BIZMANDU
www.bizmandu.com

पर्यटनमन्त्रीमा माओवादीका सुदन किराती नियुक्त, उड्डयन सुरक्षा सुदृढीकरणदेखि उडानमा कार्टेलिङविरुद्ध कारवाही अघि बढाउने  

२०७९ माघ ३

पर्यटनमन्त्रीमा माओवादीका सुदन किराती नियुक्त, उड्डयन सुरक्षा सुदृढीकरणदेखि उडानमा कार्टेलिङविरुद्ध कारवाही अघि बढाउने  
पर्यटनमन्त्रीमा माओवादीका सुदन किराती नियुक्त, उड्डयन सुरक्षा सुदृढीकरणदेखि उडानमा कार्टेलिङविरुद्ध कारवाही अघि बढाउने  

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा माओवादी नेता सुदन किराती नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

एमालेको समर्थनमा सरकार बनाएपछि धेरै दिनको छलफलपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। किराती भोजपुरबाट निर्वाचित हुन्।

विभागीय मन्त्री आएलगत्तै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानमा देखिएको कार्टेलिङ कारवाही अगाडि बढाउने र उड्डयन सुरक्षा सुदृढीकरणलाई जोड दिने योजना रहेको सचिव सुरेश अधिकारीले बताएका छन्।

‘नयाँ मन्त्री आउनुभएसँगै हामी सुरुमा सल्लाह गर्छौँ। भर्खरै ठूलो हवाई दुर्घटना भएको छ। दुर्घटना जाँच आयोग गठन भएको छ। वायुसेवा कम्पनीको प्राविधिक पक्षको सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राखेका छौं,’ सचिव अधिकारीले भने,’केही समयअघि आन्तरिक उडानमा देखिएको कार्टेलिङको विषयमा ब्रिफीङ गर्नेछौं। त्यही अनुसार कारवाही अगाडि बढाउनेछौं।’

मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र विकास अन्तर्गतको योजना अगाडि बढाउने उनले बताए। सरकारले अघि बढाउने भन्ने गरे पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी तयार छैन।

राष्ट्रलाई ठूलो ऋणभार बोकाएर भैरहवा र पोखरामा निर्माण गरिएका विमानस्थलले नै पर्याप्त बिजनेस पाएका छैनन्। भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु भएर पनि बन्द भएको छ, पोखरामा सुरु नै भइसकेको छैन। लगानीका अनुपातमा बिजनेस नपाउने परियोजनालाई सरकारले सस्तो लोकप्रियताका लागि छनोट गर्दै आएको छ।

हवाई सेवा पूर्वाधारका ठूला परियोजनामा हतार हतार लगानीको निर्णय गर्नुअघि सरकार समीक्षा गर्ने अवस्थामा छ। यो सँगै संस्कृति, पर्यटन क्षेत्र प्रवर्द्धन लक्षित योजना अगाडि बढाइने सचिव अधिकारीले बताए।    

नवनियुक्त पर्यटन मन्त्री किरातीले पदको सपथ ग्रहण गर्दैछन्।  हालै भएको प्रतिनिधिसभा सदस्यको चुनावमा भोजपुरबाट उनी ३४ हजार ३९४ मत ल्याएर विजयी भएका हुन्।