BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीको दबाबपछि वाणिज्यले उद्योगलाई गहुँको कोटा बाँड्यो, ३८ उद्योगले पाए ४३ हजार टन


प्रधानमन्त्रीको दबाबपछि वाणिज्यले उद्योगलाई गहुँको कोटा बाँड्यो, ३८ उद्योगले पाए ४३ हजार टन
प्रधानमन्त्रीको दबाबपछि वाणिज्यले उद्योगलाई गहुँको कोटा बाँड्यो, ३८ उद्योगले पाए ४३ हजार टन

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीव्र दबाब र निर्देशनपछि वाणिज्य मन्त्रालयले नेपालका उद्योगलाई गहुँको कोटा वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

यसअघि वाणिज्य मन्त्रीको नियुक्ति नभई भारतले दिएको ५० हजार टन गहुँको कोटा नेपालका उद्योगलाई वितरण गर्न नसकिने भन्दै आएको वाणिज्य मन्त्रालयले नेपालका ३८ वटा उद्योगलाई कोटा वितरण गरेको हो।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव डा. नारायणप्रसाद रेग्मीले मन्त्रीको नियुक्ति भएपछि मात्र भारतले दिने गहुँको कोटा उद्योगलाई वितरण गरिने बताउँदै आएका थिए।       

यसैबीच नेपाल फ्लोर मिल एसोसिएसनका अध्यक्ष कुमुद दुगड र मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले नवगठित सरकारका मन्त्रीहरूलाई पटकपटक भेटी नेपालका उद्योगलाई भारतले दिएको गहुँको कोटा वितरण गर्न आग्रह गरेका थिए।

उक्त विषय प्रधानमन्त्री दाहालसम्म पुगेपछि उनले वाणिज्यलाई उद्योगका लागि तुरुन्त गहुँको कोटा वितरण गर्न निर्देशन दिएका थिए।

एसोसिएसनका अध्यक्ष दुगडका अनुसार भारतले दिएको ५० हजारमध्ये वाणिज्यले नेपालका उद्योगलाई ४३ हजार टन गहुँको कोटा छुट्याएको छ।

वणिज्यले मंगलबार नै परराष्ट्रलाई पत्र लेख्ने र परराष्ट्रले तत्काल भारतीय राजदूतावासमा पठाउने आश्वासन उद्योगीले पाएको अध्यक्ष दुगडले बताए।

पत्रमा कुन उद्योगले कति टन गहुँ भारतको कुन निकासीकर्तासँग खरिद गर्ने र कुन नाकाबाट नेपाल भित्र्याउने भन्ने उल्लेख छ। अध्यक्ष कुमुदले सरकारले भैपरी आउनसक्ने भनेर ७ हजार टन गहुँको कोटा जगेडामा राखेको जानकारी दिए।

उनले भारतबाट कोटाको गहुँ आएपछि नेपालका पिठो तथा मैदा उद्योग १५ दिनमात्र सुचारु हुनसक्ने बताए।

फ्लोर मिल एसोसिएसनका सचिव एवम् विशाल मैदा मिलका सञ्चालक विकास बेगबानीले यतिबेला कच्चा पदार्थ गहुँका अभावमा नेपालका ३८ मध्ये २५ मैदा मिल बन्द भएको जानकारी दिए।

सचिव बेगबानीका अनुसार नयाँ गहुँ चैतको तेस्रो सातामा मात्र आइपुग्छ। त्यतिबेलासम्मका लागि नेपालका मैदा र पिठो उद्योगलाई अझै २ लाख टन गहुँको आवश्यकता छ।

‘अहिलेका लागि अपुग २ लाख टन मात्र होइन, नयाँ गहुँको सिजनपछि एक वर्षका लागि चाहिने ७ लाख टन गहुँको आयात गर्न पनि नेपाल सरकारले भारत सरकारलाई अनुरोध गर्नुपर्छ,’ बेगबानी भन्छन्- ‘नभए नेपालका मैदा उद्योग स्वदेशमा उत्पादित गहुँले बढीमा ४ महिना साउनसम्म मात्र चल्नेछन्।’

मन्त्रालयका प्रवक्ता डा. रेग्मीले भारतले दिने भनेको ५० हजार टन गहुँबाट नेपालका उद्योगलाई कोटा वितरण गरेर परराष्ट्रमा पठाइएको पुष्टि गरे।

बिजमाण्डूलाई प्रवक्ता रेग्मीले भने, ‘पत्र आजै मंगलबार गइसकेको छ। त्यहाँबाट भारतीय राजदूतावासमा फरवार्ड हुन्छ।’