतिशत लिकेजको पैसा खर्चिए नयाँ प्रणाली ल्याउन सक्ने स्रोतको भनाइ छ। नयाँ प्रविधि ल्याउँदा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिकेज डेढदेखि २ प्रतिशतमा झार्न सकिने बताइएको छ। नयाँ बिलिङ प्रणाली किन्न टेलिकमले ३ देखि ५ अर्ब रुपैयाँ पर्ने स्रोत बताउँछ।

कसरी संचालन हुन्छ बिलिङ प्रणाली?

तपाईंहरुले कसैलाई फोन गर्नुहुन्छ। तपाईं कुनै व्यक्तिलाई गरेको फोन तपाईं रहेको स्थान नजिकैको टावरमार्फत टेलिकमको स्वीचमा पुग्छ। स्वीचले तपाईंको फोन कललाई टेलिकमको बिलिङमा पठाउँछ। स्वीचले बिलिङ कोड पठाउँछ। बिलिङले थ्रु गरेर फोन गर्न खोजेको व्यक्ति नजिक रहेको टावरमा पुर्‍याउँछ र त्यो टावरले फोन गर्न खोजेको व्यक्तिको डिभाइसमा फोन कल पुग्ने टेलिकमका एक प्राविधिकले जानकारी दिए।

‘यो साइकलमा बिलिङ प्रणाली मिडियम बनेर बसिरहेको हुन्छ। तपाईंले कसैसँग फोनमा कुरा गर्दा, एसएमएस पठाउँदा वा डेटा चलाउँदा रियल टाइममा शुल्क काट्नुपर्छ। स्वीचमा समस्या आयो भने पनि सेवा अवरुद्ध हुन्छ, बिलिङ प्रणालीमा समस्या आएपनि सेवा अवरुद्ध हुन्छ। किनकि बिलिङले कुनै पनि क्रियाकलाप थ्रु गर्दैन,’ ती प्राविधिकले भने।

बिलिङ प्रणाली ज्यादै पुरानो भएकाले त्यसमा प्रयोग भएको मोड्युल पनि काम नलाग्ने अवस्थामा पुगेका छन्। टेलिकमको अहिले भइरहेको ग्राहक बेसलाई दशक पुरानो बिलिङ सिस्टमले धान्नै नसक्ने टेलिकमका एक पूर्व प्रबन्ध निर्देशकले बिजमाण्डूसँग भने।

नियामक नेपाल दूरसंचार प्राधिकरणका अनुसार गत असोजसम्म टेलिकमको पीएसटीएन ग्राहक संख्या ४ लाख ६८ हजार १२ पुगेको छ। एफटीटीएच भ्वाइस ग्राहक संख्या २ लाख ३६ हजार ९७ पुगेको छ। जीएसएम ग्राहक संख्या असोजसम्म २ करोड ४ लाख २७ हजार २७१ पुगिसकेको छ। 

यस्तै, नेपाल टेलिकमको केबल इन्टरनेट ग्राहक संख्या असोजसम्म ८५ हजार ३३६ र फाइबर इन्टरनेट २ लाख ५ हजार ८९ पुगेको प्राधिकरणको तथ्यांकले देखाउँछ।

‘पुरानो बिलिङ प्रणालीमा रहेका पुराना बिलिङ मोड्युलहरुले नयाँ चिजहरुलाई क्याटर गर्नै सक्दैन। जस्तो एउटा गाडी छ, त्यसलाई सवारीधनीले नियमित सर्भिसिङ गरेर चलायो भने राम्रोसँग लामो समय कुद्छ। सर्भिसिङ लगायत अन्य मर्मत केही नगर्ने हो भने जहाँ गएर जतिखेर पनि गाडी बिग्रिन सक्छ। ठ्याक्कै यही अवस्थामा हाम्रो बिलिङ प्रणाली छ। अब पुरानो बिलिङ प्रणालीले कामै गर्दैन। समयसापेक्ष मर्मत आवश्यक भइसकेको छ,’ ती पूर्व प्रबन्ध निर्देशकले भने।

यता टेलिकमकम प्रवक्ता शोभन अधिकारीले भने प्राविधिक समस्याका कारण सेवा रोकिएको बताएका छन्।

‘केहीबेर प्राविधिक समस्या भएको थियो। त्यसो समस्या देखिएपछि कलको संख्या अत्यधिक बढ्यो। कल लागेको थिएन, झन् कल नलागेपछि ह्‍वारह्‍वार कल संख्या बढ्यो। यसले सेवा अवरुद्ध भएको हो,’ अधिकारीले भने।